संवत् २०६६ असोज २८ गते । खोटाङको साबिक बाहुनीडाँडा गाउँ विकास समितिमा पर्ने झाप्पा गाउँमा वाम्बुले मातृभाषाको एघारौं कवि गोष्ठी थियो । झाप्पा वाम्बुले समुदायको बाहुल्य भएको थलो हो । म उदयपुरको कटारीमा जन्में । हुकें । मैले सानैमा बुवाआमाबाट धेरैपटक झाप्पा दाम्लीको प्रसंग सुनेको थिएँ ।
हाम्रै गाउँ (कटारी)मै एकजना बस्थे । उनलाई सबैले झाप्पाली भनेर चिन्थे । उनको वास्तविक नामचाहिँ मलाई थाहा छैन । कान्तिपुर दैनिक संवाददाताका रूपमा एक वर्षअघि मात्रै ओखलढुंगा आएको थिएँ । वाम्बुले मातृभाषाको कवि गोष्ठीबारे सुनेको थिएँ । सहभागी हुने अवसर जुरेको थिएन । त्यसैले जसरी भए पनि झाप्पा पुगेर कवि गोष्ठी हेर्ने, सुन्ने इच्छा थियो ।
ओखलढुंगा आउजाउ गर्दा हिलेपानीदेखि पारिपट्टि डाँडामा झुप्प परेको सल्लेनी वन देखिन्थ्यो । त्यो डाँडा नै झाप्पा हो भन्ने सुन्दा कति आकर्षक ठाउँ होला भन्ने कल्पना गर्थें । झाप्पाडाँडा जाने बाटो थाहा थिएन । सोध्दाखेरी जयरामघाटबाट पारि गएर अलि तल झर्ने र त्यहाँबाट उकालो लाग्ने बाटो छ भन्ने थाहा भयो । अहिले सम्झन खोजे पनि धेरै कुरा बिर्सिइसकेछु । सोक्माटारबाट फुपाजू देवकुमार राईसँग जयरामघाट हुँदै झाप्पा पुगेजस्तो लाग्छ ।
झाप्पाडाँडा पुग्नुभन्दा केही तल खरको छानो भएको घुमाउने बस्ती देखें । अलि माथि पुगेर मैले त्यो बस्तीको तस्बिर लिएको थिएँ । पारिपट्टि ओखलढुंगा र लिब्जुडाँडा प्रस्टै देखिन्थ्यो । कोदाले बारीको पाटा हरिया देखिन्थे । मकैको ढोड राखेको माच पनि देखिन्थे ।
आफ्नै पारिश्रमिकले पहिलोपटक किनेको ओलम्पस डिजिटल क्यामेराले मैले यो तस्बिर खिचेको थिएँ । त्यतिखेर मलाई यो तस्बिर र त्यो बस्ती दुवै मन परेको थियो । हालैमात्र पुरानो हार्डडिस्क खोल्नेक्रममा यो तस्बिर देखें । अनि फेसबुकमा पोस्ट गरें । धेरैले मन पराइदिए । मलाई अरू जिज्ञासा केही थिएन । थिए त– यी र यस्ता परम्परागत बस्ती अझै उस्तै छन् कि बदलिए होलान् ।
मैले ११ वर्षअघि खिचेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा ‘पोस्ट’ गरेपछि बावुकाजी वाम्बुले राईले ०६७ मंसिरमा खिचेको थुम्काकै फोटो मलाई पठाइदिए । मैले खिचेको तस्बिरमा खरका छानोमात्रै देखिन्थे भने बावुकाजी दाइले खिचेको तस्बिरमा जस्तापाताले छाएको तीन घर प्रस्टै देखिन्छन् । मैले थुम्काको तस्बिर खिच्दा सडक खनिएको थिएन । दाइले खिचेको तस्बिरमा सडक विस्तार भएको देखें ।
केही वर्षअघि थुम्कामा सडक पुगेको वारि (ओखलढुंगा)बाटै देखेको छु । पहिलेजस्तो परम्परागत बस्ती र संरचना पक्कै रहेन होला भन्ने लाग्छ । अझ खरको छाना हटाउने अभियान देशैभरि चलेको छ । त्यसको असर त्यता पनि पर्यो कि । हुन त ११ वर्ष धेरै लामो अवधि होइन । तर, यस अवधिमा पनि धेरै परिवर्तन हुँदारहेछन् । दूधकोसीकिनारदेखि एक बिहान लगाएर टोपी खस्ने उकालो पैदल हिँडेर थुम्का हुँदै झाप्पा पुग्न हिजोआज कठिन छैन । भौतिक विकासले पार्ने सकारात्मक र नकारात्मक असर हुन्छ नै ।
हामीले पुराना तस्बिर सुरक्षित गर्न सके इतिहास बन्ने रहेछ । मैले ११ वर्षअघि तस्बिरमा कैद गरेको थुम्कामा परिवर्तन भए कि भएनन् थाहा छैन । तर, यो तस्बिर अबको २०/३० वर्षपछि अवश्य इतिहास बन्नेछ ।