वडाध्यक्ष बस्नेतको पहलमा घरबारविहीनलाई ‘जस्तापाताको घर’



बडहेर (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे खोटाङका वडाध्यक्ष किशोरकुमार बस्नेतको अगुवाइमा घरबारविहीनलाई जस्तापाताको घर निर्माण गरिएको छ ।

वडाध्यक्ष बस्नेतको अगुवाइमा लामो समयदेखि ससुराली घर (साबिक बडहरे–१ तल्लो खोक्सेली) नजिक मुस्किलले घामपानीबाट ओत लाग्न सकिने छाप्रोमा बस्दै आएका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका घरबारविहीन काशी नेपालीलाई जस्तापाताको घर निर्माण गरिएको हो ।

हिन्दु धर्मावलम्बीको महान् चाड बडादसैं २०७७ नयाँघरमा मनाउन पाउँदा नेपाली परिवार कम्ती खुसी थिएनन् । नयाँघरलाई पृष्ठभूमि बनाएर नेपाली परिवारले खिचेको तस्बिर हेर्दा उनीहरूको हाँसो संसारकै महँगोजस्तो लाग्थ्यो । नेपाली परिवारले नयाँघर पाउँदा वडाध्यक्ष किशोरकुमार बस्नेत घरधनीभन्दा झन् खुसी देखिन्थे ।

ब्राह्मण पढाएर नयाँघर सर्दा काशी नेपालीले वडाध्यक्ष बस्नेत र घर निर्माणमा सहभागीलाई निम्ता गरेका थिए । निम्ता मान्न पुग्दा नेपालीले किशोरकुमार बस्नेतको नाम सम्बोधन गर्दै खुसी व्यक्त गरे, ‘यो उमेरसम्म आइपुग्दा आजजस्तो खुसी कहिल्यै भएको थिइनँ । मेरा बाउले मलाई गर्न नसकेको काम तपाईंबाट भएको छ । मेरा बाउभन्दा ठूलो तपाईं हुनुभएको छ ।’

नयाँघर सर्नुअघि ब्राह्मण बोलाएर पढाइयो । पूजापाठ गरियो । त्यही खुसियालीमा उनले निम्तालुलाई कुखुराको मासुसँग कोल्डड्रिङ्क्स (ड्यु) खुवाएका थिए । घरधनी काशी नेपाली र उनको परिवारका खुसीका लागि वडाध्यक्ष बस्नेतले भुइँमै बसेर प्रसाद ग्रहण गरे । वडाध्यक्षले प्रसाद ग्रहण गर्दा नेपाली परिवारको मुहार उज्यालो देखिन्थ्यो ।

नेपालीले पहिल्यै ससुरालीसँग एक रोपनी जग्गा किनेका थिए । त्यतिबेला १५/२० हजार रुपैयाँमा किनेको जग्गामा मनकारी वडाध्यक्षका पहलमा एक रुपैयाँ खर्च नगरी घर ठडिँदा खुसी नहुने को होलान् र ?

वडाध्यक्ष बस्नेतले घर निर्माणमा सहभागीलाई आफैंले पारिश्रमिक दिएका थिए । बालुवा ढुवानीका लागि ट्याक्टर व्यवसायीलाई निःशुल्क सहयोग मागेका थिए । ‘मैले पनि घर बनाउँदै छु,’ उनले सुनाए, ‘कतिपय निर्माणसामग्री मेरैबाट लगेको थिएँ ।’

ढुंगामाटोले बनेको घर जस्तापाताले छाइएको छ । घर निर्माणका लागि वडाध्यक्ष बस्नेतले खर्च गरे पनि जस्तापाताचाहिँ हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेमा सञ्चालित एक घर एक छानो कार्यक्रमबाट सम्बोधन हुनेगरी उपलब्ध गराइएको थियो ।

एक श्रीमती, सात छोराछोरीका बाबु काशी नेपाली विजयादशमीको अघिल्लो दिन नयाँघर सरे । घरधनी नेपालीले कोरोना महामारीबीच हर्षौल्लाससाथ दसैं मनाएको सुन्दा हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका वडाध्यक्ष किशोरकुमार बस्नेत खुसी पुलकित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्