कात्तिकदेखि गाईबस्तु बारीमा सारिन्छन् । त्यतिबेला भटमास पाकिसकेको हुन्छ । भटमास उखेल्नसाथ गाईबस्तु बारीमा सार्ने हतारो हुन्छ । नभन्दै कोदोलगायत हिउँदे बाली पाकिसक्छ । हिउँदे बाली पाकेपछि सोही ठाउँमा गाईबस्तु राखिन्छन् । गोठ राखेकोे बारीमा मल लगाइँदैन ।
हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम, साल्तेम्मा खोटाङमा कात्तिकदेखि चैतसम्म गाईबस्तु बारीमा राख्ने प्रचलन पुरानै हो । बारीमै अस्थायी गोठ बनाइन्छ । स्थानविशेषमा जे उपलब्ध हुन्छ, त्यसैबाट गोठ ठडिन्छ । जाडो नछले पनि गोठले शीतसम्म छल्छ ।
गोठमा गाईबस्तु पर्खन एकजना अनिवार्य बस्नैपर्छ । जंगली जनावरबाट गाईबस्तु जोगाउन मानिस गोठमा बस्नैपर्ने बाध्यता हुन्छ । राति जंगली जनावर आइहालेमा धपाउनुपर्छ । जंगली जनावर आइहालेमा गाईबस्तुले संकेत गर्छन् । कतिपयले गोठमै कुकुर राखेका हुन्छन् । जंगली जनावर गोठसम्म आएमा कुकुरले भुकेर सचेत गराउँछ । त्यतिबेला गोठमा बस्नेले उठेर आगो बाल्छन् । सुसेली हाल्छन् । एकले हालेको सुसेली अर्को गोठमा बस्नेले समेत सुन्छन् । उसले पनि उसैगरी हल्लाखल्ला गर्छन् । त्यसो गरेपछि जंगली जनावर डराउने भइगयो ।
सालिन्दा ६ महिना गोठमा बस्नेको सुख–दुःख भोगेका भुक्तभोगी हुन्– मोहन राई । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम, साल्तेम्मानिवासी राई गोठमा बस्न थालेको ५६ वर्ष भयो । गोठ बसाइको ५६ वर्षे अनुभव कोट्याउँदा उनी त्यत्तिकै रोमाञ्चक बन्छन् । गोठमा बिताएका क्षण सम्झँदा उनलाई फेरि एकपटक केटाकेटी बन्न रहर जाग्छ ।
‘नौ वर्ष पुगेपछि गोठमा बस्न थालेको हुँ,’ उनले विगत सुनाए, ‘त्यहाँदेखि आजसम्म गोठमा बस्न छाडेको छैन ।’ बाल्यकालमा गोठमा सुत्न असाध्यै रहर लाग्थ्यो । पछि–पछि त बाध्यता आइलाग्यो । ‘म साइँला (जयबहादुर राई)दाइसँग पहिलोपटक गोठमा सुतेको थिएँ,’ उनले थपे, ‘म १४ साले हुँ । अहिले ६५ वर्ष पुगें । गनिल्याउँदा ५६ वर्ष भयो गोठमा बस्न थालेको । तर, समय बितेको चालै पाइनँ ।’
घरमा बसेजस्तो हुँदैन गोठमा । गोठमा जाडो हुने नै भयो । गाईबस्तु हिउँदे गोठमा राख्दा घाम ताप्न पाउँछ । जाडोमा घाम ताप्न पाउँदा गाईबस्तुसमेत रमाउँछन् । तर, राति एकपटक जाडोले कक्रिन्छन् । फेरि चैतमा घामले पोल्छ । राति पानी पर्यो भने गाईबस्तु घर लैजानुपर्छ । त्यतिबेला निकै गाह्रो हुन्छ । पहिले–पहिले टर्चलाइट नहुँदा राँकोको भर पर्नुपर्थ्यो । हिजोआज त टर्चलाइटले धेरै सजिलो बनाइदिएको छ । धेरै समय पानी परे भुइँ सुकेपछि मात्रै गाईबस्तु पुनः गोठ लगिन्थ्यो ।
राईका गोठमा कतिपयचाहिँ सुत्नमात्रै आउँथे । आगो ताप्दै राति अबेरसम्म सुख–दुःख बात मार्दाको आनन्द शब्दमा व्यक्त गर्न कठिन हुन्छ । ‘गोठमा सुत्न आउने मेरा साथीहरू जंगे कामी, भद्रे दमाई र खोलापारे प्रेम राई हुन्,’ उनले सुनाए, ‘हिजोआज उनीहरू आउँदैनन् । जंगे कामी उदयपुर झरेका छन् । भद्रे दमाई बितिगए । दमाई खैनी खानकै लागि मेरो गोठमा सुत्न आउँथे । प्रेम राई गाउँमै भए पनि आउँदैनन् ।’
गोठमा बस्दा समेत काम गर्ने तालिका हुन्छ । ‘म कहिले डोरी बाट्छु । चोया काढ्छु । दाम्ला, बरियो बाट्छु,’ उनले आफ्नो कार्यतालिका जानकारी गराए, ‘गोठमा रहँदा डोको, ढोबे, चिरिङ्गी र ढोक्से पनि बुन्छु ।’
गोठमा रहँदासमेत समय सदुपयोग गर्ने मोहन राईको लय लोभलाग्दो छ । घरदेखि टाढाको गोठ हो भने राति ८ बजे खाना खाइसक्छन् । घरनजिकको गोठ हो भने घरमै खाना खान्छन् । ‘काम नहुँदा राति ८ र काम हुँदा ९ः३० मा सुतिसक्छु,’ उनको भनाइ छ, ‘बिहान ४ बजे उठिसक्छु । निद्राले छाडिहाल्छ । उठेपछि चिया पकाएर खान्छु । गाईबस्तुलाई घाँसपात गरेर घर फर्कन्छु ।’
बिहानभरि घरको काममा व्यस्त हुन्छन् । घरमा काम नहुँदा घाँस काट्न निस्कन्छन् । बिहानको खाना खान्छन् । दिउँसो गोठाला जान्छन् । गोठालाबाट फर्केपछि पुनः घर पुग्छन् । रातिको खाना खाएर गोठ फर्कन्छन् । पहिले–पहिले राँकोको उज्यालोमा गोठसम्म पुग्नुपर्थ्यो। ‘कतिपय अवस्थामा मसानले राँको निभाइदिन्थे,’ उनले आफूले भोगेको कथा सुनाए, ‘डर लागे पनि गोठसम्म पुग्नैपर्थ्यो । गोठमा पनि यदाकदा तर्साइरहन्छन् । म थाहा पाइहाल्छु । तर, मलाई डर नलागेपछि तर्साउने आफैं तीनछक पर्लान् कि ?’