हलेसीका गणेश राई भनेपछि हामी हुरुक्कै



श्रद्धेय कराते गुरुलाई सम्झँदै छु । संवत् २०४६ को जनआन्दोलन सेरोफेरोको सम्झना हो । त्यसताकाका कराते सिकाउने स्मृतियोग्य गुरुको सम्झना कोट्याउने प्रयास गर्दै छु । कद होचो । परिपक्व व्यक्तित्व, कराते गुरु भनेपछि ब्रुस्ली–बु्रस्लीजस्तै लाग्थ्यो । कपाल पनि ब्रुस्लीकै जस्तो लाग्ने । झुस्स दारीचाहिँ विशेषतै थियो । कराते गुरु गणेश राई भनेपछि हामी हुरुक्कै हुन्थ्यौं । परबाट देख्दै ढुकढुकी बढ्थ्यो । हामीले पनि उनीसँग कराते सिक्न पाए कति जाती हुन्थ्यो । मुख खोल्न नसक्ने, परैबाट हेरेर आफ्नो ज्यानलाई करातेको आरानघरमा पुर्याएजस्तो लाग्थ्यो । उनीसम्म पुग्ने पारिवारिक साइनो पत्ता लाग्यो । बाजे परे पनि उनीसँग कराते सिक्नेचाहिँ कसरी भन्ने उपाय खोजी भयो ।

जहाँ इच्छा, त्यहाँ उपाय भनेझैं सहपाठी थमल राई (विरही विमल) र म उदयपुरको कटारी बजारमा रहेको त्रिवेणी माध्यमिक विद्यालयमा अध्ययन गगर्थ्यौं । (२०२६ माघ १८ जन्मेका विरही विमलको ०८१ कात्तिक १८ निधन भइसकेकाले उनीप्रति श्रद्धासुमन व्यक्त गर्दछु) । कराते गुरु गणेश राई सहपाठी विरही विमलको फुपूको श्रीमान् रहेछन् । मेरो माइला काका लघुधन राई र सुशीला राई दम्पतीको साइनोले बाजे पर्दारहेछन् । सहपाठीलाई खुसुक्कै भनें, ‘तिम्रो पुसैं (फुपाजु)सँग हामी पनि कराते सिक्ने पाए हुन्थ्यो नि ।’

यो ०४५ मध्यतिरको कुरा थियो । साथीले मेरो इच्छा सुनाएछन् । म तित्रिबोटमा बस्थें । खागे गाउँको सिधै पूर्वतर्फ ककुरखोलापारि तित्रिबोट गाउँ पर्छ । ‘उहाँ (गणेश राई) बिहान वा दिउँसो कराते सिकाउनुहुन्न । सार्वजनिक स्थलमा पनि सिकाउनुहुन्न । जो पायो त्यसलाई सिकाउनुहुन्न,’ समकक्षीले सुनाए, ‘उहाँलाई जुनसुकै बेला प्रहरीले समात्न सक्छ । त्यसैले एक साँझ ककुरखोलाकिनारमा भेटघाट गर्ने र त्यहीं कराते सिकाइ दिनुहुन्छ ।’ तोकिएको समय साँझपख भेटघाट गर्यौं । एक घन्टाजति करातेका ‘टेक्निक’ सिकाए । छुट्टिने बेलामा बाजेले भने, ‘थमलसँग सिक्दै गर्नू ।’ थमल धेरै ‘टेक्निक’मा पारंगत रहेछन् । त्यसपछिका दिनहरू साथी थमल करातेका गुरु बने । थमल र म घनिष्ट बन्यौं । मेरै डेरामा बसेर पढ्यौं । ०४६ मा एसएलसी उत्तीर्ण गर्यौं ।

एसएलसी परीक्षा दिनुअघिका केही घटना छन्, जुन राजनीतिसँग सम्बन्धित थिए । ०४५ चैतमा भारतले नाकाबन्दी गर्यो । नेपालमा पञ्चायतविरुद्ध आन्दोलन सुरु भयो । उदयपुरको कटारी बजार सोलुखुम्बु, ओखलढुंगा र खोटाङको प्रमुख द्वार मानिन्छ । त्यसताका तीन जिल्लावासी नुन, तेल, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, फलाम, मट्टीतेललगायत आवश्यक सामान लिन पैदलै कटारी धाउनुपथ्र्यो । कटारीबाट सामान खरिद गरेर साता दिन ढाकरमा बोकेर गन्तव्यसम्म पुर्याइन्थ्यो । पञ्चायतकालमा राजनीतिक दल प्रतिबन्धित थिए । तर, कटारी क्षेत्रमा बहुदलीय राजनीतिक आस्थाधारी नेताको बसोवास थियो । मुख्यतः कांग्रेस र कम्युनिस्टसम्बद्ध नेताहरू थिए । तर, को कांग्रेस, को कम्युनिस्ट चिनिँदैनथ्यो ।

साथीहरूमाझ गणेश राई । तस्बिर : एनई डट विकिपिडिया डट ओआरजी ।

कांग्रेस नेता गोपाल राईको घर कटारी बजार इलाका प्रहरी कार्यालयछेउमै थियो । कांग्रेसकै अर्का नेता अर्जुन खड्का, ज्ञानेन्द्र राउतलगायतको त्यही आसपासमा घरवास छ । नेता खड्काका जेठा छोरा प्रदीप हामीभन्दा ‘सिनियर’ र सुवास खड्का सहपाठी थिए । हामीमा पनि राजनीतिक प्रभाव परिसकेको थियो । त्यसैले हामीलाई एसएलसी दिने बेला प्रहरीले डेरा (तित्रिबोट)मै घेरा हाले । थाहा पाएपछि अन्तै बसेर परीक्षामा सामेल भयौं । माघमा भएको परीक्षा सकिएलगत्तै डेरा होइन, पारि खागेगाउँतिर साथीको घर पुगियो । परीक्षा सकेको केही दिनसम्म तित्रिबोट नफर्केपछि प्रहरी फर्केको आफन्तले जानकारी गराए । हामी दुई (गणेश र थमल)लाई कुर्ने ती प्रहरीले सामाजिक उपद्रव गर्न भ्याएछन् । जुन उल्लेख गर्न लायक छैन ।

भारतले नाकाबन्दी गरेकै बेला कांग्रेस नेता एमपी बलबहादुर राई काठमाडौंबाट दुई जर्किन मट्टीतेल लिएर कटारी आएका थिए । राई मेरा बाजे (स्व. वीरसिंह राई)का साथी हुन् । बाजेले सुझाए, ‘राम्रो पढ्नू, एक/दुईपटक असफल हुँदैमा केही हुँदैन, खारिएको घिउ मीठो हुन्छ ।’ उनले एउटा सानो टिनको जर्किनमा मट्टीतेल दिए । पूर्वसांसद माइला काका लघुधन राईले बेलाबखत नेताहरूसँग चिनजान गराउँथे । काकाको ससुरालीतर्फको साइनोले बाजे पर्थे– गणेश राई अर्थात् कराते गुरु । बाजेले ०४६ मा केही समय आफूलाई साथ दिन अनुरोध गरे, ‘म कटारी बजार जान मिल्दैन । प्रहरीले समात्छन् । त्यसैले भदा थमल र नाति गणेशले कटारी बजारमा दिनभरि के–के घटना घट्छ, त्यो बुझेर मलाई खबर दिनू ।’ हामीले त्यसै गर्यौं ।

परीक्षा सकिएलगत्तै माघ गयो । फागुन लाग्यो । काठमाडौंमा आन्दोलन चर्कंदै छ भन्ने खबर चैतमासको डढेलोझैं फैलियो । कटारीमा आमसभा हुने भयो, त्यो पनि शुक्रबारे हाटकै दिन । विद्यार्थीलाई पर्चा छर्न लगाइयो । पहाडदेखि झरेका हटारूभन्दा केही फरक सुकिलामुकिला मानिसको भीडभाड बढेको थियो । घुम्दैघुम्दै पहाडबाट झरेका आफन्तजनसँग वाम्बुले मातृभाषामा भलाकुसारी गथ्र्यौं । नजिकका आफन्तलाई पहाड घर पठाउने सामानजस्तै पोको पारेर केही पर्चा बोकायौं । (त्यो पर्चा कांग्रेसका सर्वोच्च नेता गणेशमानसिंहको नेतृत्व र संयुक्त वाममोर्चाद्वारा जारी अपिल पत्र थियो ।

युवा अवस्थामा गणेश राई । तस्बिर : एनई डट विकिपिडिया डट ओआरजी ।

०४६ फागुन ७ देखि चैत २६ सम्म आन्दोलन चल्यो । राजा वीरेन्द्रले चैत २६ गते कांग्रेससम्बद्ध नेतालाई सहमतिका लागि बोलाए । सोही दिन भएको सम्झौताअनुसार निर्दलीय पञ्चायती व्यवस्था अन्त्य र प्रजातन्त्र पुनर्बहाली भयो ।) त्यतिबेला चौरमा सबैले देख्ने गरी मञ्चको आकारमा माइक फिट गर्नेहरू गर्दै थिए । औपचारिक कार्यक्रम सम्बोधन गर्ने को–को थिए हेक्का भएन । प्रहरीको उपस्थिति बाक्लियो । सायद नेताहरूको आगमन भइसकेको थियो । पल्लो छेउका ‘सिनियर’ साथीहरूले ठूलो आवाजले ‘निर्दलीय पञ्चायत, मूर्दावाद’ भनेको सुन्यौं । हामी फुच्चाको सातो गयो । कान्छी बजार नपुग्दै तल्लो खोल्सा (ढल) बाट मरुवाखोला हुँदै ककुरखोलातिर टाप कस्यौं । केही साथीले प्रहरीको डन्डा भेटे । प्रहरीले नेतालाई समातेर थानामा हाले ।

ती साथीहरूमध्ये तत्कालीन त्रिवेणी माध्यमिक विद्यालय अनेरास्ववियुका प्रारम्भिक कमिटी अध्यक्ष सूर्यध्वज न्यौपाने (सहकारीकर्मी), जगतबहादुर कार्की (अधिवक्ता), चूडामणि ढुंगाना (उपसचिव/सूचना प्रविधि, नेपाल सरकार), वसन्त राई (सञ्चारकर्मी), जुनियरतर्फ त्रिवेणी मावि अनेरास्ववियु प्राक अध्यक्ष अम्बिका थापा (सहकारीकर्मी/एमाले उदयपुर सम्पर्क मञ्च सचिव), ब्रह्मदेव चौधरी, पाण्डव सुनुवार, गणेश अधिकारी, सानोबाबु घिमिरे, सिनियरमा मदन निरौला, रमेश रेग्मी, कृष्ण थापा, जनक राईलगायत थियौं ।

‘हामीमध्ये धेरैजसोले वामपन्थी राजनीतितर्फ झुकाव राख्थ्यौं । ०४५ को कुरो हो । ताराघारी जंगलमा सालको रुखमा तुल टाँगेर प्रशिक्षण दिइएको थियो,’ खोटाङ कदुवाका अधिवक्ता जगतबहादुर कार्की सम्झन्छन्, ‘त्यतिखेर झापाको सुरुंगामा विद्यार्थी लक्ष्मी पाण्डे मारिए । पाण्डेलाई सहिद घोषणा गराउनुपर्छ भनेर हामीलाई ताराघारी जंगलमा रुखमुनि टाँगिएको उनकै फोटो राखेर मुठ्ठी उठाउन लगाइएको थियो । उतिखेर खोटाङ हलेसीका नेता गणेश राईसँग सम्पर्क सम्बन्ध बढेको थियो । उहाँले हामीलाई विदेशी दारीवाला मानिसका फोटो भएका किताब पढ्न दिन्थे ।’ धेरै कुरा त बुझ्दैनथ्यौं । अर्को पटक अर्को हुलले बीपीजयन्ती भनेर साउन ६ गते लालपुर जंगलमा वृक्षरोपण गर्न लगे । हाम्रो नाम प्रहरीसम्म पुगेछ । त्यसपछि केही समय कटारीबाट भाग्नुपरेको अधिवक्ता कार्कीलाई हिजैजस्तो लाग्छ ।

जनआन्दोलनताका चैत १ देखि २६ गतेसम्म विद्यार्थी भूमिगत भए । त्यसबखत कटारी भेगमा कम्युनिस्ट समर्थक नेताका रूपमा जगन्नाथ खतिवडा (पछि सांसद), शिक्षक थीरप्रसाद पोखरेललगायत सीमित व्यक्ति थिए ।

त्यो भौरीको जंगल

त्यो भौरीको जंगलमा किन लुक्नुपरेको होला ? त्यतिखेर लागेको जिज्ञासा थियो । बाटैमा पनि होइन । बाटोभन्दा धेरै पर कसैले थाहा नपाउने एकान्ततिर अरूको आउजाउमात्र देखिने डाँडो परेको ठाउँमा बसेर गतिविधि नियाल्दै सानो झोलामा केही किताब च्यापेर, सायद सिसाको बोतलमा पानीसमेत बोकेर एक्लै क्रान्तिकारी संवाद गुनगुनाउँथे । परैबाट हामीलाई देखेपछि सुइसुला गरेर बोलाउँथे ।

सिन्धुलीको पूर्वी–दक्षिण कुइनेटो हो– भौरी जंगल । सानो खाल्डो भौरी गाउँमाथि डाँडा जंगलको दक्षिण–पूर्व सिमराही र चिम्टाघारीबीचमा जंगल छ । दक्षिण–पश्चिममा डम्बरखाडी गाउँ । चिम्टाघारी माथ्लोपट्टि ककुरखोलाकिनारको गाउँलाई खागे भनिन्छ ।

बीचमा ककुरखोला छ । पूर्वतर्फ उदयपुरको कटारी बजार र पश्चिमतर्फ सिन्धुली जिल्लाको दुधौली नगरपालिका–१४ (साबिक ककुठाकुर गाउँ विकास समिति–९) खागे गाउँमा उनको ससुरा क्याप्टेन टीकाबहादुर राईको निवास थियो । क्याप्टेन राईकी जेठी छोरी रूपा राईसँग नेता गणेश राईको बिहे भएको थियो । राई कहिले खोटाङ त कहिले कटारी र खागे ओहोरदोहोर गरिरहन्थे । उनी कुनै बेला गाउँघरमा युरिया मल, खाद्यान्न ढुवानीसमेत गर्थे । उनी सितोरियो करातेका गुरु थिए । हलेसी क्षेत्रमा मात्रै होइन, कटारी भेगमा पनि करातेकै गुरुका रूपमा प्रसिद्ध मानिन्थे । हलेसी चुमाखु भनेपछि गणेश राईकै चेलामात्र छन् भन्ठान्थ्यौं ।

पञ्चायती व्यवस्थामा प्रहरीको आँखाको तारो थिए । ०४६ मा प्रजातन्त्र आएपछि मात्र स्थिति सहज भयो । पाठ्यक्रमबाहेक अतिरिक्त पुस्तक पढ्नुपर्छ भन्दै सुझाउँथे । साइनोले बाजे भए पनि मार्गनिर्देशकझैं लाग्थ्यो । क्रान्तिकारी, भूमिगत संगठक, पुस्तक पत्रपत्रिका पढेर ज्ञानार्जन गर्न हामीलाई प्रेरित गरिरहन्थे ।

गणेश राई कुन पार्टीका थिए ? थाहा थिएन । तर, कम्युनिस्ट आस्था र विचारधाराका थिए । वाम बुद्धिजीवी थिए । पञ्चायती व्यवस्था अन्त्य भयो । प्रजातन्त्र आयो । त्यसपछि उनीसँग भेटघाट त्यति भएन । ख्याल पनि भएन । उनीसम्बद्ध पार्टीले उनलाई न्याय दियो/दिएन ? गणतन्त्र आइसकेपछि नेता अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीमा आबद्ध भएको थाहा भयो । श्रीमती रूपा राईका अनुसार पति गणेश राईले सिंगापुर पुलिस फोर्समा कार्यरत आफ्ना जेठा दाइ सइन्द्रकुमार राई र दाजुका साथी प्रसिद्ध करातेका प्रशिक्षक थानेश्वर राईसँग कराते प्रशिक्षण लिए । त्यतिबेला कराते प्रतिबन्धित थियो । काठमाडौंमा बसेर कराते प्रशिक्षण लिए । ब्ल्याक बेल्ट हासिल गर्न सिंगापुर जाने अवसर जुर्यो । तर, टाइफाइडले समातेपछि मौका गुमाउनुपर्यो । उनी सुरुमा मसालमा आबद्ध भई भूमिगत राजनीतिमा संलग्न भए । राजनीतिक जागरण लिएर गाउँ फर्केपछि गाउँघरका युवालाई कराते प्रशिक्षणसँगसँगै राजनीतिक संगठनमा जुटे । ‘उहाँ गुप्त रूपमा राजनीतिक संगठन गर्दै नानीहरूलाई कराते सिकाउनुहुन्थ्यो,’ रूपा सम्झन्छिन्, ‘पञ्चायतकालमा दुई पटक पक्राउ पर्नुभयो । ०४६ को आन्दोलनमा उहाँ कटारीमै हुनुहुन्थ्यो । कटारीमा बस्दा प्रहरीले तत्काल पक्राउ गर्न सक्थ्यो । तर, वारि खागे सिन्धुली परेकाले ककुरखोला नाघेपछि पक्राउ पुर्जी लिन सिन्धुली सदरमुकाम लिन जान टाढा पथ्र्यो । त्यतिबेला तपाईं (गणेश वाम्बुले राई) र भदा थमल राईले सहयोग गर्नुभएको थियो । कटारीमा रहेका नेताहरूमा गोपाल राई, श्रीमती मीना राईलगायत अरू नेताहरू पक्राउ पर्नुभयो । तर, उहाँ पक्राउ पर्नबाट जोगिनुभयो ।’

गणेश राईको जन्म २००८ मंसिरमा हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम, चुमाखु (साबिक दुर्छिम गाविस–४) मा भएको हो । बुवा दीपबहादुर चाम्लिङ राई र आमा मनमाया राईको माइला छोरा राईले चम्पावती माध्यमिक विद्यालय बुइपा, खोटाङबाट एसएलसी उत्तीर्ण गरे । त्यसपछि उच्च शिक्षाका लागि जनकपुर झरे । यसैगरी, उच्च शिक्षा अध्ययनक्रममा काठमाडौंमा कराते प्रशिक्षण लिए ।

उदयपुरको कटारीमा रहेर राजनीति, खेलकुद प्रवद्र्धन तथा व्यवसाय गरे । कटारी बजारमा इमो होटल र इमो फोटो स्टुडियो, कटारी–ओखलढुंगाको खाद्यान्न ढुवानी ठेक्कापट्टा गरे । खोटाङ हलेसीमा सामान्य होटेल व्यवसाय गरे ।

प्रतिबन्धित अवस्थामा मसालमा सम्बद्ध उनले खुला भएपछि एमाले खोटाङ (सचिव), सुकुम्बासी आयोग, खोटाङ (अध्यक्ष) को भूमिका निर्वाह गरे । पार्टी विभाजनपछि नेकपा मालेबाट खोटाङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवारी दिए पनि निर्वाचित हुन सकेनन् । एमाले पूर्वउपाध्यक्ष अशोक राईको नेतृत्वमा संघीय समाजवादी पार्टी गठनपछि ससपा प्रवेश गरे । ससपाले उनलाई दोस्रो संविधान सभा निर्वाचन २०७० मा समानुपातिक सभासद्को उम्मेदवार बनायो । मंसिर ४ गते निर्वाचन भयो । मत परिणाम नआउँदै मंसिर १५ गते नेता गणेश राईको उपचारक्रममा काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भयो । नेता राईको निधन भए पनि सम्झनाचाहिँ जनमनमा छँदै छ ।

नेता गणेश राईले जीवनका उर्वर समय वामपन्थी विचारधारा प्रवद्र्धन र खेलकुदका माध्यमबाट युवालाई संगठित गर्न अगुवाइ गरे । सर्वहारा वर्गको हितमा आफ्ना विचार, तन, मन र धन खर्चिए । हुनेखाने वर्गले गरिब, निमुखाका घर तथा घुर्यानबारी खोसेर बसाइँ हिँड्न बाध्य बनाए । तिनै निमुखाको पक्षमा लडेर घरबारी फिर्ता गराई घरवास मिलाइदिए । भुम्जुडाँडा छेउछाउका बासिन्दाको न्यायका निम्ति लडिदिने उनै थिए । न्याय पाएका भुक्तभोगीले हिजोआज पनि उनलाई बिर्सेका छैनन् ।

सिंहदरबार र संसदीय इतिहासमा दर्ज हुन नपाए पनि खोटाङको राजनीतिक इतिहास अनि रस्तीबस्तीमा उनलाई सम्झिनेहरू जीवितै छन् । ‘मेरो बुवा बित्नुहुँदा गाउँ जानेक्रममा दुधकोसी (जयराम)मा पारि बस कुर्दै गर्दा एक वृद्ध बाले गणेश राई पो बितेछन् भन्दै अनुहार खुम्चाएर तरक्क आँसु झार्नुभयो,’ पिता सम्झँदै छोरी रोजिना राईले भनिन्, ‘त्यतिखेर मेरो मन कस्तो भयो होला । ती वृद्ध बालाई के थाहा कि उहाँको छेउमा बस्ने म गणेशकी छोरी हुँ भनेर । त्यसपछि गर्वले लामो सास फेरें । मेरो बुवा मेरोमात्र होइन रहेछन्, समग्र खोटाङे निमुखाहरूको अभिभावक पनि हुनुहुन्थेछ ।’

(नेता गणेश राईकी श्रीमती रूपा राई, छोरी रोजिना राई, छोरा कल्याण राई, भदा पडिन्द्र राईसँग पुनः पुष्टिका लागि २०७७ जेठ १३ गते कुराकानी गरेको थिएँ ।) –लेखक

प्रतिक्रिया दिनुहोस्