उम्दा उपसचिवको उन्नति



‘निजामती कर्मचारीले नीति निर्मातालाई विनासर्त सहयोग गर्नुपर्छ,’ काठमाडौंको चाबहिलमा भेटिएकी सोलुदूधकुण्ड नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत कोपिला राईले दाबी गरिन्, ‘निजामती कर्मचारीले नीति निर्मातालाई उपयुक्त सल्लाह पनि दिनुपर्छ । निर्मित नीति इमानदारीपूर्वक कार्यान्वयन गर्न सकियो भने मुलुक बन्न समय लाग्दैन ।’ उपसचिवसमेत रहेकी राईले थपिन्, ‘निर्मित नीति पूर्ण रूपमा कार्यान्वयन गर्ने हो भने मुलुकले काँचुली फेरिहाल्छ ।’

दालमा सुँगुरको खुट्टा पकाउँदा स्वादिष्ट

एकताका मकैको भात र फर्सीको तरकारी खान नपरे हुन्थ्यो भन्थें । हिजोआज सबै खानेकुरा उत्तिकै स्वादिलो लाग्छ । त्यसमध्ये ढिँडो, सिस्नु र किनामाचाहिँ असाध्यै मन पर्छ । खानकै लागि होटल तथा रेष्टुरेन्ट धाउँदिनँ । भेटघाट तथा जमघटमा होटल तथा रेष्टुरेन्ट पुगिहालेमा फ्रेस जुस र ग्रीन सलाद माग्न छुटाउँदिनँ । भान्छाबाटै महिलाका दिनचर्या सुरु हुन्छ । तसर्थ, खाना बनाउने विशेष रुचि छ । कार्यव्यस्तताले पछिल्लो समय भान्छामा कमै पसेकी छु । मैले तयार पारेको परिकारमध्ये दालमा सुँगुरको खुट्टा मिसाएर पकाउँदा असाध्यै मीठो हुन्छ भन्छन् । मलाई पनि त्यस्तै लागछ । म अचार, सिस्नु पनि त्यत्तिकै मीठो बनाउँछु । पकाउँछु ।

सिलाउन परे श्रेष्ठ टेलरिङ

विशेषतः कोट–पाइन्ट लगाउँछु । कुर्तासुरुवाल र सारी पनि लगाउने गरेकी छु । पोसाकमा यति नै खर्च हुन्छ भनेर हिसाबकिताब राखेकी छैन । ‘ग्रीन कलर’का कपडा रोजाइमा पर्छन् । अधिकांश कपडा ‘रेडिमेड’ हुन्छन् । सिलाउन परे काठमाडौंको बागबजारमा रहेको श्रेष्ठ टेलरिङ पुग्छु ।

सोलुखुम्ब आएपछि छुट्यो

स्वास्थ्यप्रति सचेत रहनु अपरिहार्य मानिन्छ । खोटाङमा रहँदा केही न केही शारीरिक अभ्यास गर्थें । सोलुखुम्ब आएपछि छुटेको छ । योगा गर्ने भनेर योजना बनाए पनि थालिहालेको छैन । पहिले–पहिले खान नखाई सुत्दिनथें । हिजोआज बेलुका खाना खान्न ।

किताब लेख्ने योजना

कार्यक्षेत्रसँग सम्बन्धित ऐन, नियम र कानुन अध्ययनमा केन्द्रित छु । पढ्न नभ्याए पनि किताब संकलन गर्न कन्जुस्याइँ गरेकी छैन । भर्खरै ‘द विनर स्प्ट्यान्ड्स एलोन’ शीर्षाकृत किताब किनेकी छु । एकताका साहित्यिक किताब अत्यधिक पढ्थें । त्यसमध्ये पनि बुझी–नबुझी उपन्यास त कति पढें कति । सबै विधाका लेखकप्रति उत्तिकै सम्मान छ ।

गजल र मुक्तक बाक्लै लेख्थें । लेखाइ पातलिएको छ । जीवन भोगाइ लेख्ने योजनाबद्ध योजना बनाएकी छु । जागिरका सन्दर्भमा विभिन्न ठाउँ पुग्दाको सुख–दुःख लेख्न मन छ । मसँग चार र्याक किताब होलान् । अनलाइनमा पढ्न पाइने किताब किन्न छाडेकी छु ।

घलेगाउँ पुग्ने रहर

घुमफिरमा रुचि छ । तर, योजनाबद्ध रूपमा घुम्नकै लागि निस्केकी छैन । अहिलेसम्म ३५ जिल्ला टेकेकी छु । थाइल्यान्ड दुईपटक पुगें । पुगेकामध्ये इलाम, पोखरा र स्याङ्जा असाध्यै मन पर्यो । मुस्ताङ, पाल्पा, घलेगाउँ र घान्द्रुक पुग्ने रहर छ ।

फुर्सदमा योजना निर्माण

फुर्सद निकाल्न गाह्रो भइरहेको छ । म सोलुदूधकुण्ड नगरपालिका सोलुखुम्बुको प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा छु । बिहान १० देखि बेलुका सात बजेसम्म कार्यालयमै बिताउँछु । फुर्सद भइहालेमा कार्यालयीय र व्यक्तिगत कामको योजना बनाउँछु । समीक्षा गर्छु ।

जिम्मेवारी बढ्दै गएकाले घरपरिवारलाई समय दिन सकिरहेकी छैन । तर पनि समय व्यवस्थापन गर्ने प्रयासमा छु । घरपरिवारसहित घुम्न, चलचित्र हेर्न र होटल तथा रेष्टुरेन्टमा खान जाने मौका मिलेकै छैन । रहर नभएर होइन, समय नमिलेर ।

नखेले पनि फुटबल हेर्ने मन

विद्यालय तहमा अध्ययन गर्दा भलिबल र ब्याडमिन्टन खेल्थें । विद्यालयमा पढाउँदा पनि भलिबल खेलें । क्यारिमबोर्ड खेलेको हिजैजस्तो लाग्छ । हिजोआजचाहिँ ब्याडमिन्टनमात्रै खेल्छु । कहिल्यै नखेले पनि फुटबल हेर्न मन लाग्छ ।

लकडाउनमा मोबाइलमै लुँडो

‘रेडमी नाइन प्रो’ नामक मोबाइल प्रयोग गर्दै आएकी छु । संवत् २०७६ मा ३२ हजार रुपैयाँमा मोबाइल किनेकी थिएँ । भिभोचाहिँ म काम गर्ने कार्यालयले दिएको हो । सुरु–सुरुमा सामान्यखालका मोबाइल सेट प्रयोग गरें । फेरी–फेरी मोबाइल सेट बोक्ने बानी छैन । मोबाइलको एप्लिकेसनमध्ये फेसबुक, यु्ट्युबलगायत प्रयोग गर्छु । लकडाउनमा मोबाइलमै लुँडो खेल्नसम्म खेलेकी थिएँ ।

समाचार/अन्तर्वार्ता प्राथमिकतामा

टेलिभिजन कमै हेर्छु । हेरिहाल्दा समाचार, अन्तर्वार्ता र समसामयिक विषयमा आधारित कार्यक्रम प्राथमिकतामा पर्छन् । डिस्कभरी पनि यदाकदा हेर्छु । घरमा एलजीको टीभी सेट छ ।

मौलिक संस्कृति समेटिएको चलचित्र हेर्ने हुटहुटी

पहिलोपटक काठमाडौंमा चलचित्र हेरेकी थिएँ । यो संवत् ०५८ तिरको कुरा हो । कलेज पढ्दा पनि चलचित्र हेरें । त्यतिबेला मनोरञ्जनका साधनमध्ये फिल्म पनि एक मानिन्थ्यो । हिजोआज पनि फिल्म हेर्छु । मौलिक संस्कृति समेटिएको चलचित्र हेर्न मन लाग्छ । दयाहाङ राईले खेलेका चलचित्र छुटाउन मन लाग्दैन । सबै कलाकारप्रति उत्तिकै सम्मान छ ।

आजसम्म बिरामी नपरेको

अहिलेसम्म स्वस्थ छु । दीर्घरोगले समातेको छैन । बिरामी परेर एक दिन सुतेकी छैन । अस्पताल पनि पुगेको होइन । टाउको र घाँटी दुख्दा सामान्य औषधि सेवन गर्छु । सालिन्दा एकपटक ‘होलबडी चेकअप’ गर्छु । खानपान, जीवनशैली, सोचाइ र आत्मविश्वासले गर्दा अहिलेसम्म ‘फिट एन्ड फाइन छु ।

विषय सम्बोधन गर्ने भाषण

भाषण गर्नुअघि तयारी गर्छु । कहिलेप्रमुख प्रशासकीय अधिकृतको भूमिकामा रहेकाले बेलाबेलामा भाषण गर्नैपर्छ । आफूले आफ्नौ भाषणशैली मूल्यांकन गर्दा म अलि छिटो बोल्छुजस्तो लाग्छ । भाषण विषयवस्तुलाई सम्बोधन गर्ने खालको हुन्छ । भाषण गर्नुअघि तयारी गर्छु । कहिलेकाहीं विनातयारी पनि बोल्नुपर्ने बाध्यता हुन्छ ।

मापसेको स्वादबारे जानकार

राई समुदायकी छोरी भएकाले मादक पदार्थ चाखेकी छु । स्वाद थाहा छ ।

गीत–संगीतमा अद्भुत ऊर्जा

गीत–संगीत असाध्यै सुन्थें । हिजोआज पनि समय अनुकूल हुँदा गीत–संगीत सुन्छु । नारायण गोपाल, राजेशपायल राई, रामकृण ढकाल र मेलिना राईलाई सुन्छु । गायिका मीरा राणा र तारा थापा सुनेर हुर्कें । कहिलेकाहीं गुनगुनाउँछु पनि । गीत–संगीतमा ऊर्जा हुन्छ । म पनि गीत लेख्थें ।

मन नपरेको कविता वाचन गरेको त्यो क्षण

जान–अञ्जानमा गल्ती गर्नु अस्वाभाविक होइन । अञ्जानमै भए पनि सजाय पाउनेगरी गल्ती गरेको सम्झना छैन ।

म ६ कक्षामा पढ्थें । नेपाली शिक्षकले कथा, कविता, निबन्ध जे पढाए पनि लेख्न लगाउँथे । कविता पढाएको दिन कविता लेख्न लगाए । मैले कविता लेखें । कविता वाचन गर्ने दिन आफूले लेखेको कविता आफैंलाई मन परेन । लेखेको कविता डल्लो पारेर बेन्चमुनि फालिसकेकी थिएँ । शिक्षकले कोपिलाबाटै कविता वाचन सुरु गरौं भने । मसँगै बस्ने साथीले फालिएको कविता हतार–हतार खोजिदिइन् । आफूलाई मन नपरेको कविता वाचन गरेको क्षण बिर्सेको छैन । गल्ती गरेको थाहा पाएँ भने आत्मालोचना गरिहाल्छु ।

घर ठडिँदा ५० लाख खर्च

खोटाङ सदरमुकामा दिक्तेलमा रहेको मेरो घर ०७४ मा बनेको हो । घरको डिजाइन सामान्य छ । घर बनाउँदा पुख्र्यौली सम्पत्तिसँगै श्रीमान् र मेरो पनि कमाइ परेको छ । घर बनाउनअघि वास्तुशास्त्र हेराएकी थिएँ । पूर्वयोजनाविना बर्खाको समयमा घर बनाएकाले खर्च बढ्यो । घर ठडिँदा ५० लाख रुपैयाँ सकिएको थियो ।

ज्योतिषशास्त्रप्रति विश्वास

मेरो राशी कन्या हो । समय–समयमा ग्रहदशा हेराउँछु । मनले भन्यो भने ग्रहशान्ति पनि गराउँछु । ग्रह र नक्षत्रको फलप्रति विश्वास छ । यो भनेको ज्योतिषशास्त्र हो । त्यो भनेको गणित हो । २ मा २ जोड्दा चार हुन्छ । आज चन्द्र अथवा सूर्यग्रहण लाग्छ भनेको दिन ग्रहण लागेरै छाड्छ । हामी जन्मेका बेला नौ ग्रहको प्रभाव पर्छ । जन्मेको स्थान, समय, अक्षांश र देशान्तर मिल्यो भने हिसाब ठ्याक्कै निस्कन्छ ।

साथीमार्फत श्रीमान्सँग चिनजान

साथीमार्फत श्रीमान्सँग चिनजान भयो । त्यसपछि रीतरिवाजअनुसार बिहे गर्यौं ।

नीति निर्मातालाई निजामती कर्मचारीको सहयोग

निजामती कर्मचारीले नीति निर्माता विनासर्त सहयोग गर्नुपर्छ । उपयुक्त सल्लाह दिनुपर्छ । निर्मित नीति इमानदारीपूर्वक कार्यान्वयन गर्न सकियो भने मुलुक बन्न समय लाग्दैन । भनिन्छ– नीति बनाउन नेपाल एसियामै पहिलो मुलुक हो । निर्मित असल नीति पूर्ण रूपमा कार्यान्वयन गर्ने हो भने मुलुकले काँचुली फेरिहाल्छ ।

सोच्नै मन नलाग्ने

मृत्यु शाश्वत सत्य हो । सुरुपछि अन्त्य हुनु प्राकृतिक नियम हो । मृत्युदेखि डर लाग्नु स्वाभाविकै हो । मृत्युबारे सोचेकै छैन । मृत्युबारे सोच्नै मन लाग्दैन । मृत्युदेखि डर लाग्ने भएकाले हो कि ?

प्रतिक्रिया दिनुहोस्