साल्तेम्माबाट सुटुक्क बिदा भएका भर्तीवाल !



मान्छे एक, नाम अनेक

किरात राई चाम्लिङको संस्कारमा ‘न्वारान’को विशेष महत्व छ । नामकरणपश्चात् मात्र मानवको दर्जा पाइन्छ भन्ने मुन्दुमको वर्णनमा आउँछ । त्यसपछि माया गरी घरमा बोलाउने नाम, गाउँमा बोलाउने नाम, पहिलो सन्तान जन्मेपछि फलानेको आपा भन्ने नाम र कुनै पद्वी पाएपछि सबैले बोलाउने नाम फरक–फरक हुन्छन् । म जसकाबारेमा लेख्दै छु, उहाँ साइनोले मेरो भान्जे तिप्पा (बडाबा) पर्छन् । तिप्पाको न्वारानको नाम मलाई थाहा छैन । तर, सरकारी कामकाजमा, ठेगको बहिमा, बिहेको निम्तामा, बिहेको सघाउनीमा र गाउँले विभिन्न बैठकमा उनको नाम पञ्चसेर राई लेखिन्थ्यो ।

होम्दिमहोंछाको भान्जो भएकाले प्रायः होम्दिमहोंछाका दाजुभाइले उनलाई पञ्चु भानिज भनेर बोलाउँथे । पहिलो सन्तान दीपेन्द्र राईको जन्म भएपछि सबैले दीपेन्द्रेम्पा भनी बोलाउँथे । उनी ‘इन्डियन आर्मी’मा भर्ती भएपछि साना, ठूला सबैले ‘भर्तीवाल’ भनेर बोलाउँथे । प्रस्तुत आलेख, पंक्तिकारले देखेको र बुझेको उनै चर्चित भर्तीवाल पञ्चसेर राईबारे केन्द्रित छ ।

भर्तीवालको सांस्कृतिक चेतना

किरात राई चाम्लिङ कुल र मुलमा जन्म लिएपछि मान्छे पूर्ण बन्न गर्भदेखि जन्म, जन्मदेखि मृत्युसम्मको संस्कार र संस्कृति गर्नैपर्छ । हाम्रो समाजमा संस्कार र संस्कृतिका ज्ञाता धेरै कम छन् । मेरो आँखाले देखेको र ब्रह्म भनेअनुसार साल्तेम्माभरिमा जान्नेमध्ये भर्तीवाल दोस्रो व्यक्तिमा पर्थे । लाहुरे गई सेवानिवृत्त भएर पनि संस्कार र संस्कृतिप्रति चासो राखेर यत्तिको सिपालु हुनु चानचुने कुरा होइन ।

भाइ सल्लाह

साल्तेम्मालीहरूको एउटा रीति अनि थिति साह्रै राम्रो र महत्वपूर्ण छ । त्यो हो– जब बिहे, छेवर, पास्नी र गुन्युचोलीजस्ता शुभकार्य हुने भयो भने उक्त कार्य सम्पन्न गर्न दुई वा तीन भाइबीच सल्लाह हुन्छ । यो भाइ सल्लाहको निम्ता दिन गाजीघर (कार्जे हुने मुख्य घर)सँग सल्लाह गरी धिवैतुङ (गाजीघरको नजिकी वंश दाजुभाइमध्ये एक) जान्छन् । धिवैतुङले दाजुभाइ र दाजुभाइकै रोहबरमा बसेका नातेदारसमेतलाई बोलाउनुपर्छ । उक्त दिन गाजीघरले सकेसम्म जाँड, रक्सी र मासुभात तयार गर्नुपर्छ । नहुँदा पनि जाँड र रक्सी सगुन तयारी गर्नुपर्छ । यो पहिलोपटकको सल्लाह हुन्छ । यस्ता भाइ सल्लाहमा कोही छुट्नुहुँदैन ।

आज भर्तीवाल कता हो ? भनेर दाजुभाइ र नरनाताले प्रायः जुनसुकै भाइ सल्लाहमा सोधखोज गर्थे । उस्तै बूढापाकाले ‘अना आले दीपेन्द्रेम्पा पाटोनो थलो’ ! (होइन आज दीपेन्द्रेम्पा देखिनँ त) ! भनेर पनि सोधखोज गर्थे । प्रायः उनलाई भैंसी, राँगा र सुँगुरको मासु अनुमान गर्न कार्जे (कार्य)का लागि खोजिन्थ्यो । भर्तीवालले खस्रा, मीठा, चट्ट कुरा दिने हुनाले पनि उनलाई होपाछेरा (ड्याङ्गै भनिहाल्ने) व्यक्तिका रूपमा पनि लिइन्थ्यो । उनको कार्य यस्तै स्मृतिमा अमर रहनेछन् ।

शुभकार्यमा भर्तीवालको भूमिका

जुनसुकै शुभकार्यमा नअह्राए पनि उनले एउटा ड्युटी जहिल्यै पूरा गर्थे । त्यो हो, शुभकार्यको दिन बिहान ४ बजे उठेर घरको काम थाती राखेरै गाजीघर जाने बाटोमा पर्ने दाजुभाइलाई पनि ‘ल जाऔं’ र ‘छिट्टो गरौं’ भन्ने बानी थियो । गाजीघरमा पुगेर सबैलाई उठाएर अघिल्लो दिन तयार गरिएको चुलामा आगो बाल्थे । एक खर्कुलो चिया बसाल्थे । अनि जान्नेलाई ‘डेक’ बजाउन लगाउँथे । गीतको बजेको सुनेपछि र आगो बलेको देखेपछि ढिला भएछ भनेर दाजुभाई भेला हुन्थे । यो मासु यति काट्ने भनेर अह्राउँथे । भाइ, छोराले नभेटेको बेला मासुको टुक्रा पार्न थालिहाल्थे । दिउँसो पाहुना हेर्ने र घरमै पुगेर गाईबस्तुलाई घाँसपानी गरेर फेरि आउँथे ।

उल्लिखित कामबाहेक शुभकार्यमा भैंसी, राँगा र सुँगुर बनाएर मासु बनाउनु पनि सिपालु । मुन्दुमी रिसिया धेरै नआए पनि उनलाई जुनसुकै शुभकार्यको रीतभातको तह थाहा थियो । कोही जान्ने मानिस नहुँदा बाधा फुकाउँथे ।

दाजुभाइ र मावली

भर्तीवालको वंशको दाजुभाइ साल्तेम्मा, कोटगैरा, जोरकाफल, मार्से, वाखिलादेखि गणेशटारसम्म छन् । तर, शुभकार्य वा अन्य कार्यमा हामी साल्तेम्माली एकसाथ खट्छौं । एक दिनको कुरा हो, हामी दिलबहादुर राई (टेकराजेम्पा) दाइकहाँ शूभकार्यको छलफलमा थियौं । त्यहाँको कार्जेपछि लगत्तै उनको नाति समृद्घ राईको छेवर हुँदै थियो । टेकराजेम्पा दाइको घरमा ठट्टा छलफल चलिरहँदा छापडाँडाको एक/दुई घर कोटगैरामा सदस्य बनेछन् । कि भर्तीवाल पनि सदस्य बन्ने ? ‘हैट् नबन्ने,’ उनले भने, ‘यो कार्जे सकेर मेरो नातिको छेवर साल्तेम्माको समूहले नै उतार्नुपर्छ । मैले खसी तयार गरेको छु । सबैलाई खसीकै मासु खुवाउने हो है ।’ भर्तीवाल साँच्चै साल्तेम्माको दाजुभाइसहित मावलीहरूसँग मज्जाले भिजेका र रमेका व्यक्ति थिए ।

घन्किरहने त्यो रेडियो

खै ! कहिलेबाट बज्यो त्यो रेडियो, मलाई मितिचाहिँ थाहा छैन । संवत् २०७० भदौमा पंक्तिकार काठमाडौंबाट घर फर्केदेखि रेडियो घन्केको निरन्तर सुन्दै आएको छु । हिजोआज त्यो रेडियो बज्छ कि बज्दैन ? थाहा छैन । कारण पंक्तिकारको बसाइ काठमाडौं सरेको छ । यो आलेख लेखिरहँदा पनि काठमाडौंमै छु । भर्तीवालको घरमा प्रत्येक बिहानको नेपाली बहस र नेपाली नेटवर्कबाट प्रसारित समाचार पंक्तिकारको घरबाटै प्रस्ट सुनिन्थ्यो ।

०७८ मंसिर १३ गते पंक्तिकारको कान्छो छोराको छेवर गरियो । त्यो छेवरका लागि सरुवा जाँड बनाउन माटोको घैला भर्तीवालकै घरबाट ल्याइएको थियो । गाउँघरमा सबैको शुभकार्यमा त्यो घैला चलाउने चलन छ । कार्जे सकिएपछि एकाबिहानै डोकोमा घैला बोकेर पंक्तिकार भर्तीवालको घर पुगे । उनले त्यतिबेला भनेका थिए, ‘होइन जेठा पछि ल्यायौको भए नि हुने ।’ अनि तिम्मा (बडिआमा)ले चिया पकाइन् । चिया पिउँदै गफ गरियो । गफैगफमा तिप्पा (भर्तीवाल)ले भने, ‘चाम्लिङ भाषामा रेडियोमा बोल्छौ रहेछ । साह्रै चित्त बुझ्छ । अनि राबुको चौसराम्पा पनि बोलेको सुने । चुरिढाँडमै गएर बोल्छौ ?’

पंक्तिकारले उत्तर दिए, ‘अँ तिप्पा ।’

‘म पनि हेर्न जानुपर्नेछ,’ उनले भने, ‘कस्तो रहेछ ?’

‘म कुनै कार्यक्रममा तपाईंलाई लैजान्छु,’ पंक्तिकारले भर्तीवाल तिप्पालाई आश्वासन दिए, ‘रेडियोमा बोलुम्ला अनि हेरुम्ला ।’

‘ल जेठा’ भन्दा उनको आँखामा आँसु टिलपिलाएको देखें ।

पंक्तिकार पुनः काठमाडौं ढुक्कै बस्न थाले । मैले त्यतिबेला गरेको वाचा पूरा गर्न सकिनँ । हिजोआज थकथक लागिरहेको छ ।

अन्त्यमा,

पञ्चसेर राई हक्की स्वाभावका थिए । राईलाई देखेपछि केटाकेटी डराउँथे । उनलाई कर्जीमर्जी मिलेको मासु मन पथ्र्यो । त्यसमध्ये पनि कलेजो असाध्यै मन पर्थ्यो । उनी रक्सी, ब्रान्डेड रक्सी र बियर पिउँथे । गाउँलेसँग धेर–थोर भनाभन पथ्र्यो । तर, कसैसँग पानी बाराबार थिएन । मनमा केही नराख्ने उनी बोलिहाल्थे । पंक्तिकारले पञ्चसेर राईका विविध पाटोमा संक्षिप्तमा लेख्ने जमर्को गरेका छन् । राईले समाजमा पुर्याएको उल्लेख्य योगदानबाट हामीले विविध कुरा सिक्नु नै छ । उनीबाट केही न सिकेछौं भने पञ्चसेर राईको सायाको सम्मान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्