गन्जी र कट्टु लगाएको देखेर असई झुक्किँदा नाफाको जिन्दगी


सोनाम सज्जन किराती

आडमारा (रावाबेंसी)बाट सबैसँग बिदा भयौं । विजयखर्कका कमरेड राजन खनाल ‘शक्ति’ र म खार्पा र लामीडाँडाबीच खार्पापट्टिको उकालो उक्लियौं । खार्पाको शारदा निम्नमाध्यमिक विद्यालयको माथिल्लो गाउँमा बम विस्फोट गर्यौं । पारि लामीडाँडामा प्रहरी चौकी थियो । बम विस्फोटपछि लामीडाँडाको बरभन्ज्याङ र निमाविआसपास चिहिलबिहिल भयो । हो–हल्ला सुनियो । हामी बिजुले जाने बाटो पहिल्याउँदै थियौं । साँझ पर्दै थियो । एक झुपडीमा बास माग्यौं । घरधनीले बास दिए । हामी बस्यौं ।

हलेसी पुग्नु थियो । दुई नाका छिचोल्दै हलेसी पुग्न सजिलो थिएन । बिजुलेभन्दा पनि अर्खाैले पार गर्न सजिलो थिएन । त्यहाँ प्रहरी ‘चेकपोस्ट’ थियो । त्यो बाटो हिँड्न सम्भव थिएन । हामी चिउरीबास पुग्यौं । बिहानीपखको समय । चिउरीबास नपुग्दै लामीडाँडालाई बिहानीको घामका किरणले रंग्याइसकेको थियो । तिर्पाको माथिल्लो गाउँ पुगेर खाना खायौं । त्यहाँबाट सल्लेको चिचिङ्गा हुँदै तुवाचुङमुनि काभ्रेको दाहाल कमरेडहरूसँग सम्पर्कमा पुग्यौं । बर्खेटारमा होमनाथ दाहालको पसल थियो । पसल घरको माथिल्लो तलामा विस्फोटक पदार्थसहितको झोला लुकायौं । त्यसपछि दुस्मनको चियो गर्दै खाजा खायौं । नुनथला, बुइपा, राजापानी, विजयखर्क र धितुङलाई विस्फोटक पदार्थ तयार पा¥यौं । कमरेड शक्तिलाई खर्चपानीसहित बिदा दिएँ ।

हलेसी क्षेत्रका लागि १५ वटा सुतली बम बनाइयो । बनाउँदाबनाउँदै अर्खाैलेबाट असईको कमान्डमा सडकको धूलो उडाउँदै पुलिस आए । माओवादीहरू यतातिर आएका थिए रे, कता गए ? भनेर पसलकी दिदीलाई सोधे । पसलकी दिदीले मान्छे त थुप्रै हिँड्छन् सर तर को–को हिँड्छन् थाहा हुँदैन भनिन् । म भने घरको तलामाथि भित्रपट्टि कोठाबाटै संवाद सुनिरहेको थिएँ । प्रहरीको वाकीटकीमा ‘डेल्टा…खै के–के लामीडाँडा, खार्पामा बेलुका राति भन्दै कोड भाषामा बम विस्फोट गरेको खबर आएकाले’ सुनियो । उताबाट रोजर सर, यता पनि गतिविधि सामान्य छ । अहिलेसम्म खासै त्यस्तो सूचना प्राप्त भएको छैन । त्यतिबेला घरको तलमाथि (जहाँ म बसेको छु)बाटै प्रहरीकै अगाडि गोडा चारेक सुतली बम पड्काएर तर्साऊँजस्तो लागेको थियो । त्यसो गरौं भने ‘सेल्टर’ दिने घरपरिवारलाई समस्या पर्न सक्थ्यो । संयम अपनाउन बाध्य थिएँ । घरमाथि पसे भने बाँकी राख्दिनँ भनेर हातमा बम बोकेर तयारी अवस्थामा थिएँ । उनीहरू हिँडे । म पनि झोलामा सामान बोकेर तलाबाट ओर्लें । उनीहरूको काम हामीलाई खोज्ने । हामी जोगिएर हिँड्ने ।

पसलबाट बिदा भएँ । म काभ्रे भञ्ज्याङतिर लागें । साबिक मूलबाटो छाडेर कृष्ण तिमिल्सिना, रूपनारायण दाहाल, सम्मरबहादुर भुजेलको घरमाथि डाँडैडाँडा रामप्रसाद राईको घरमाथि देवीथान जंगलैजंगल सडकमा झरें । ‘म एेंसेलुखर्कबाट दाहिने सडक पछ्याउँदै छु, हलेसीबाट प्रहरी मास्तिर निस्कन्छ कि सूचना अद्यावधिक गर्नुहोला है,’ हलेसीमा रहेका साथीहरूलाई जानकारी गराएँ, ‘हलेसी झर्न ४५/५० मिनेट लाग्ला । म एक्लै छु ।’ म एेंसलुखर्कको सडकमाथि पुरानो मिल र मिलघरबाट हलेसी झर्दा सिधै दाहिने सडक हुँदै यताउता हेर्दै हिँडिरहेको थिएँ । सडकमा मालवाहक ट्रक गुडिरहेका थिए । मैले ‘लिफ्ट’ मागिनँ । हलेसीमा हलेसी दर्शन गेस्टहाउस भर्खरै सुरु भएको थियो ।

गेस्टहाउस सञ्चालक हेमन्त गिरी हुन् । गेस्टहाउसबाट सडक पार गरेर खोक्चिलिपा बुक्टो (बसाहथान)तिर लागें । बसाहथानपारि पुगेर हलेसी गुफाआसपास हेरें । लाँकुरीभञ्ज्याङसम्म आँखा डुलाएँ । गुफामा घन्टी बजेकोबाहेक अर्को आवाज सुनिएन । हलेसी बजार सुनसान थियो । खोक्चिलिपा वालाखा (रानीपोखरी)मा पानी सुकेकाले चहलपहल थिएन । पारि बाँसघारीतिर आँखा डुलाउँदै भोजराज बस्नेत ‘राजेश’लाई फोन गरें । बस्नेत र बाबुराम राई ‘अजय’सँग दुर्छिम र मंगलटारको सिमाना ताराखसे (घुर्चु सिरान)को जंगलमा रहेको जानकारी गराए ।

म राजेशजीसँग हिँड्दै कुराकानी गरिरहेको छु । यताको अवस्था ठीक छ, निर्धक्क आउनू भन्ने उताबाट उत्तर आयो । म ‘फिजिकल स्ट्रक्चर चेन्ज’ गरेर निर्धक्क हिँडिरहें । चप्पल पड्काउँदै हिँडिरहेको छु । कट्टु र हाफ गन्जी लगाएको छु । जुंगा, दाह्री नकाटेको थुप्रै भइसकेको थियो । मेरो लुगा लगाएको देख्नेले यो माओवादी हो भनेर थाहा पाउँदैनन् भन्नेमा ढुक्क थिएँ । हलेसी–घुर्चुको बाटोमा एक्लो बाघझैं हिँडिरहेको छु । हलेसीबाट बाटो लागेको ३५/४० मिनेटपछि साँझ पर्यो । सडकका दायाँबायाँ सल्लाघारी । सल्लाको सुसाइ सुनिरहूँ लाग्ने । म गन्तव्य छोट्याउँदै छु । हल्का उकालो चढेर ओरालो झर्नुपर्ने थियोे । अकस्मात् मेरो अघि एक हुल मानिस देखापरे ।

हामीबीचको दूरी १० मिटरमात्रै थियो । हत्तपत्त दायाँबायाँ हेरें । बायाँतिर स्काभेटरले खनेर उक्लनै नसक्ने भित्ता । दायाँतिर दुई किलोमिटरजत्तिको पहरो । झोलामा बोकेको विस्फोटक पदार्थ लुकाउँ त्यो हुलले देखिसकेको छ । यिनीहरूको हात पर्नुभन्दा त भनेर झन्डै दायाँतिरको पहरोमा हाम्फालें । त्यहाँबाट हाम्फालदा बाँच्ने सम्भावना छँदै थिएन । साहस बटुलेर बाटैबाटो लागें । सुरुमा म्यादी प्रहरी भेटें । उनीहरूले मलाई वास्तै गरेनन् । झोला बोकेको छु । झोलाभरि बम छन् । पड्कियो भने आफूवरिपरिका सबै सिद्धिन्थे ।

त्यो हुलमा खार्पाका पदम नेपाली (वन रक्षक) देखें । नेपाली जिल्ला वन कार्यालय खोटाङमा कार्यरत कर्मचारी हुन् । वनरक्षकले मलाई मंगलटार पीपलडाँडाकै स्थानीयजस्तै व्यवहार गरेर गफिए । हामी दुई मिनेट गफियौं । तसर्थ, पुलिसको एकतारे फुलीवालाले समेत वास्ता गरेनन् । असई डाँडा कटेपछि नेपाली सरले मलाई झन्डै मारे । यस्तो अवस्थामा बाटोघाटो विचारेर हिँड्नु पर्दैन ? भन्दै सचेत गराए । प्रहरीले तपाईंको व्यापक खोजी गरिरहेका छन् भन्दै उनले सुनाए । हामी छुट्टियौं । म पसिनाले निथ्रुक्कै भिजेको थिएँ ।

नेपाली सरसँग छुट्टिएको १५ मिनेटपछि राजेश, अजय र घुर्चुका अन्य भाइहरूसँग भेट भयो । त्यस रात राजेशजीकहाँ बास बसें । प्रहरीसँग जम्काभेट हुँदासमेत बाँचेर आएको सुनाएँ । राजेशजी तपाईंहरूले मलाई फसाउन खोजेको भन्न मन लागेको थियो । तर, भनिनँ । तपाईंहरू त कस्तो हौ सम्म भनेर राजेश र अजयलाई गुनासो गरें । दुवैले प्रस्टीकरण दिए । सामान्य छलफलपछि हलेसी, दुर्छिम, मंगलटार र बडहरेलाई केही थान बम हात लगाएँ ।

बिहानै उठेर बाटो लागें । मलाई च्यास्मिटार, बाहुनीडाँडा र डिकुवा पुग्नु थियो ।

प्रतिक्रिया दिनुहोस्