कुश धानको बिरुवाजस्तै घाँस परिवारअन्तर्गत पर्छ । संस्कृतमा कुशा भनिने यसलाई अंग्रेजीमा ‘स्याक्रिफिसियल ग्रास’ भनिन्छ । कुशको वैज्ञानिक नाम ‘डेस्मोस्टाचिया बाइपिनाटा’ हो । यो एसिया र अफ्रिकामा फैलिएको पाइन्छ । ‘डेस्मोस्टाचिया बाइपिनाटा’ र ‘डेस्मोस्टाचिया पिंगालेई’ गरी दुई प्रजातिमा विभाजित कुशको पश्चिम भारतमा चार उपप्रजाति रहेका छन् ।
कुश मानिसका लागि प्रयोगयोग्य वनस्पति हो । नेपालमा कुश भगवान् विष्णुको प्रतीकका रूपमा, भगवान् बुद्वले तपस्याका लागि पाएको प्रथम दान, पितृकार्य या सत्यको सपथ एवम् औषधि गुणका कारण उपयोगी मानिन्छ । हिन्दु धर्मावलम्बीलाई कुश जन्मदेखि मृत्यु संस्कारसम्म आवश्यक हुन्छ । कुशलाई केतु ग्रहको प्रतीकसमेत मानिन्छ । ग्रहण लाग्दा विकीरणबाट खाद्यपदार्थ जोगाउन कुशले छोप्ने चलन छ । धार्मिक कामका लागि कुशको पात बेरेर बनाइएको औंठी पवित्र प्रतीकका रूपमा प्रयोग हुन्छ । हिन्दु धर्मभीरूको निधन हुँदा कुशको शय्या प्रयोग गरिन्छ । महन्त वा उपनयन आदि संस्कारमा कम्मर वा काँधमा बाँधी निशाचरबाट जोगाउने चलन छँदै छ ।
अथर्ववेदका साथै रामायण र महाभारतमा उल्लिखित विविध घटनामा आदिकालदेखि कुश प्रयोगमा आएको पाइन्छ । स्वर्ग र मत्र्यलोकबीच संवाहक रूपमा कुश प्रयोग गरिनुले यसको महत्व प्रस्ट छ । धार्मिक कामका लागि कुशको औंठीमा दुई पात, उपनयन संस्कारमा तीन पात र मृत्यु संरकारमा एक पात प्र्रयोग गरिन्छ ।
सालिन्दा मन्त्रोचारण (विरिञ्चेन सहोत्पत्रपरमेष्ठिसर्गज । नुद सर्वाणि पापनि दर्भ स्वस्तिकरो भव ।।) सहित विधिपूर्वक प्रतिपदामा संकलित नयाँ कुश कुशेऔंसीमा हिन्दु धर्मावलम्बीले घर–घर भित्र्याउने गर्छन् । अथर्ववेदमा कुश उर्वरता, पुनःजीवन, नवीकरण र समृद्धिको प्रतीकका रूपमा उल्लिखित छ ।
तीक्ष्ण बुद्धि भएकालाई दिइने कुशाग्र बुद्धिको संज्ञाले कुशको धारिलो पातलाई जनाउँछ । यसको जराको विस्तृत सञ्जाल हुन्छ । यसले पाँच फिट गहिराइसम्म पानी सोस्न सक्छ । यसको फूल र बीज गठिलो बालामा हुन्छ । तर बीजबाट नभई, जरा माटोमा फिँजिएको हुन्छ । कुश सिमसारका साथै कम पानी, बढी लवण रहेको तथा अर्धसुख्खा क्षेत्रमा पाइने र गहिराइसम्म फैलन्छ । यसको जरामा औषधिजन्य यौगिकको सम्भावना देखिन्छ । कुशको रस गुलियो र केही मात्रामा तीतो पनि हुन्छ ।
त्रिपञ्चमूलमा निहित पाँचप्रकारका जरामा कुश, सिरु, काँस, मुन्ज, उखुमध्यको एक तत्वका रूपमा प्रयोग भएको पाइन्छ । कुशको जरा आयुर्वेदिक औषधि करपुरद्यर्का, सुकुमार घृत, असमारिहर, काष्य चुर्ण, त्रिपञ्चमूल क्वाथ चुर्ण, मुत्रविर्यकणीय काष्य चुर्ण, स्तन्यजनना काष्य चूर्ण बनाउन प्रयोग हुन्छ । यसको रस वा सारतत्वले पित्त, दम, मूत्ररक्च, पत्थरी, तृष्णा, कमलपित्त (जन्डिस), चर्म, श्वेत प्रदर, महिनावारीमा अधिक रक्तश्राव, रक्तपित्त, झाडापखाला, यौन दुर्बलता, पाठेघरसम्बन्धी उपचारमा प्रयोग गर्न सकिन्छ । कुशको प्रयोग नेपाली निघण्टु, आयुर्वेदिक फरमाकोपिया अफ इन्डिया, प्लान्ट एन्ड पिपुल्स अफ नेपाल पुस्तकमा उल्लेख छ ।
पाकिस्तानी वैज्ञानिकले गरेकोे एक अध्ययनमा कुशले क्याल्सियम अणुको रोक्ने क्षमता, पाचन र दमरोगका लागि प्रभावकारी मानिन्छ । भारतीय वैज्ञानिकहरूकोे अध्ययनमा झाडापखाला, पत्थरी र इजिप्टमा भएको अध्ययनमा अल्सररोगीलाई कुशको उपयोग गर्दा फलदायी हुने देखाइएको छ । हरेक जीवमा पाइने कार्बोहाइड्रेट, प्रोटिन, एमिनो एसिड, लिपिडजस्ता यौगिक प्रमुख प्रक्रिया वा प्राइमरी मेटाबोलाइट हुन् । ती ग्लाइकोलाइसिस, क्रेब र केल्भिन साइकलका उत्पादन हुन् । तर, बिरुवाले वातावरण, परजीवी र अन्य जीवको आक्रमणबाट बच्न र पराग संश्लेषणका लागि अतिरिक्त प्रक्रियाका यौगिक वा सेकेन्डरी मेटाबोलाइटसमेत उत्पादन गर्छ । प्रत्येक वर्ग तथा परिवारअन्तर्गत पर्ने वनस्पतिमा केही समान यौगिक हुन्छन् भने र केही परिवर्तित । यौगिकमा हुने स–साना परिवर्तनले त्यसको रोगव्याधिका कारक जस्तै कुनै इन्जाइम वा कोषमा बन्ने अरू रसायनलाई निस्तेज गर्ने वा निष्क्रिय गर्ने क्षमता राख्छ ।
कुशमा भएका यौगिकमा क्लोरोफिल, स्टेरोल, फ्लेभोनोवाइड र कुशबाट वर्णित नयाँ ज्यानथिन उल्लेखनीय छ । वीरगन्जमा संकलित कुश दक्षिण कोरियाको क्योङ्ही विश्वविद्यालयमा गरिएको अध्ययनमा डाइबेन्जो पाइरोन हेटेरो साइक्लिक वर्गको यौगिक २, ६–डाइहाइद्रोअक्सी–३ एच–ज्यानथिन–३–ओन पत्ता लागेको हो । कुशको उपयोगिताका कारक यौगिकमध्ये एक हुन सक्छ । अध्ययनमा कुशबाट सारतत्व निकाल्न ८० प्रतिशत मेथानोल प्रयोग गरिएको थियो । कतिपय प्राकृतिक उत्पादनका यौगिक पानीमा घुल्न नसक्ने धरणीकरण यौगिक हुने गर्छ । नयाँ ज्यानथिन यौगिकको ह्युमेन कोलोन क्यान्सर कोष (एचसीटी–११६) मा एसटीएटी–३ मा आधारित लियुसिफरेज प्रविधिमार्फत गरिएको प्रयोगमा ५ माइक्रो मोल सघनतामा ५० प्रतिशतको दबाब असर देखिएको छ । क्लोरेस्ट्रोल बन्ने प्रक्रियामा मुख्य भूमिका रहेको एलडीएल–अक्सिडेसनको २७.२ माइक्रो मोल सघनतामा ५० प्रतिशत दबाब असर देखिएबाट कुशको अरू उपयोगिताको वैज्ञानिक आधार देखिन्छ ।
आयुर्वेदिक प्रयोगमा एकभन्दा बढी वनस्पति मिश्रणको प्रयोग हुनेहुँदा यौगिकको समष्टिगत प्रभाव हुन सक्छ । यसले बौद्धिक क्षमता बढाउनुका साथै क्यान्सर उपचारमा केमोथेरापी गराइरहेका बिरामीमा रोग प्रतिरोधात्मक क्षमताका लागि प्रयोग हुने ब्रह्म रसायनमा ३५ मध्येको एक तत्वका रूपमा ०.४ प्रतिशत प्रयोग भएको पाइन्छ । तसर्थ, सूक्ष्म रूपमा रहेका यौगिकको खोज, विविध जीवकोष र तन्तु तथा रोगमा यौगिकको प्रभावबारे बढी अध्ययन जरुरी देखिन्छ ।
नयाँ यौगिकका आधारमा अझ बढी प्रभावकारी तथा परिवर्तित कृत्रिम नयाँ यौगिकका साथै व्यावसायिक उत्पादन गर्न सकिन्छ । विभिन्न वातावरणमा हुर्केको बिरुवाका केही फरक–फरक यौगिक हुन सक्ने भएकाले त्यसको खोज र बन्ने प्रक्रिया अध्ययन हुन नितान्त आवश्यक देखिन्छ । वैदिक रूपमा अत्यन्त पवित्र र उच्च मूल्यांकन रहेको कुशको सार्थक विविध प्रयोगका लागि गहन अध्ययन आवश्यक छ ।