नेपाल एउटा सुन्दर देश हो । यो सुन्दर देशमा नेपाली भाषा सिक्न पाउँदा मलाई धेरै खुसी लागेको छ । नेपालमा जाँदा सुरुमा हामीलाई अलि–अलि गाह्रो भएको थियो । किनभने हाम्रो चीनको जीवन र नेपाली जीवनमा धेरै फरक छ । हामी चिनियाँहरू सुँगुरको मासु खान मन पराउँछौँ भने नेपाली कुखुराको मासु मन पराउँछन् । म मःमः र रोटी खान मन पराउँछु, नेपालमा बढी भात खाइन्छ । मेरो विचारमा नेपाली खानामा उसको विशेष स्वाद छ । धेरै चिनियाँलाई यो स्वाद मन पर्दैन । तर, मलाई नेपाली खाना मीठो लाग्छ ।
हामी नेपाली भाषा राम्रोसँग सिक्नका लागि नेपालको काठमाडौं गयौं । चीनमा हामी युनान मिन्चु विश्वविद्यालयमा पढ्छौं । नेपालमा हामीले त्रिभुवन विश्वविद्यालयको विश्व भाषा क्याम्पसमा पढ्यौं । नेपालमा हामीले नेपाली काव्य, नेपाली नाटक, नेपाली उपन्यास र अंग्रेजी भाषा पढ्यौं । गुरुहरूले हामीलाई धेरै सहयोग गरे । सोमबारदेखि शुक्रबारसम्म हाम्रो कक्षा हुन्थ्यो । गुरुहरूले कक्षाकोठामा हामीलाई शिक्षा दिन्थे । अनि घरमा गृहकार्य दिन्थे । गृहकार्य धेरै गाह्रो हुन्थ्यो । त्यसैले म सधैं विच्याटमा गुरुहरूसँग कुरा गर्थें । उनीहरूले मलाई धेरै सहयोग गरे ।
पछि कोरोना महामारी आयो । हामी क्याम्पस गएर पढ्न सकेनौं । म एकलै मेरो कोठामा बसें । त्यसबेला मलाई धेरै दुःख लाग्यो । चिनियाँ राजदूतावासले मास्क उपलब्ध गरायो । मैले कोठामै बसेर अनलाइन कक्षा पढें ।
त्यो समय धेरै गाह्रो थियो । चीनमा रहेकी मेरी आमा धेरै चिन्तित हुन्थिन् । म चीन फर्कन चाहन्थें तर महामारीका कारण नेपाल सरकारले अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेको थियो । त्यसपछि हामीले अझै मिहिनेत गरेर पढ्यौं ।
भर्खरै म चीन फर्केको छु । म युनान मिन्चु विश्वविद्यालयमा पढ्न थालेको छु । अहिले नेपालमा महामारी अझै बढेको छ । मलाई आशा छ, नेपाली जनताले महामारी जित्न सक्छन् । म नेपाली भाषा अझै राम्रोसँग सिक्नेछु । भविष्यमा म नेपाल र चीनबीचको मैत्री सम्बन्धको विकासका लागि आफूलाई लगाउनेछु । मेरो यो अनुभव पढिदिनुभएकोमा धेरै धन्यवाद ।
(लेखक चीनको कुन्मिङस्थित युनान मिन्चु विश्वविद्यालयमा स्नातक तहको अन्तिम वर्षका छात्र हुन् । उक्त विश्वविद्यालयमा स्नातक तहमा ऐच्छिक विषयका रूपमा नेपाली भाषा पनि पढाइन्छ । लेखक ऐच्छिक नेपाली विषय पढ्ने छात्र हुन् । त्यहाँ नेपाली ऐच्छिक विषय पढ्ने विद्यार्थीले चारवर्षे स्नातकका क्रममा एक वर्ष त्रिवि, विश्व भाषा क्याम्पसमा पनि पढ्नुपर्छ । त्यहीक्रममा लेखक एक वर्ष नेपाल बसेका थिए ।)