बेइजिङमा जस्तै सुचाउमा पनि चिनियाँहरू पानीभन्दा सुप, जुस र बियर धेरै खाएको देखिन्थ्यो । हाम्रो कोठामा एक लिटरभन्दा कम पानी राखिदिएका छन् । हिजो साँझ खाना खाँदा होटलमा पानी नभएपछि होटेलका कर्मचारीले ‘आज जुसले काम चलाउनुस् भोलिदेखि पानी व्यवस्था गरौंला’ भनेका थिए । पानी र साधारण जुसको मूल्य बराबर छ । कोठाको पानी बेलुकै सकिएको थियो । बिहान औषधि खाने पानी भएन । मेरो सामुन्नेमा चन्द्रकिशोर झाको कोठा थियो । पानी छ कि भनेर बाहिर निस्केको त म्याग्नेटिक कार्ड लैजान बिर्सेछु । ढोका बन्द भयो । अब परेन फसाद ! लबीमा गएँ । बेइजिङको होटलमा जस्तो स्वचालित भ¥याङका लागि भने चिर्कटो चाहिन्नथ्यो ।
लबीमा गएर समस्या राखें । उसले अंग्रेजी बुझ्दी रहेनछ । हाँस्दै सिसाकलम र कागज हातमा थमाई । उसले त्यो कागज लिएर कतै गई । त्यसपछि अर्की साथी ऊ सँगै लबीमा आइपुगी । मैले आफ्नो परिचय लेखेर दिएको कागज हेर्दै टुटेफुटेको अंग्रेजीमा ‘ए, मैले तपाईंलाई चिनें के समस्या भयो त ?’ भनी । मैले आफू बाहिर निस्कँदा ‘म्याग्नेटिक कार्ड’ लिएर निस्कन बिर्सेको हुनाले कोठा बन्द भएको छ भनेपछि ‘हुन्छ म खोल्न लगाउँछु, तपाईं जानुस्’ विनम्रतापूर्वक भनी । भोटिनीले अब त कुरो बुझी होली भनेर कोठातिर लागें । म पुग्दा नपुग्दै एकजना लाठे कोठाअगाडि उभिरहेको रहेछ । उसले केही नभनी एउटा चिर्कटो दियो । त्यो चिर्कटो ढोकाको नाकमा सुँगाएपछि टुइँक्क गर्दै हरियो बत्ती बल्यो । ढोका खोलेर औषधि खाएपछि बिहानको खाजा खान रेष्टुरेन्टतिर लागें । हामी ८ः५० मा लबीमा जम्मा भइसकेका थियौं ।
पानी हिजोदेखि नै दर्किरहेको थियो । क. वाङ, क. छिङ र फिनिक्सले हाम्रा लागि छाता व्यवस्था गरेका रहेछन् । हामी पोर्टल्यान्ड सडक हुँदै सुचाउ सांस्कृतिक केन्द्रतिर लाग्यौं । संस्थाका पार्टी सचिव र अरू कर्मचारी स्वागतार्थ उभिएका थिए । बसको ढोकादेखि भवनसम्म छाता लिएर एउटा पंक्ति उभिएको थियो । हाम्रो शरीरमा पानी नपरोस् भनेर उनीहरू सतर्क देखिन्थे । अतिथि सत्कारप्रतिको गम्भीरताबोध प्रकट गरिएको होला । चिनियाँको आफ्नै शिष्टाचार शैली छ । केन्द्रकी सदस्य एकजना भद्र महिलाले बेलिविस्तार लगाउँदै हामीलाई घुमाइरहेकी थिइन् ।
अठारौं शताब्दीकै सांस्कृतिक वैभवको धनी सुचाउलाई आजको सांस्कृतिक आर्थिक केन्द्र बनाउन १४५ भन्दा बढी बहुराष्ट्रिय कम्पनीहरू भित्र्याइएको रहेछ । जसमध्ये मुख्य लगानीकर्ता एसियाको नयाँ बाघ भनेर चिनिने सिंगापुर रहेछ । कुनै बेला चीनको सुचाउबाट बसाइँ सरेर गएका चिनियाँमूलका सिंगाली नै मुख्य लगानीकर्ता रहेछन् । यहुदीले इजरायल–अमेरिका सम्बन्ध निर्धारण गरेझैं सुचाउमूलका सिंहालीले सिंगापुर–चीन सम्बन्ध निर्धारण गर्ने गर्छन् ।
चिनियाँले लोभलाग्दो सुविधा दिएर बहुराष्ट्रिय कम्पनी ल्याउँछन् । माछा बल्छीमा अड्केपछि घिसार्न थाल्छन् भनिन्छ । भनिन्छ– चीनसँग लड्ने क्षमता अमेरिकाले पनि गुमाउँदै गएको छ । चीनमाथि आर्थिक प्रतिबन्ध लगाइयो भने अमेरिकाभित्रै प्रतिवाद हुने स्थिति बन्दै गएको ठानिन्छ । चीन–अमेरिकाको ठूलो आपूर्तिकर्ता र ऋृणदाता मुलुक भइसकेको छ । चीनले बिस्तारै संसार निल्दै गएको ठान्नेको कमी छैन । त्यसैले त विश्वविजेता नेपोलियन बोनापार्टले चीनप्रति संकेत गर्दै ‘त्यहाँ एउटा सिंह निदाइरहेको छ, त्यसलाई निदाइरहन देऊ,’ भनेका थिए । सन् १९४९ पछि चीनमा निदाइरहेको सिंह व्युँझिसकेको छ । त्यो सिंह रोगी या बूढो भएर मानव बस्तीतिर नजाओस् भन्ने तेस्रो विश्वको अपेक्षा छ ।
चीनमा निजी र सामूहिक दुवैको समायोजन भएको प्रयोग ‘सहकारी’लाई कृषि र व्यापारमा निकै प्रयोग गरिएको मानिन्छ । सोभियत संघले विकास गरेको यो प्रयोग विश्वभरि प्रचलनमा रहेको छ । नेपालमा भने असफल देखिन्छ । स–साना छरिएको पुँजीलाई एकत्रित गरेर बजारमा प्रतिस्पर्धा गर्नलायक, वस्तु उत्पादन गर्न सक्ने क्षमतावान् बनाउनु र उत्पादक र ग्राहकबीचमा सिधै सम्पर्क कायम गरेर बिचौलियाको अन्त्य गर्नु सहकारीको मूल उद्देश्य हुन् । नेपालमा सहकारी व्यवस्था र बिचौलियाका कारण सहकारी व्यवसाय असफल भएको छ । सांस्कृतिक केन्द्रको अध्ययनपछि हामी त्यसको छेउमै रहेको सामुदायिक बजारमा पुग्यौं । सरकारी विकास आयोजना गर्दा विस्थापित परिवारलाई पनि त्यसप्रकारका सामुदायिक व्यवसायमा संलग्न गराउने गरिएको रहेछ । दर्जनौं साना नानी खेलिरहेका, तिनका आमाले खेलाइरहेका, कतै बूढी आमा नाचिरहेका, कतै बूढा काकाहरू बाघचाल खेलिरहेका देखिन्थे ।
चीनलाई पश्चिमी देशले अझै पनि बन्द समाज भन्ने गरेका छन् । तर, हामीमा त्यसप्रति कुनै भ्रम थिएन । आतंकवादी खतराका कारण चीनले अन्तर्राष्ट्रिय फोनमा कडाइ गर्ने गर्छ । स्थानीय सेवा भने सहजै प्रयोग गर्न सकिन्छ । फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालको सुरक्षा निगरानी, गोपनीयता र आर्थिक फाइदा युरोप, अमेरिकासँग निहित छन् । एक चिनियाँ अधिकारी भन्छन्, ‘चीनमा मोबाइल फोन गर्ने ८० प्रतिशत ग्राहक ‘वी च्याट’ प्रयोग गर्छन् । अरू सामाजिक सञ्जालको चिनियाँ विकल्प छिट्टै प्रयोगमा आउनेछ ।’ पश्चिमाले आफ्नो उत्पादन प्रयोग नगर्नुलाई नै बन्द समाज भनेर प्रचार गर्छन् । जनमत त्यसबाट प्रभावित हुन्छ । पश्चिमाले उनीहरूको संस्कृति र सभ्यतालाई मानक बनाउँछन् । त्यसबाट बाहिर परेका सबै सभ्यता र संस्कृतिलाई असभ्य भनिदिन्छन् । त्यो आफैंमा असभ्य र हिंसात्मक चिन्तन हो । आत्मनिर्भर आर्थिक, सांस्कृतिक विकल्प र पूर्वीय दर्शन तथा परम्पराको निरन्तरता चीनका महान् उपलब्धि मान्न सकिन्छ । यसलाई असभ्यता होइन, सभ्यताको संघर्ष भन्न सकिन्छ ।
मध्याह्न १२ बजे खाना खान IING ZHAI HOTEL गयौं । त्यो होटलमा एउटी सोझी, सुधी बालिका ‘वेट्रेस’ थिई । त्यसलाई मैले बालश्रम ठानेको थिएँ । गोरुझैं जोतिइरहेकी त्यो बालिकाले स्वेच्छाको ध्यान पनि आकर्षित गरेको रहेछ । ‘मलाई त मित लगाउन मन लाग्यो यो केटीसँग’ स्वेच्छा भन्दै थिइन् । हामीले १३ वर्ष अनुमान गरेकी ज्याओ १९ वर्षकी रहिछन् । हुवेई प्रान्तबाट रोजगारीका लागि सुचाउ आएकी ऊ स्वेच्छाले मितिनी लगाउन चाहेको कुरा फिनिक्सले चिनियाँ भाषामा बेलिविस्तार लगाएपछि असाध्यै खुसी भई । स्वेच्छा र ज्याओ ज्याओले टाउको ठोकेर मित लगाए ।
हामीले उठेर ताली बजायौं र त्यो खुसीमा सहभागी भयौं । ‘हामी च्याटमा भेट्ने है,’ बालसुलभ मुस्कानमा ज्याओज्याओ भन्दै थिई । यात्रामा त्यस्ता मानिससँग भेट हुन्छ, जसले क्षणभरमा गहिराइसम्म पसेर प्रभाव पार्छन् । बिजुली चम्केझैं क्षणभरमा अलप हुन्छन् । तर, तिनको स्मृतिविम्ब लामो समयसम्म रहिरहन्छ । जीवन भनेको स–साना घटना, परिवेश र संयोगको पुञ्ज रहेछ । “बेइजिङमा निर्मला रुनु भएझैं सुचाउमा भोलि रुने पाले स्वेच्छाको होलाजस्तो छ” मैले भनें । खाना खाएपछि हामी होटलतिर लाग्यौं । मुसलधारे वर्षा भइरहेको थियो ।
सुचाउ इपू ५१४ मा निर्माण भएको प्राचीन सहर हो । चीनमा कुन्मिङ, गोन्झाउजस्ता तीव्र गतिमा विकास भएका अरू सहर पनि छन् । तर, सुचाउले आफ्नो प्राचीन वैभव र गौरव कायम गरेर तीव्र गतिमा विकास गरेको मानिन्छ । अठारौं शताब्दीको बगैंचावाला निकुञ्ज, पुरानो सहर, नदी, तलाउ यहाँका मुख्य आकर्षक हुन् । १४औं शताब्दीमा सुचाउ सहर चर्चित रेशम व्यापारको प्रमुख उत्पादक क्षेत्र पनि थियो । सांघाईको कोखमा जन्मनु आर्थिक दृष्टिले सुचाउको अनुकूलता मानिन्छ । यसलाई बगैंचा नै बँगैंचाको सहर, पूर्वको भेनिस, शास्त्रीय ज्योति आदि उपमा दिइने गरिन्छ । यो Yangzi River किनारको २,५०० वर्ष पुरानो सहर हो । बेइजिङ–सुचाउ तीव्र गतिको रेल सुरुमा ४५० किमि प्रतिघन्टा दौडन्थ्यो र नियन्त्रण गर्न कठिन भएपछि ३०० किमि औसतमा झारिएको रहेछ । बेइजिङ सुचाउ १,५०० किमि दूरीको भाडा नेपाली मुद्रामा ३,१४१ रुपयाँ रहेछ ।
अपराह्न २ देखि ५ बजेसम्म गोष्ठी थियो । रेनमिन विश्वविद्यालयको सुचाउ क्याम्पसको गोष्ठीमा चिनियाँ पक्षबाट नेतृत्व गरेकी महिलाले झर्को लाग्नेगरी लामो बोलिन् । हाम्रा टोलीनेता माधवप्रसाद पौडेलले सुचाउ र काठमाडौंबीचमा भाइचारा सम्बन्ध कायम गर्नुपर्ने विषयमा जोड गरे । युरोप, अमेरिकालाई राम्ररी बुझेका साथीभाइ भन्दै थिए, ‘युरोपले प्राचीनतामा टेकेर, त्यसलाई नष्ट गरेर अगाडि बढेको छ । तर, चीनले प्राचीनता र आधुनिकतालाई समायोजन गरेको छ । त्यसैले त चिनियाँहरू गर्वसाथ भन्छन्– पश्चिमको चश्माले चीनलाई नहेर !’
गोष्ठी सकिएपछि खाना खाने होटलसम्म विश्वविद्यालयको भित्री गोरेटो हुँदै पैदलै आयौं । अहिले पनि धेरै मानिसलाई आधुनिक सभ्यताको उत्कर्ष पश्चिमी संसारमात्रै भन्ने लाग्दो हो । तर, हिमालयको करेसानेरको भू–स्वर्गमा हामी विचरण गरिरहेका थियौं । यता आएपछि स्याल कराएको नसुनिएको भए पनि आकाशमा भने ‘घामपानी, घामपानी स्यालको बिहे’ भनेझैं भइरहेको थियो । झरीपछिको घमाइलो साँझ ढल्किँदै थियो । एक ठाउँमा ढकमक्क इन्द्रकमल फुलेको । त्यसको सुगन्ध चारैतिर नाच्दै थियो । इन्द्रकमलको नृत्यमा साथीहरूले गीतले साथ दिए–
“यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो
मगमग चल्यो बासना
चोली दिउँला मखमली सारी दिउँला फाइबर
मै हुँ कान्छी रेलको ड्राइभर”
हामी बिस्तारै सुचाउको सुन्दरतामा रमाउँदै हिँडिरहेका थियौं । विद्यार्थी बास्केटबल खेलिरहेका थिए । त्यसको नजिकै सिमसारमा सेतो, रातो रङका कमल हाँसिरहेका थिए । ‘कस्तो लाग्दै छ त सर ?’ मैले तीर्थ कोइरालालाई भनें । ‘म त ईष्र्याले जलिरहेको छु यार,’ कोइरालाले सधैंझैं हँस्यौलोपारामा भने । साँझ ६ः३० मा खाना खायौं । ज्याओ ज्याओले भाइटीकाका दाजुभाइलाई जस्तै हार्दिकतापूर्वक खाना खुवाई । स्वेच्छालाई त बच्चालाई झैं खुवाईदेलीजस्तो गर्थी । हाम्रो वरिपरि मात्र उसका आँखा हुन्थे । ऊ होटलकी कामदार हो । उसलाई सबैतिर भौंतारिनुपर्छ । आज उसलाई काममा पनि केही छुट भएझैं लाग्थ्यो । उसका साथीलाई पनि स्वेच्छासँग उसको निकटताको प्रसंग थाहा थियो । भाषाको पर्खाल नभएको भए ऊ कति चिरबिर गर्थी होला । त्यो सुधी श्रमिकले हामीलाई आँखाले देखुन्जेल हात हल्लाउँदै बिदा गरी ।
हामी खाना खाएर वाहनमा चढिसकेका थियौं । फिनिक्सले ‘अब हामी सुचाउको रात्रिजीवन हेर्न जाँदैछौं,’’ भनी हामी सहरका विभिन्न स्थानमा गयौं । झरना घरको छतबाट बरन्डा हुँदै पिँढीमा खसेको दृश्य कृत्रिमजस्तो लाग्दैनथ्यो । भीमकाय भवन थिए । ठाउँअनुसार फरक–फरक बान्कीका भवन थिए । विद्युत्को प्रकाशलाई बगैंचा र बाटोका दायाँ–बायाँ सजाएको दृश्य अर्को सुन्दर पक्ष थियो । दिउँसो हिँडेको स्थानमा राति पुग्दा अर्कै सहरजस्तो लाग्थ्यो । रात छिप्पिँदै जाँदा सुचाउ व्युझिँदै गरेझैं लाग्थ्यो ।
सुचाउको रात्रिजीवनको एक झलक हेर्दा रातको १२ बजिसकेको थियो । भोलि हामी सुचाउ छोडेर सांघाइतिर जाँदै थियौं । होटलमा पुग्दा १२ः१५ भइसकेको थियो । फिनिक्सले भोलि बिहान ८ः४५ मा लबीमा जम्मा भइसक्ने सूचना दिएर गैसकेकी थिइन् । आज दिनभरिको व्यवस्तताले अलि बढी थाकेको महसुस भएको छ । राति १२ः३० मा हामी आ–आफ्नो कोठामा पुग्यौं । झ्यालबाट बाहिर सडकमा हेर्दा सुचाउ निदाएझैं लाग्थ्यो ।
रेनमिन विश्वविद्यालय, उत्तर सुचाउ
२०७१ असार ४/२०१४ जुन १७