खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ५ दुर्छिम । अर्थात् साबिक दुर्छिम गाउँ विकास समितिमा छालाकुखोला नामक सांस्कृतिक थलो छ । चाम्लिङ राई भाषामा माइतीलाई ‘छालापा’ भनिन्छ । किराती पुर्खा तोयामा, खियामाका माइती रैछाकुले छालापाबाट छालाकु नामकरण भएको हो भन्ने भनाइ छ । यसबारे पछि कुरा गरौंला । अहिलेचाहिँ दिवंगत मेरा आपा परनसेर राई र बाबै पञ्चसेर राई ‘दीपेन्द्रेम्पा’ बारे छोटो सम्झना लेखिरहेको छु, जसको सम्बन्ध दाप्सामा, तेर्सालुङ र छालाकुखोलासँग छ ।
तेर्सालुङमा हाम्रो बेंसी थियो । मेरो धेरैजसो समय छालाकुखोलाछेउको तेर्सालुङमा बित्यो । बोहेम्मा (भन्ज्याङ) मा हाम्रो थोरै बारी थियो । गाउँभन्दा धेरै बारी छालाकु बेंसीमा थियो । त्यसैले हामी धेरै समय बेंसीमै बस्थ्यौं । त्यतिबेला जंगलै जंगलको छालाकु थियो । हिजोआज हाम्रो बारी पनि जंगल भएको छ ।
दाइ र दिदीहरूले स्कुल जाने मौका पाएनन् । म घरको कान्छो छोरो । घरको एकजना भए पनि अक्षर जान्ने हुनुपर्छ भनेर सबैले मलाई पढाउने मन गरेछन् । म स्कुल जान पाउने भएँ ।
छालाकुबाट नजिकको स्कुल चुमाखु प्राथमिक विद्यालय थियो । नजिकको स्कुल छाडेर टाढा जाने कुरा भएन । मैले पनि सोचेको थिएँ, ‘अब चुमाखु स्कुल जानुपर्ने होला ।’
स्कुल छनोटको विषयमा आमाआपा बात मारेको सुनें । आपाले भने, ‘मैले चुमाखु स्कुल हेरेर आएँ ।’
‘कस्तो लाग्यो ?,’ आमाले सोधिन् ।
‘आदेपाछै (मलाई के थाहा),’ आपाको उत्तर थियो, ‘म नपढेको मान्छे ।’
‘तर दुर्छिम हाइस्कुल (माविसम्मको पढाइ हुने स्कुल) पढाङ होला है । त्यहाँ ठूलाठालु मान्छे आइरहन्छ,’ आमाले थपिन्, ‘ठूलो मान्छेले बोलेको कुरा सुन्न पाउँछ । छोराले एक/दुईवटा भए पनि कुरा बुझ्छ ।’
मलाई दुर्छिम माविमा पढाउने आमाको मन रहेछ । छालाकुबाट दुर्छिम मावि पुग्न दुई घन्टा उकालो हिँड्नुपथ्र्यो । मेरी आमा आपाभन्दा चलाख थिइन् । आपालाई कसोकसो गरेर खुसी बनाइहाल्थिन् । हाम्रो घरमा अन्तिम निर्णय आपाको हुन्थ्यो तर नीति आमाको ।
आमाको सल्लाहमा तेर्सालुङबाट नजिकको चुमाखु स्कुल छाडेर म दुर्छिम हाइस्कुल पढ्न थालें । त्यतिबेला हामीले दाप्सामामा जग्गा किनिसकेका थियौं । त्यहाँ पनि खेती सुरु गरेका थियौं । तेर्सालुङ र दाप्सामा गरी दुई बेंसी भयो । दुवै ठाउँमा हाम्रो खेती थियो । तेर्सालुङ एकान्त जंगलमा थियो । नयाँ बेंसी दाप्सामा गाउँको पुछार थियो । जहाँ मानिसको चहलपहल तेर्सालुङभन्दा धेरै हुन्थ्यो ।
हाम्रो गोठको छिमेकी पञ्चसेर राई (इन्डियन रिटायर्ड आर्मी) थिए । गाउँमा राईलाई दीपेन्द्रेम्पा लाहुरे भन्थे । मचाहिँ उनलाई बाबै भन्थें । दाप्सामामा उनको अस्थायी गोठ थियो । उनको घर दुर्छिमको साल्तेम्मा हो । साल्तेम्माबाट बेंसी धाउँथे । यहाँ गाई, बाख्रा थियो । हाम्रो गोठभन्दा एक कान्लामाथि खोल्सापारि बाबैको गोठको खाँबोमा झुन्डिएको इन्डियन रेडियो घन्किरहन्थ्यो ।
दीपेन्द्रेम्पा बाबै फुर्तिला । मेरा आपा र उनी साथी–साथी । बाबैले मेरा आपालाई ‘परने’ भनेर बोलाउँथे । अलिक खुसी हुँदा ‘अमलेम्पा’ भन्थे । मेरा आपाले पनि ‘पञ्चे’ भनेर बोलाउँथे । अलिक खुसी हुँदा ‘दीपेन्द्रेम्पा’ भन्थे । उनीहरूको पत्यापत्ती थिएन । जहिल्यै ‘रेला’ गरिरहन्थे । आपा र बाबै बोलेको सुन्दा सुरु–सुरुमा बाझेकोजस्तै लाग्थ्यो । मनले जितेर आपसमा यसरी बोलेका रहेछन् । छिमेकी भनेको छिमेकी नै हुन् । आपतमा छिमेकी । साह्रोगाह्रोमा छिमेकी । अप्ठ्यारोमा छिमेकी । कहिलेकाहीं झगडा गर्नु पनि छिमेकी नै चाहिने । एक दिन उनी (आपा र बाबै)हरू ‘लाप्पा’ खेलेको देखें ।
हामीले दाप्सामामा बदाम छरेका थियौं । दसैंपछि दाइहरूले धमाधम बदाम खने । बदामको झ्याङ (नल) उरुङ थुपारेका थियौं । बदामको घाँसमाथि हामी उफ्रन्थ्यौं । खेल्थ्यौं ।
दसैं–तिहारबीचमा हाइस्कुल बिदा हुन्थ्यो । लामो बिदामा घरायसी काम सघाउँथें । आपा, आमा र दाइहरू खेतबारीमा काम गर्थे । म गोठालो जान पालो दिन्थें । गाई, बाख्रा चराउँथें ।
म कक्षा ९ मा पढिरहेको थिएँ । दसैं सकिएर तिहार सुरु भएको थियो । मेरा दाइदिदीहरू सबै गाउँ उक्लेका थिए । आपा र ममात्र दाप्सामामा थियौं । आपा गोठ हेरचाह गर्थे । मेरो काम गाई चराउनु थियो । दिउँसोको १ बजिसकेको थियो । गाई खोल्न अबेर भइसकेको थियो । त्यतिबेलासम्म दीपेन्द्रेम्पा बाबै पनि गाई खोल्न आइपुगेका थिएनन् । आपाले मलाई अह्राए, ‘बाबैको पनि गाई खोल्दे । ओपाबेला पनि मिबुइहिङे । गाईहरू भोकै हुन्छ ।’ आपाले भनेपछि दुई गोठको गाई गोठालो भएर जंगल हिँडें ।
मैले जंगलबाट वाखिलाको बाटोमा रेडियो बजेको आवाज सुनें । यसो हेरें । रेडियो बजाउँदै आउने दीपेन्द्रेम्पा बाबै रहेछन् । रङ्काडोमा दीपेन्द्रेम्पा बाबैको खेत थियो । बाबै खेतमा गइरहन्थे । बाबैको इन्डियन रेडियो थियो । गाउँमा चाहिँ बोकेको देखिनँ तर बेंसीमा बोकिरहन्थे । मनमा सोचें, ‘पासुङ अहिले पो आउँदै रहेछन् ।’
लाहुरे बाबैले गोठाला राम्ररी गर्दैनथे । गाई छाडा छाड्थे । एक दिन बाबैको गाईले हाम्रो मकैको बिरुवा भुर्कुट परिदिएको थियो । मकैको बिरुवा खाइदिएकोमा मेरो आपालाई लाहुरे बाबैसँग रिस थियो । बेला–बेला भन्थे, ‘ओको पञ्चेवा गोठाला पामो (यो पञ्चेले गोठाला गर्दैनन्) ।’
दीपेन्द्रेम्पा बाबैले ढिला गर्दा मेरा आपाले पहिले–पहिले पनि गाई खोलिदिन्थेछन् । त्यो दिन बाबैले ढिला गर्दा म उनको पनि गाई गोठालो भएँ । बाबै गोठमा आइपुग्दा उनको गाई पनि मैले खोलिसकेको थिएँ । मेरा आपा गोठमा थिए । दुवै फुर्सदिला भए । एकै ठाउँ बसेर गफिन थालेछन् । बाबै हाम्रो गोठमा अघिपछि पनि आइरहन्थे ।
मेरा आपा प्रायः जाँड पिउँथे । दीपेन्द्रम्पा बाबैले पनि पिउने । तिहार आइसकेको थियो । बाबैले गोठमा जाँड पकाउँथेनन् । फाइल (मेरा आपाले मन पराउने दुदिया रक्सी) बोकेर आउँथे । बूढाहरू कहिले घरको जाँड पिउँथे, कहिले फाइल ।
बारीभरि भर्खरै खनेको बदामको झ्याङ (नल) थियो । त्यस दिन पनि मेरा आपा र दीपेन्द्रेम्पा बाबै बारीको डिलमा नलमाथि बसिरहेका थिए । दिउँसोको २ बजेको हुनुपर्छ । एकैछिनमा लाप्पा परेछ । घरी मेरा आपाले पछारेको देखें । घरी बाबैले आपालाई । नलमाथि लाप्पा जुधेको देख्दा साह्रोगाह्रो परेको देखिँदैनथ्यो । बूढाहरू जुझिरहेका थिए ।
मेरी आमाले आपाबारे प्य्राङ्क (व्यंग्य गरेर उडाउने) गरेको सुनेको थिएँ, ‘दीपेन्द्रेम्पासँग जुझेकोजस्तै हो ?’ तेरो आपा र बाबैको जुझाइ इख न विषको हुन्छ भनेर आमाले मलाई सुनाएकी थिइन् । हुन पनि बूढाहरूको जुझाइ अनौठो रहेछ । जुझ्नेहरू कुटाकुट गर्दा आवेगमा तँ–तँ र म–म गर्दै कराउँछन् । तर, मेरा आपा र बाबै अरूले सुन्छन् भनेर चुपचाप लाप्पामात्र खेल्थे । उनीहरू जुझेको कसैलाई थाहा हुँदैनथ्यो । आपा र बाबै जुझ्नेमात्र, एक टुक नकराउने । सुन्ने झगडा होइन, हेर्ने झगडा । बूढाहरू यसरी अघि–पछि जुझिरहने कुरा आमाले मलाई सुनाएकी थिइन् । मैलेचाहिँ आज देखें ।
मैले ‘सिरियस’ लिइनँ, ‘बूढाहरू एकैछिनमा मिलिहाल्छन् ।’ मेरो ध्यान गाईतिरै गयो । एकछिनपछि फेरि बूढाहरूतिर हेरें । दुवैजना बारीको डिलमा टुक्रुक्क बसिरहेको देखें । केही खाइरहेकाजस्तै देखिए । मैले सोचें, ‘बूढाहरू मिलिहालेछन् । फाइल रक्सी पिउन थालेका होलान् ।’
फाइल खाइसकेपछि बूढाहरूको फेरि लाप्पा पर्न थाल्यो । कपर्दी खेलेजस्तै गरिरहेका थिए । मैले हेरिरहें । बूढाहरू एकै डल्ला पर्थे । उठ्थे । त्यसैबेला गाईहरू तेर्सालुङतिर चर्दै झ¥यो । म गाई पछ्याउँदै उँधो वनतिर झरें । बूढाहरूलाई वास्तै गरिनँ ।
मेरा आपा र उनी साथी–साथी । बाबैले मेरा आपालाई ‘परने’ भनेर बोलाउँथे । अलिक खुसी हुँदा ‘अमलेम्पा’ भन्थे । मेरा आपाले पनि ‘पञ्चे’ भनेर बोलाउँथे । अलिक खुसी हुँदा ‘दीपेन्द्रेम्पा’ भन्थे । उनीहरूको पत्यापत्ती थिएन । जहिल्यै ‘रेला’ गरिरहन्थे ।
बेलुकी गाई लिएर फर्कें । बूढाहरू बारीको डिलमा टुक्रुक्कै बसिरहेका थिए । जुझ्दा–जुझ्दा थाकेर बिसाएका रहेछन् । गाईहरू आएको देखेपछि दीपेन्द्रेम्पा बाबै पनि आफ्नो गोठ उक्लिए । बाबै खोल्च्याङ–खोल्च्याङ गर्दै नबोली निस्के ।
गाई आउनसाथ मेरा आपाले थपाथप बाँधिदिन्थे । आज बूढोले गाई बाँध्न जाँगर चलाएनन् । गाई बाँधेपछि आपाले मलाई बोलाएर भने, ‘त्यहाँ दुनेरीमा दूध, खोपीमा अन्डा छ । घोलेर बोटुकामा ल्याइदे त ।’ मैले लगिदिएँ । हिच्चा मार्न गाउँघरतिर यसरी खाएको देखेको थिएँ । मैले थाहा पाइहालें, आज बूढाहरू दिनभरि जुझेछन् । हिच्चा भएछ । आपा चल्न चटपटाउन सकेनन् । तर, केही नभएकोजस्तै नक्कल गरिरहेका थिए । आपालाई लाज लाग्यो होला, छोरालाई जुझेको कुरा कसरी सुनाउनू !
आपा अँध्यारो भइन्जेल बदामको नलमाथि बसिरहेका थिए । कसैले नदेख्ने भएपछि बिस्तारै घस्रिएर ओछ्यान पुगेको देखें । बूढा साह्रै परेछन् । मैले नदेखेजस्तै गरें । बूढा ओछ्यानमा पल्टे ।
म राति नै घरतिर निस्कें । दीपेन्द्रेम्पा बाबैसँग मलाई बेस्मारी रिस उठ्यो । ‘मैले नै गाई हेरिदिनुपर्ने,’ मनमनै रिसाएँ, ‘अनि मेरै आपालाई कुट्ने ।’
घर पुगेर आमालाई बेलिविस्तार लगाएँ । आपा र बाबै दिनभरि जुझेछन् । आपालाई सारो पारेको छ । मैले आपाको हिच्चा मारेर आएको छु । दीपेन्द्रेम्पा बाबैलाई समाज राखेर माफी माग्नु लगाउनुपर्छ ।
मेरो कुरा आमालाई ‘सिरियस’ लागेन । सोधिन्, ‘अनि बाबै कता गयो ?’ खोल्याङ–खोल्च्याङ गर्दै उकालो लागेको मैले सुनाएँ । आमाले ‘कोही मरेनछ’ जाती नै भयो । आमाले मेरो मन राखिदिइन्, ‘यिनीहरू जुझिरहन्छकै हो । सानैदेखिको साथी रै’छ ।’
मैले आपाको माया गर्दै भनें, ‘हैन आपालाई सारो पारेको छ ।’
‘के सारो पार्नु दीपेन्द्रेम्पा फिस्टा छ । तेरो आपाले एकपटक भ्यागुता पछाराइ पार्दा मुर्छा पर्छ,’ आमाले भनिन्, ‘धन्न मारिपठाएन छ ।’
आमाको कुराले मेरो मन हलुंगो भयो, ‘मेरा आपाजस्तै दीपेन्द्रेम्पा बाबै पनि साह्रै परेका थिए होलान् ।’
आज मेरा आपा पनि छैनन् । र, दीपेन्द्रेम्पा बाबै पनि । उनीहरू दुवैको ‘इसाखाली’ (हत्या, हिंसा, पानी, आगो तथा लडौपडौमा भएको) मरन भयो । रुखबाट लडेपछि उपचारक्रममा दीपेन्द्रेम्पा बाबैको निधन भयो ।
किरातीले तीन चुलालाई पवित्र सांस्कृतिक थलो मान्छन् । दिवंगत किराती रुङ्री (आत्मा) ले आफ्नो चुलामा बस्न पाऊँ भनेर कामना गर्छन् रे । इसाखालीलाई चुलामा बोलाउने चलन छैन । ‘निखाली’ लाई मात्र चुलामा बोलाउने गरिन्छ ।
हुन पनि बूढाहरूको जुझाइ अनौठो रहेछ । जुझ्नेहरू कुटाकुट गर्दा आवेगमा तँ–तँ र म–म गर्दै कराउँछन् । तर, मेरा आपा र बाबै अरूले सुन्छन् भनेर चुपचाप लाप्पामात्र खेल्थे । उनीहरू जुझेको कसैलाई थाहा हुँदैनथ्यो । आपा र बाबै जुझ्नेमात्र । सुन्ने झगडा होइन, हेर्ने झगडा ।
बाँचुन्जेल राम्रै काम गरेका, कसैमाथि अन्याय, अत्याचार नगरेका मलकाजी मानिसको इसाखाली मरन भए पनि केही वर्षपछि निखाली बनाएर चुलामा बोलाउने चलन छ । घरचिन्ता बसेपछि धामीको जोखनाअनुसार चुलामा बोलाउन मिल्ने नमिल्ने भनेर दाजुभाइमा सल्लाह गरिन्छ । विधि प्रक्रिया पुग्यो भने इसाखालीलाई पनि चुलामा बोलाउने चलन छ । सायद नछुङ र मैयापाछा (दाजुभाइ) को सल्लाहले दीपेन्द्रेम्पा बाबै चुलामा आइसके होलान् ?
जे होस्, बाबै जहाँ जसरी बसिरहेका छन्, राम्रै होलान् । मेरा आपा परनसेर राई र बाबै पञ्चसेर राईलाई भावपूर्ण श्रद्धाञ्जली ।
हौवा !