तिमीहरू भृकुटी दिदीका छोराछोरी, हामी तिमीहरूका मामा


सधैंझैं बिहान उठेर लेखपढ गरें । कोठाको झ्यालबाट बाहिर चिहाएर हेर्दा सडक सुनसान थियो । सखारै ४ बजेदेखि ७ः१५ सम्मको समय लेखपढ, व्यायाम र सरसफाइमा बित्ने गरेका छन् । बिहान ७ः३० पछि भने तालिकाअनुसार पूर्वनिर्धारित कार्यक्रम हुन्छन् । बिहानको खाजा खाएर फर्किंदा केही समय अझै गोष्ठी सुरु हुन बाँकी भएकाले आँगनमा बस्न खोजेको थिएँ । त्यो त ‘धूमपान क्षेत्र’ पो रहेछ । त्यसपछि गोविन्द र म अलि पर गएर बस्यौं । सार्वजनिक स्थानमा धूमपान गरेको देखिएको छैन । हामी शैक्षिक क्षेत्रमा भएकाले पनि त्यस्तो भएको हुन सक्छ । त्रिभुवन विश्वविद्यालयका कारण हाम्रो कीर्तिपुर आसपासमा एकहदसम्म शिष्टता महसुस हुन्छ । फोहोर टिप्न सफाइ मजदुर साना वाहनमा भमराझैं घुमिरहेको देखिन्थे । सफाइ कर्मचारीको भावभंगीमा हेर्दा सुविधा पनि राम्रै होला भन्न सकिन्थ्यो । हामीले मुखौटो लगाएर हिँड्ने काठमाडौंका सडकका हाम्रा सफाइ कर्मचारी दूधेनानी बोकेर फोहोर सोहोरिरहेको पीडादायी दृश्य यतातिर देखिएको थिएन ।
विश्वको सञ्चार क्षेत्रमा पश्चिमी देशको एकाधिकार रहेको छ । हरेक देशको जनमत प्रभावित गरिएको छ । तर, चीनले आफ्नो देशमा त्यसलाई तोडेको छ । आर्थिक, कूटनीतिक प्रभावको विस्तारसँगै चीनले सञ्चार जगत्मा पश्चिमाको एकाधिकार तोड्न चाहेको देखिन्छ । आर्थिक, राजनीतिक, सामरिक र जनमतबीचमा एकत्व रहन्छ । एउटाले अर्को पक्षलाई प्रभाव पार्छन् । आजको गोष्ठीमा GAO GANG चिनियाँ पक्षका प्रस्तुतकर्ता थिए । उनी रेनमिन विश्वविद्यालय पत्रकारिता र सञ्चार विभागमा चिनियाँ कम्युनिस्ट पार्टी सचिव र प्रोफेसर पनि हुन् ।

गोष्ठी सकेर अपराह्न १२ः३० मा खाना खायौं । अपराह्न २ बजेबाट अर्को गोष्ठी थियो । दोस्रो गोष्ठी धेरै नै महत्वको होला भन्ने लागेको थियो । तिब्बती मामिलाका ज्ञाता विद्वान् MAO RUBAI र BI HUA दुई अतिथि वक्ता थिए । हामीलाई दिइएको कार्यतालिकामा यो गोष्ठी समावेश थिएन । त्यस विषयमा जिज्ञासा राख्दा किशोर श्रेष्ठले ‘संवेदनशील मामिला भएको हुनाले सार्वजनिक नगरिए पनि निर्धारित कार्यक्रम नै हो,’ भनेका थिए । कार्यक्रमको सञ्चालन ‘विकास र शान्तिका लागि चिनियाँ प्रतिष्ठान’ उपमहासचिव ची पिङले गरेको हुनाले कार्यक्रमको महत्व स्वतः बढी नै ठानिएको देखिन्थ्यो । गोलमेच शैलीमा गोष्ठी कक्ष तयार गरिएको थियो । सुरुमै ची पिङले ‘तपाईंहरू जिज्ञासा राख्नुस् हामी आफ्नो धारणा राख्नेछौं । आज हामीले बोल्ने सोचेका छैनौं,’ भनेका थिए । विभिन्न विषयमा छलफल भए ।

नेपाली टोलीको मुख्य सरोकार नेपाल–चीन–भारत रेलमार्ग थियो । भारतमा अंग्रेज आउनुअगाडि कोलकाता–पाटलीपुत्र–काठमाडौं हुँदै ल्हासा व्यापारिक मार्ग थियो । सिक्किम ब्रिटेनको अधिनस्त भएपछि उसले नेपाललाई घेरा कस्न सिक्किम, नाथुला, सिगात्से हुँदै ल्हासा नयाँ नाका प्रचलनमा ल्याएको थियो । चीनले त्यही नाका हुँदै रेलमार्ग विस्तार गर्दै छ । चिनियाँ रेलमार्ग सिगात्से पुग्दै छ । भारतले तेस्रो मुलुक भएर चीनसँग व्यापार गर्न नचाहने र चीनले भारतको विशाल बजार गुमाउन नचाहने परिस्थिति छ । चीन र भारत नजिक भए पनि टाढा भए पनि दुवै अवस्था नेपाललाई समस्यामूलक नै देखिन्छ । सिगात्सेबाट केरुङ् हुँदै रसुवागढी नाका जोड्नुपर्यो भन्ने जोड नेपाली टोलीको हुन्थ्यो । सिक्किमको नाथुलानाका केरुङ–टिमुरे नाकाभन्दा १ हजार मिटर उचाइमा पर्ने भएका कारण चीनले केरुङ नाका नै उपयुक्त ठानेको चर्चा पनि भइरहेको छ । तर, त्यस विषयमा चीन सरकारको औपचारिक धारणा आएको छैन । त्यसै त चिनियाँ अझ केन्द्रीय सरकारको विषय आजका माओ बूढाले बोल्न सक्ने विषय थिएन । तिब्बतको नीति निर्माण, सांस्कृतिक स्वतन्त्रता र विकास निर्माणमा तिब्बतीले नै नेतृत्व गरिरहेको चिनियाँ अधिकारीहरू बताउँछन् । तिब्बत सरकारको प्रमुख र केन्द्र सरकारको दोस्रो तहको नेतृत्वसम्म तिब्बती पुगेको हुनाले पश्चिमी देशको तिब्बतका सन्दर्भको धारणा गलत भएको उनीहरूको धारणा थियो ।

साँझ ६ बजे लबीमा जम्मा भएर खान गयौं । आजको साँझ सधैंको जस्तो रमाइलो थिएन । हामी भोलि एक हप्ताको बसाइपछि बेइजिङ छाडेर उत्तर सुचाउ जाँदै थियौं । यहाँको माटोसँग यो एक हप्ताको बसाइले आफन्तीपना अनूभूति भइरहेको थियो । बिदाइको क्षण नजिकँदै गर्दा नरमाइलो अनुभूति हुने नै भयो ।

अनिल शर्मा विरही

एक हप्तासम्म हाम्रो सहयोगमा अहोरात्र खटेका चिनियाँ साथीहरूमध्ये पाई ची हामीसँग जाने छैनन् । पातली, गोरी, कालो कपाल भएकी पाई ची अंग्रेजी बुझ्दिनन् । तर, हाम्रा सबै भाव बुझ्थी । उसको बारेमा एकजना साथी भन्दै थिए, ‘सारी, चोली लगाउने हो भने यो केटी नेपाली बुहारीजस्तै देखिन्छे ।’ मलाई भने ऊ ठूलो स्याफ्रुकी छोरीजस्तो लाग्थ्यो । कहिले टेबलमा पानी भए/नभएको हेर्थी । होटलका कर्मचारी र हाम्राबीचमा मध्यस्थता गर्थी । कहिले फोटो खिच्न व्यस्त हुन्थी । खानेकुराका भारी उसकै हातमा हुन्थे । अबोध बच्चाका जस्ता निश्चल उसका आँखा हाम्रो टोलीको सेवामा तल्लीन हुन्थे । उसको अनुहारमा सधैं पूर्णचन्द्र देखिन्थ्यो । तर, आज ऊ अँध्यारिएकी थिई । खाना खाइसकेपछि उसले सबैलाई अँगालो हालेर बिदा मागी । त्यति सन्चो नभएकाले साथीहरूको खानपान चलिरहेका बेला म भने कोठातिर हिँडेको थिएँ । भोलिको खानाको ‘अर्डर’ नगरिएको हुनाले होटलका कर्मचारीले पनि हामी जाँदै छौं भन्ने बुझेका होलान् । उनीहरूले झुकेर ‘निहाउ सर’ भन्दै बिदा गरे । उनीहरू र हाम्राबीचमा भाषाको पर्खाल भए पनि प्यारा–प्यारा लाग्दै थिए । हामी एक हप्तामै बेङजिङको मायाले लछप्पै भिजेका रहेछौं ।

भोलि बिहानै बेइजिङ छाड्नुपर्ने भएको हुनाले म झोला मिलाउँदै थिएँ । किशोर सरले मलाई लबीमा बोलाएकाले त्यतातिर गएँ । त्यहाँ पाई ची र नेपाली साथीहरू रहेछन् । ऊ होटलमै रोएकी थिई । एउटा प्रसंगमा निर्मलाले ‘मैले रुन जानेकै छैन’ भनेकी थिइन् । तर आज साथीहरू भन्दै थिए, ‘पाई चीलाई अँगालो मारेर निर्मला रेष्टुरेन्टमै क्वाँ–क्वाँ रोएकी थिइन् रे । स्वेच्छा भन्दै थिइन्, ‘निर्मला दिदी रोएको सुनेर वरपरका मानिससमेत दंग परेका थिए ।’ आँखामा भारी बोकेर पाई ची लबीमा उभिइरहेकी थिई । किशोर श्रेष्ठले परम्परागत नेपाली पोसाक उपहार दिँदा झन् भावुक बनी । उसले टुटेफुटेको अंग्रेजीमा ‘वेलकम चाइना’ भनी र झन् धेरै भक्कानिई । बिदाइका हात हल्लाउँदै ऊ हामीबाट बिदाइ भई । भाषासम्म नजान्ने दुई देशका नागरिकको त्यो प्रगाढता देखेर लबीका चिनियाँ युवती दंग पर्दै थिए । बाहिर आकाश रोइरहेको थियो ।

बच्चाजस्तो लाग्ने पाई चीले आज होटलमा जीवनसाथी र सानो बच्चाको फोटो देखाएकी थिई । पारिवारिक कुरा हुँदा बच्चा सानो भएकाले घर जान हतार गरेको थाहा हुन्थ्यो । सबैलाई नरमाइलो बनाएर पाई ची बिदा भई । लबीका महिलालाई हाम्रा सबै साथीलाई बिहान ४ः३० मा उठाइदिनू भनेपछि उनीहरूले शिर झुकाएर ‘ओके सर, वि नो’ भने । हामी कोठातिर लाग्यौं । म्याग्नेटिक चिर्कटोले स्वचालित भर्याङ थिचेर जाँदै गर्दा श्रेष्ठले ‘त्यो उपहार सांघाईका लागि ल्याएको थिएँ । पाई ची रोएको देखेर गाह्रो पर्यो । त्यसैले उसलाई दिउँजस्तो लाग्यो,’ भनेका थिए । मलाई लबीमा बोलाउनुको अर्थ बुझिसकिएको थियो ।

नेपाल र तिब्बतका सीमाक्षेत्रमा अहिले पनि वारिपारि बिहेवारी चलिरहेको छ । भाषाको समागम छ । भृकुटीको प्रसंग निकाल्दै किशोर श्रेष्ठले हिजो भनेका थिए, ‘भृकुटी हाम्री दिदी हुन् । तिमीहरू हाम्री भृकुटी दिदीका छोराछोरी हौ । हामी तिमीहरूका मामा हौं । तिमीहरू हाम्रा प्यारा भान्जाभान्जी हौ ।’ त्यसो भन्दा फूलमायाले खुसी हुँदै ‘धन्यवाद मामा हामी भान्जीहरूको तर्फबाट,’ भनेकी थिइन् । फिनिक्सले त्यो कुरा चिनियाँ भाषामा बेलिविस्तार लगाएपछि क. छिङ र पाई ची औधी खुसी भएका थिए । आज पाई ची भान्जीजस्तै प्रिय लागिरहेको थियो । नेपाली समाजमा भान्जाभान्जी पुजनीय छन् । उखानै छ– आमा कि मामा ! अझ पश्चिम नेपालमा अझ बढी मनितो हुन्छ । म चितवनमै जन्मे–हुर्के पनि मेरो नशामा गुल्मीको रगत बगिरहेको जस्तो लाग्छ । त्यसैले होला सानो छँदा गाउँपाखामा गाउने लोकगीत सम्झें–

“अनदीको खाजा मीठो अमिलो तामाले
नरोऊ भान्जी लिन आउँला भन्थे मामाले”

तर, हामी नेपाली मामाहरू त बेइजिङका भान्जाभान्जीको सदासयतामा बेइजिङ पुगेका थियौं । भोलि उत्तर सुचाउ जानका लागि झोलीतुम्बा ठीक पारें । मन थकित–थकित भएको थियो ।

रेनमिन विश्वविद्यालय, बेइजिङ

२०७१ असार १/२०१४ जुन १५

प्रतिक्रिया दिनुहोस्