‘सर्वप्रथम छोरा विराद राईलाई शुभसाइतमै टीका लगाइदिन्छौं,’ हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईले सुनाइन्, ‘हामी आमाबुवाले छोरालाई टीका र जमरा लगाइदिन्छौं । शुभआशिष दिन्छौं । दक्षिणा दिने चलन छैन ।’
त्यसपछि ?
‘त्यसपछि सासूससुराको हातबाट टीका लगाउँछौं,’ मेयर राईले थपिन्, ‘विरादनिवास दिक्तेलमा सासूससुराले टीका–जमरा लगाइदिनुहुन्छ । दीर्घायुसहित उन्नति प्रगतिको आशिर्वाद दिनुहुन्छ । आशिर्वादसँगै जनही १०० रुपैयाँ दक्षिणा पनि पाउँछौं ।’
‘घर (दिक्तेल) मा टीका लगाइसकेपछि च्यास्मिटार (माइती) झर्छु । परिवारका सबै–सबै भेला नभइन्जेल आमाबुवाले पर्खेर बसिरहनुहुन्छ,’ उनले जानकारी गराइन्, ‘सबै भेला भएपछि सर्वप्रथम छोरीलाई टीका लगाइदिने प्रचलन छ । ८३ वर्षका बुवा दानबहादुर राई र ७८ वर्षीया आमा गंगाकुमारी राईले छोरीबाट सुरु गरेर अन्तिममा नातिनातिनीलाई टीका लगाइदिनुहुन्छ । टीका–जमरा, आशिष र आकर्षक दक्षिणासमेत दिनुहुन्छ ।’
परदेशमात्रै होइन, घरदेशमै रहे पनि विभिन्न कारणले वर्ष दिनसम्म नभेटिइएका आफन्त, इष्टमित्र भेट्ने शीर्षक दसैं पनि हो । दसैंको बहानामा आफन्त, इष्टमित्र र शुभचिन्तकसँग भेटघाट हुन्छ । गरिन्छन् । दसैंमा शुभकामना आदानप्रदानका साथै टीका लगाउने, आशिर्वाद लिनेदिने गरिन्छ । ‘माइतीपट्टिको परिवार ठूलो छ । हामी ४० जनाजति दसैंमा भेटिन्छौं,’ उनको भनाइ छ, ‘परिवारका सबै–सबै भेला भएर दसैं मनाउनुको आनन्द शब्दमा व्यक्त गर्न कठिन हुन्छ ।’
आशिर्वाद लिनेदिनेबाहेक दसैं भन्नासाथ मनोरञ्जन र खानपानको चाड पनि हो । ‘सामान्यतया दसैंमा मासुभात खाइन्छ । त्यो अन्य समयमा पनि खाइन्छ । तर, सपरिवार सँगै बसेर खाँदा कम्ती आनन्द हुँदैन,’ उनले सम्झिन्, ‘गाउँघरमा रमाइलो गर्ने परम्परागत माध्यम भनेको पिङ पनि हो । पिङ खेलिन्छ । वर्षमा एक दिन भुइँ छाड्नू भन्ने मान्यता छँदै छ ।’
सामाजिक कार्यकर्ता भएकाले दसैंमा समेत केही न केही काम परिरहेको हुन्छ । त्यस्तो अवस्थामा कहीं पुग्नैपर्ने हुन्छ भने कतिपय ठाउँमा बोल्नुपर्ने हुन्छ । दसैं भनेर चुपचाप बस्न मिल्दैन । त्यसबाहेक दसैंका लागि बनिबनाउ कार्यक्रम हुँदैनन् । भए पनि कतिपय अवस्थामा हिँड्न सकिँदैन । त्यो मेयर बिमला राईमा पनि लागू हुन्छ ।
नगरप्रमुख भएकाले दसैंमा भेट हुन नसकेका आफन्त, शुभचिन्तक, इष्टमित्र र सामाजिक कार्यकर्तालाई उनले टेलिफोन र सामाजिक सञ्जालबाटै शुभकामना दिने गर्छिन् । दसैं भन्नासाथ आशिर्वाद लिने र दिने समय हो । उनी त्यसै गर्छिन् । मेयर भनेको नगरपालिकाको अभिभावक हुन् ।