त्यो दिन सम्झँदा सपनाबाट व्युँझेजस्तो लाग्छ । तविन राई ‘ज्वाला’ गतिशील थिए । उमेरले पंक्तिकारभन्दा तीन वर्ष कान्छो । ज्वालाको आपा लालसुन्दर राई राटमाटे आधारभूत विद्यालय दुर्छिमका प्रधानध्यापक । दुई आमा । जेठी आमा अन्जना राई । धनकुमारी राईतर्फका जेठो सन्तान हुन्– कमरेड ज्वाला ।
जनमुक्ति सेनाको भूमिका निर्वाह गर्ने तीव्र इच्छा । शारीरिक बनावट लोभलाग्दो । युद्धमा सहभागी भएर वर्गीय दुस्मन पराजित गर्ने सगर्व बताउँथे । पंक्तिकारभन्दा महिना दिनपहिले जनयुद्धका ‘होलटाइमर’ बने । नौ महिना सहकार्य गरियो । हामी टंक तामाङ ‘मदन’, जीवन राई ‘संगीन’ र चइन्द्र राई ‘आक्रोश’को संरक्षकत्वमा क्रियाशील थियौं । उमेरका हिसाबले म सानो । मभन्दा ज्वाला झन् सानो । सानै भएकाले उनलाई घर फर्काउन लाख बिन्ती गर्यौं । उनको जिद्दीका अघि हामीले घुँडा टेक्नुपर्यो । कमरेड मदनको भनाइ थियो, ‘ज्वालाजी असाध्यै जिद्दीवाल ।’
हुर्केको छोरोले लेखपढ गरिदेओस् भन्ने बुवाआमाका रहर हुनु स्वाभाविकै हो । बुवा लालसुन्दर राईले कमरेड ज्वालाई तिमी जनयुद्धमा नजाऊ भन्थे । यसैगरी छोरालाई धेरैपटक सम्झाए । बुवाले घर फर्केर अध्ययनलाई निरन्तरता दिनू भन्थे । बेलायती सेनामा भर्नाका लागि प्रयास गर्न आग्रह गर्थे । स्थायी शिक्षकको छोरालाई घरमा अभाव र असुविधा थिएन ।
शिक्षक लालसुन्दर राई पनि वामपन्थी आन्दोलनसँग निकट थिए । यसर्थ ज्वालाको घरपरिवार वामपन्थीमय थियो । घरपरिवारले अनेकौं प्रयत्न गर्दा पनि तविन ‘ज्वाला’ नै बन्ने प्रक्रियामा लागे । जनयुद्धलाई धोका दिएर घर नफर्कने अठोट गरे ।
घरदेखि हिँडेपछि हामीलाई पार्टीले राजनीतिक काममा कहिले पूर्व त कहिले पश्चिमतिर खटाउँथ्यो । हामी असाध्यै खट्थ्यौं । कहिले जनमिलिसियाको तालिममा जुट्थ्यौं । कहिले एरियास्तरको पार्टी प्रशिक्षणमा व्यस्त हुन्थ्यौं । कहिले मुद्दा–मामिला मिलाउँथ्यौं । कहिले विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीसँग छलफलमा बस्थ्यौं । बाटोघाटो, चौतारोमा भेटिँदासमेत जनता र माओवादीबीचको विचारबारे बहस चलाउँथ्यौं ।
माओले भन्थे, ‘जनताबाट सिक्ने र फेरि जनतालाई सिकाउने कुरा जनताका विश्वविद्यालयमा भर्ती हुनु हो ।’ हामी जनताबाट सिक्थ्यौं । सिकेको कुरा फेरि जनतालाई बाँड्थ्यौं । हाम्रो माक्र्सवादी अध्ययन, व्यवहार र अभ्यास त्यसरी चलेको थियो ।
ज्वालाजी आफूसँग भएको ज्ञानगुनका कुरा बाँड्न रुचाउँथे । त्यत्तिकै मिलनसार । कराते सिकेका थिए । हार्माेनियम र गिटार पनि बजाउँथे । कविता लेख्थे । किताब र पत्रपत्रिका खोजीखोजी पढ्थे । गहन छलफल र बहसमा सहभागी हुन्थे । एकपटक सैन्य तालिम लिएपछि अर्कोपटक लिन पर्दैनथ्यो । तसर्थ, कुशल योद्धा बन्ने सम्भावना त्यत्तिकै बलियो थियो ।
हामी त्यसबखत सावाकटहरेमा थियौं । त्यतिबेला जिल्ला पार्टीमा एक टुकडी जनमिलिसिया अर्धसैन्य संरचना सैन्य फोर्स अनिवार्य बस्थ्यो । त्यो फोर्स जिल्ला इन्चार्ज वा जिल्ला पार्टीले मात्र परिचालन गथ्र्यो । यहाँबाटै छनोट भएर जनमुक्ति सेनाको ‘फर्मेसन’मा जाने वा पार्टीले पठाउने गर्थ्यो । त्यतिबेला विकास तामाङ ‘आक्रोश’ जनमिलिसियाको जिल्ला कमान्डर थिए । उनको कमान्डमा कहिले ११ त कहिले ३५ र कहिलेकाहीं ४५ जनासम्मको समूह जिल्ला कार्यालयसँग समन्वयमा रहेर कार्यालयीय कामको जिम्मेवारी पूरा गर्नुपर्थ्यो ।
ज्वालाजीलाई एरिया पार्टीले केही समय एरियामै राखेर राजनीतिक नेता बनाएर स्थापित गर्ने सोचमा पार्टी संगठन लागेको थियोे । तर, उनी भने यसपटक कसैको कुरा सुन्ने पक्षमा थिएनन् । ‘सोनामजी अध्यक्ष प्रचण्डले जिल्लामा एरियामा बस्नु भने पनि म एरिया वा जिल्लामा बस्दिनँ,’ ज्वालाले पंक्तिकारलाई भनेका थिए, ‘जनमिलिसिया या जनमुक्ति सेनामा नपठाए विद्रोह गरेरै भए पनि म सेनामै जाने हो ।’ जनमिलिसिया हुँदै जनमुक्ति सेनामा जाने पद्धति भएकाले पार्टी प्रणालीबाटै जनसेनामा जाने उनको विचार थियो । उनले एरिया वा पार्टी संगठनको बैठकमा जनसेना बन्ने इच्छा व्यक्त गरिरहन्थे । ‘मैले जनमुक्ति सेनामा काम गर्ने हो,’ उनले दोहोर्याइरहन्थे, ‘यो सानो भूगोलमा बसेर फौजी ज्ञानको विकास हुँदैन ।’ उनको इच्छाशक्ति सकारात्मक थियो ।
उमेर र शारीरिक बनावटले परिपक्व नभएकाले उनलाई पार्टीले जनसेनामा भर्ती गराउन चाहेको थिएन । तर, स्वस्फुर्त विचारमा मानिस दृढ भयो भने कसैको केही लाग्दोरहेनछ । उनले पुष्टि गरेरै छाडे । जिल्ला पार्टीको बैठक बडकादियालेका अम्बिका लम्सालको घरमा बस्दै थियोे । नेताहरू त्यहाँबाट सर्नुपर्ने भयो । दिउँसो तीन बजेपछि हामीले सावाकटहरेको माध्यमिक विद्यालयको पश्चिमपट्टिको एक गाउँमा सेल्टर लियौं । हाम्रो एरिया पार्टी विद्यार्थी संगठन र जनमिलिसियाको समूह एकाघरमा नजिक–नजिक थियौं । ज्वालाजी त्यही दिनबाट
जनमिलिसियामा सामेल हुन पार्टीबाट निर्देशन आयो । जिल्ला जनमिलिसियाले जिल्ला जनसरकारको रक्षासम्बन्धी काममा खटिनुपर्ने रहेछ भन्ने कुरा पंक्तिकारले त्यहाँबाटै चाल पाए ।
जिल्ला जनसरकार खोटाङ प्रमुख रत्नकुमार राई ‘दर्शन’ थिए । दर्शनसँगको पहिलो भेट त्यहीं भयो । त्यसबेला जनमिलिसियालाई सामान्य हतियार प्रदान गरिन्थ्योे । हाम्रो जनमिलिसियाले दुईवटा टुबेलबोर बन्दुक र केही थान भरुवा बन्दुक बोकेर पार्टी बैठकलाई सुरक्षामा दिन्थ्यो । साँझ पर्न आँटेको थियोे । हामीले धान ल्याइसकेका थियौं । धान ढिकीमा कुट्नुपर्ने भएकाले केही कमरेड त्यता जुटे । आँगनमा ज्वाला र अर्जुन खड्का ‘झंकार’ (साकेला गाउँपालिका पूर्वअध्यक्ष)बीच फौजी तालिमबारे घमासान ‘फाइट’ पर्यो । झंकार पनि हार्न नचाहने । ज्वाला सानै भए पनि ‘फाइट एट्याक’ गर्न कहिल्यै पछि नहट्ने । जोसँग पनि भिडिहाल्ने । ज्वाला र झंकार ‘फाइट’ गर्न थाले ।
सांगठानिक हिसाबले झंकार र पंक्तिकार एउटै संगठन अनेरास्ववियु क्रान्तिकारीमा थियौं । ज्वालाको टुबेलबोर बन्दुक मैले बोकेर सामान्यतः दुस्मनलाई कसरी कुन–कुन ‘पोजिसन’ले गोली प्रहार गरिन्छ ? भनेर सिक्दै थिएँ । तालिममा सिके पनि बन्दुक समात्न पाएको थिएन । म पनि सोही आँगनमा फौजी अभ्यासमा व्यस्त थिएँ । मेरो ‘पोजिसन’सँगै हातका औंलाले टुबेलबोर ‘लक अन’ गरेछु । ‘लक अन’ कसरी गरिन्छ थाहा थिएन । झंकार र ज्वालाजी जोशिँदै लखेटालखेट गर्दै थिए । मैले ताकेको बन्दुकको नोजल झंकारको छातीमा परेछ । मेरो चोरऔंलाले बन्दुकको ट्रिगर तानेछ । लगत्तै बन्दुक ठ्याँस गर्यो । म त झसंग भएँ । डरलाग्दो सपनाबाट व्युँझेजस्तै लाग्यो । तर, गोली बाहिर निस्केन ।
जनयुद्धताका सधैं एकसाथ रहन सम्भव थिएन । भेटघाट पातलियो । लालबन्दी, मिर्चैया, लहान र बन्दीपुरमा एकसाथ माओवादीले आक्रमण गरेको समाचार सुनियो । त्यस आक्रमणमध्ये तविन राई ‘ज्वाला’ सिरहाको बन्दीपुरमा सहभागी थिए । उनी सोही आक्रमणमा ‘सेक्सन कमान्डर’का रूपमा सहादत भएको दुःखद खबर सुनियो । यो संवत् २०६२ वैशाख २६ गतेको कुरा हो । उनको जन्म ०४७ असार १९ गते भएको थियो । उनी र उनीजस्ता सहिदको अग्लवो मृत्युवरणले मुलुकमा संघीयता, समावेशी, समानुपातिक प्रणाली र धर्मनिरपेक्षता आएको हो ।
तविन राई ‘ज्वाला’को सम्झना र सम्मानमा दमक–७ सुधारटोल झापामा तविन चोक नामकरण गरिएको छ । उनको जन्म हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम रातमाटेमा भएको थियो । तविन राईले पंक्तिकारलाई मेरो स्कुलको नाम सुरेन्द्र राई हो भनेका थिए ।