चितवन । सूचना प्रविधिको पहुँचबाहिर रहेका जिल्लाको पहाडी क्षेत्रका चेपाङ बालबालिकालाई टोल शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । सहरी क्षेत्रमा भर्चुअल, टेलिभिजन र रेडियोमार्फत शिक्षा दिइएको भए पनि चेपाङ बालबालिकालाई सम्भव नभएपछि टोल शिक्षा दिइएको हो ।
चितवन, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, यातायातलगायतको पहुँच भएको जिल्लामा हेरिन्छ । जिल्लाको पाखापखेरामा बसोवास गर्ने चेपाङ सबै किसिमबाट पछाडि छन् । उनीहरू इन्टरनेट त धेरै परको कुरा, रेडियो र टेलिभिजनसमेत पहुँचमा छैनन् । चेपाङ र जनजाति विद्यार्थी बाहुल्य रहेको जिल्लाको इच्छाकामना गाउँपालिकाका अधिकांश विद्यार्थी सूचना प्रविधिको पहुँचभन्दा टाढा छन् ।
इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल भर्चुअल सिकाइ सम्भव नभएपछि गाउँपालिकाले टोल शिक्षा कार्यक्रम सञ्चालन गरेको बताए । ‘पालिकामा १३ जना शिक्षकको एउटा समिति निर्माण गरेका थियौं,’ प्रमुख प्रशासकीय अधिकृत लम्सालले भने, ‘अधिकांश विद्यार्थी प्रविधिको पहुँचमा छैनन् भन्ने सुझाव प्राप्त भयो ।’ समितिको सुझावकै आधारमा टोल शिक्षा कार्यक्रम लागू गरिएको उनले जानकारी दिए ।
गाउँपालिकाभित्र रहेका ७०० विद्यार्थी रेडियोको पहुँचमा समेत नभएको उनले सुनाए । गाउँपालिकाका धेरै क्षेत्रमा पातलो बस्ती छ । त्यहाँ पाँच÷सातजना विद्यार्थी जम्मा गरेर एक शिक्षकले पढाउन थालेका छन् । ‘शिक्षकहरू विद्यालय जानुहुन्छ । आन्तरिक काम भइरहेको छ । तर, सिकाइलाई निरन्तरता दिन सकेका छैनौं,’ अधिकृत लम्सालले भने । इच्छाकामना गाउँपालिकाको वडा नम्ब। १, २, ३ र ४ का धेरै विद्यार्थी सूचना प्रविधिको पहुँचबाहिर छन् ।
चेपाङ बालबालिका अध्ययन गर्ने इच्छाकामना गाउँपालिका३ मा रहेको राष्ट्रिय आधारभूत विद्यालय धुसाका प्राचार्य सोमलाल श्रेष्ठले एक÷दुई विद्यार्थीको घरमा मात्र टीभी र रेडियो भएको बताए । ‘विद्यालयमा ४० चेपाङ बालबालिका अध्ययन गर्छन्,’ उनले भने, ‘अभिभावक र विद्यार्थीसँग सहज रूपमा सम्पर्क गर्ने माध्यम छैन ।’ रेडियो, टीभीसम्म पहुँच भएको भए पनि बालबालिकालाई घरमै पढाउन सहज हुने उनले भने, ‘सरकारले रेडियो, टीभीमार्फत पनि पढाउन सकिने बताएको छ । तर, यहाँको अवस्था फरक छ ।’
गाउँपालिकाका शिक्षा शाखा प्रमुख दुर्गादेवी खड्काले गाउँपालिकाले असार २१ गतेदेखि एक महिनासम्म टोल शिक्षा सञ्चालन गरेको बताइन् । ‘गाउँ शिक्षा समितिले गरेको निर्णयअनुसार टोल शिक्षा सञ्चालन गरेका थियौं,’ खड्काले भनिन्, ‘केही नहुनुभन्दा थोरै भए पनि यसले सिकाइमा सहयोग पुर्याएको हुनुपर्छ ।’
सरकारले जारी गरेको पाँच वैकल्पिक सिकाइमध्ये गाउँपालिकामा टोल शिक्षा नै प्रभावकारी हुने देखेर लागू गरिएको उनको भनाइ छ । ‘भौगोलिक विकटता र बर्खाको समय भएका कारण समस्या भयो तर पनि सिकाइलाई निरन्तरता दियौं,’ उनले भनिन्, ‘सामान्य समयमा समेत नियमित नहुने चेपाङ बालबालिकालाई यो समयमा सिकाइमा सहभागी गराउन निकै कठिन भएको छ ।’
गाउँपालिकामा ५ हजार ३४० विद्यार्थी छन् । स्थायी, निजी र राहत कोटाका गरी ३६७ शिक्षक गाउँपालिकामा कार्यरत छन् । इच्छाकामना गाउँपालिका३ का वडाध्यक्ष गोवद्र्धन अधिकारीले वडामा घुम्ती कक्षा सञ्चालन गरिएको बताए । ‘राजमार्गसँग जोडिएका बस्तीबाहेक अन्य क्षेत्रमा टीभी, रेडियो त प्रयोग धेरै छैन । इन्टरनेट पहुँचमा छैन,’ टोलटोलमा शिक्षक पठाएका छौँ, खुल्ला ठाउँमा पाँच/१० जना विद्यार्थी जम्मा गरेर अध्यापन गराउने गरेका छौं,’ वडाध्यक्ष अधिकारीले भने, ‘वडामा रहेका आठ विद्यालयमध्ये एक–एक मावि, निमावि र अरू सबै प्रावि छन् । सबै विद्यालयमा चेपाङ र जनजातिको बाहुल्य छ ।’
बाह्रै महिना खानसमेत नपुग्ने चेपाङ बस्तीमा सुरु गरिएको यो टोल शिक्षाले असहज परिस्थितिमा पनि सिकाइलाई निरन्तरता दिन केही भए पनि सहयोग पुगेको शिक्षक, अभिभावक र स्वयम् विद्यार्थीले अनुभव गरेका छन् ।