‘रिजल्ट ओरियन्टेड’ मेयर



‘१५ वर्षपछि हलेसी तुवाचुङ नगरपालिका मुलुककै शक्तिशाली बन्नेछ,’ हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईको दाबी छ, ‘१५ वर्षपछि हलेसी तुवाचुङ नगरपालिकाले कसैसँग हात थाप्नुपर्दैन । त्यो अवस्थामा पुर्याउन आजैदेखि काम थालेका छौं ।’

बिमला राई हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा निर्वाचित भएको वर्ष दिन भयो । राई संवत् २०७९ वैशाख ३० गते हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा निर्वाचित भएकी थिइन् । नगरले वर्ष दिनमा गरेको काम सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण भएकै छन् । तर, मेयरको जीवनशैलीबारे भने नगरवासीलाई थाहा नहुन पनि सक्छ । धेरैलाई मेयरको थाहा नभएको पाटो जानकारी गराउने प्रयत्न गरिएको छ ।

ढिँडो खाँदा अघाउँदिनँ

बाल्यकालमा चामलको भात रोजाइमा पथ्र्यो । त्यतिबेला सधैंजसो मकैको भात खानुपथ्र्यो । पाहुना आउँदा चामलको भात पाक्थ्यो । पाहुना आउँदा चामलको भात खान पाइन्छ भनेर असाध्यै खुसी लाग्थ्यो । हिजोआज मकैको भात र ढिँडोको महत्व बुझियो । तसर्थ, सबै खानेकुरा मन पर्छ । त्यसमध्ये अर्गानिक र ‘टिपिकल’ खानेकुरा खान पाए हुन्थ्यो भन्ने लाग्छ ।

ढिँडो खाँदा अघाएजस्तो लाग्दैन । त्योसँगै अरू केही न केही खानैपर्छ । खानकै लागि होटल तथा रेष्टुरेन्ट पुग्दिनँ । मलाई पाककलाबारे त्यति ज्ञान छैन । विविध कामले होटल तथा रेष्टुरेन्ट पुगिहाल्दा त्यस दिनको ‘स्पेसल’ के छ भनेर सोध्छु । त्यहीअनुसार माग गर्छु ।

सारी किन्न जोगबनी

विशेषतः सारी लगाउन मन पर्छ । त्योबाहेक कुर्तासुरुवाल, पाइन्ट लगाउँछु । ‘ब्रान्ड’मोह छैन । तर, हेर्दा आँखा लाग्यो भने किनिहाल्छु । रातो र पहेंलो रङका कपडा कमै लगाउँछु । कपडा ‘रेडिमेड’ प्रयोग गर्छु । कपडा किन्ने एउटै ठाउँ छैन । कामविशेषले विराटनगर पुगें भने जोगबनीसम्म पुगेर सारी र कुर्ता किन्छु । त्यहाँ सस्तो पनि पर्छ । जनप्रतिनिधि हुनुअघि सिभिल मल, काठमान्डु मल, सिटी सेन्टर, लबिम मल पुगिरहन्थें । हिजोआज छैन ।

मर्निङवाक कहिलेकाहीं

फिटनेससम्बन्धी नियमित तालिका छैन । तर, शारीरिक व्यायाम गर्न मन लाग्छ । एकताका डाइटिङ गर्थें । हिजोआज गर्दिनँ । उपमेयर हुँदा १५/२० दिन योगा गरें । कहिलेकाहीं मर्निङवाक निस्कन्छु ।

पढ्न मन लागेका किताब संकलन

समय अलि ‘टाइट’ छ । स्थानीय सरकार सञ्चालन ऐन, संविधान, कानुनमा बाँधिएर काम गर्नुपर्ने भएकाले त्यही अध्ययन गर्छु । नगरका प्रशासनिक कामका लागि यो अति आवश्यक छ ।

एकताका कर्ण शाक्यलगायतका किताब पढेकी थिएँ । हिजो पढाइ कम भएको छ । पढ्न मन लागेका किताब संकलन गरेकी छु । समय मिलाएर पढ्नेछु ।

भ्रमणले आनन्दसँगै ज्ञान दिने

घुमफिरमा रुचि छ । वर्षमा दुईपटक नेपालकै विभिन्न ठाउँ पुग्नैपर्छ भन्ने योजना बनाएकी छु । जता पुगे पनि नेपाल सुन्दर र प्रिय लाग्छ । भ्रमणले आनन्दमात्रै होइन, ज्ञान पनि दिन्छ । योजना बनाउन सघाउ पुर्याउँछ । लालीगुराँस नगरपालिका तेह्रथुममा निर्मित चोःलुङ पार्क २०८० वैशाख २९ गते पुगें ।

साथीहरूले राराताल घुम्न बोलाएको थुप्रै भयो । सुदूरपश्चिमका तीन जिल्ला टेकेकी छु । पूर्वका सबै जिल्ला पुगेकी छु । साथीहरूले ‘डेभलपमेन्ट ट्रेन्ड’ हेर्न विदेश घुम्नुपर्छ भन्छन् । यस भनाइप्रति मेरो आफ्नै मान्यता छ– विकासका ढाँचा हेर्न विदेश गए पनि फर्केपछि त्यस्तै बनाउन सकिँदैन । बनाउन आवश्यक पनि छैन । बनाउन चाहँदा हाम्रो वशमा हुँदैन । विकासका ढाँचा हेर्न विदेश जानैपर्छ भन्ने लोभ पनि छैन ।

यसर्थ घरपरिवारमाथि अन्याय

भनिन्छ, ‘फुर्सद कहिल्यै हुँदैन ।’ तर, निकाल्नुपर्छ । होजस्तो पनि लाग्छ । जनप्रतिनिधि भएकाले समय व्यवस्थापन गर्न त्यति सजिलो छैन । तर, प्रयास गरेकी छु । कोठामा यत्तिकै बसेर म फुर्सदिलो छु भन्न सक्दिनँ । यो मेरो ‘नेचर’ नै हो । यदि मसँग अलिकति समय छ भने पुग्नैपर्ने ठाउँमा निस्किहाल्छु ।

जनप्रतिनिधि नहुँदा पनि अधिकांश समय घरबाहिरै रहनुपर्ने बाध्यता थियो । जनप्रतिनिधि भएपछि जिम्मेवारी झन् बढेको छ । मेरो परिवारले मसँग समय मागेका छैनन् । यस अर्थमा मैले घरपरिवारमाथि अन्याय गरेकी छु । अधिकांशले आफू बन्ने र परिवार बनाउने लोभ गर्छन् । तर, मैले परिवारलाई समय दिन सकेको छैन । परिवारसँग घुम्न, खान र फिल्म हेर्न जाने समय कहिल्यै निकाल्न सकिनँ । बिहे गर्नअघि श्रीमान्सँग फिल्म हेरेको थिएँ । नामचाहिँ बिर्सें । हामी (आमा, बुवा र छोरा)ले एकपटक होटलमा सँगै खाजा खाएका थियौं ।

भलिबल खेल्न अझै रहर

म विद्यालय तहदेखि स्नातक तह प्रथम वर्ष अध्ययन गर्दासम्म भलिबल खेलें । हिजोआज पनि भलिबल खेल्न मन लाग्छ ।

छैन मोबाइल किन्न परेको

सामसुङ मोबाइल प्रयोग गर्दै आएकी छु । सुरु–सुरुमा सामान्यखालका मोबाइल प्रयोग गरें । सामान्यखालका मोबाइल टुट्ने, फुट्ने हराउने भइरहन्थ्यो । त्यसपछि २५ हजार रुपैयाँमा सामसुङ जे सेभेन मोबाइल किनेकी थिएँ । उपहारस्वरूप पाएपछि पछिल्लो समय मोबाइल किन्न परेको छैन । सामसुङभन्दा अर्को मोबाइल सेट बोकेकी छैन । मोबाइलको एप्लिकेसनमध्ये फेसबुक, भाइबर, ह्वाट्सएपलगायत प्रयोग गर्छु । मोबाइलमा गेम खेल्ने बानी छैन ।

थुप्रै भयो टीभी नहेरेको

टीभी हेर्न छाडेको थुप्रै भयो । तर, कोठामै हुँदा बेलुका आठ बजेको समाचार रुचिपूर्वक हेर्छु ।

अहिलेसम्म हेरेको चलचित्र तीन

चलचित्र नहेरेको वर्षौं भयो । अहिलेसम्म तीन चलचित्र हेरेकी छु । तर, नामचाहिँ बिर्सें ।

स्वास्थ्यलाई हानि गर्ने खानपानदेखि टाढा

 

च्यास्मिटारका पूर्वप्रधानपञ्च बुवा दानबहादुर राईसँग मेयर बिमला राई ।

म स्वास्थ्य शिक्षाकै विद्यार्थी हुँ । सामान्यतः मानिस शारीरिक, मानसिक र सामाजिक रूपमा स्वस्थ हुनुपर्छ भनिन्छ । अहिलेसम्म सामाजिक र मानसिक रूपमा स्वस्थ छु । मेरो धेरैपटक शल्यक्रिया गर्नुपर्यो । तर, शारीरिक रूपमा पनि तन्दुरुस्त छु भन्ने विश्वास छ । अहिलेसम्म दीर्घरोगले समातेको छैन । स्वस्थ रहने काइदा भनेको खानपान नै हो । स्वस्थ रहने ध्याउन्नमा खानकुरा खोजिहिँड्ने गर्दिनँ । गाउँघरमै जन्मेको मैले, गाउँघरमै सेवा गर्ने मौका पाएकीले स्वस्थ खानेकुरा खान पाएकी छु । स्वास्थ्यलाई हानि गर्ने खानपानदेखि टाढै छु । त्यतिमात्रै होइन, म सधैं सकारात्मक सोच्छु । जसले स्वस्थ रहन सघाउँछ ।

मञ्चले सपारेकोमा सन्तुष्ट

जनप्रतिनिधि भएकाले भाषण गरिरहनुपर्छ । मञ्चले मानिसलाई कि सपार्छ कि बिगार्छ भन्ने सुनेकी थिएँ । तर, भाषण भनेकै मञ्चमा गर्नुपर्छ । सुरु–सुरुमा मलाई तथ्यांकमा आधारित रहेर भाषण गर्न सुझाइन्थ्यो । मैले आत्मसात् गरें । भाषण गर्दा आफूले भन्न खोजेको विषयवस्तु प्रस्ट पार्ने प्रयत्न गरेकै हुन्छु । मलाई थाहा भएसम्म भाषण गर्दा थेगो प्रयोग गरेको छैन । राजनीतिक नेताले विषयवस्तुअनुसार भाषण गर्ने प्रकृतिमा भर पर्छ । भाषण गरेकै आधारमा अहिलेसम्म विवादमा तानिएकी छैन । भाषण गर्नअघि तयारी गर्ने बानी छैन ।

मादक पदार्थको स्वादबारे जानकार

संवत् २०६७ सालमा परिवारका सबै–सबैसँग भेटघाट भयो । त्यतिबेला पिएको सम्झना छ । त्यसपछि मादक पदार्थ खाएको छैन ।

गीत सुनेरै सशक्त

गीत–संगीत सुन्छु । सबै गीत–संगीत उत्तिकै मन पर्छ । गायिका कुन्ती मोक्तानको ‘म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर’ गीत सदावहार लाग्छ । ‘पब्लिक’को सेवा गरेर मैले ‘करिअर’ बनाउँदै छु । यो समय सदुपयोग गर्नेक्रममा कतिपय अवस्थामा अवरोध आउँदा उल्लिखित गीत सम्झन्छु । त्यो गीत सुनेर आफूलाई सशक्त बनाउन सघाउ पुग्छ ।

‘रिजल्ट ओरियन्टेड’ मेयर

मानिसले जान–अञ्जानमा गल्ती गर्नु अस्वाभाविक होइन । गल्तीका प्रकृति हुन्छन् । आजसम्म सजाय पाउनेगरी गल्ती गरेको छैन । बाल्यकालमा गरेको एउटा गल्ती हिजोआज पनि सम्झिरहेकी छु ।
हाम्रो खेती धेरै । परिवार पनि ठूलै । आमा खेतमा जानुभएको थियो । म भाइबहिनीसँग घरमै थिएँ । आँगन पनि त्यत्तिकै ठूलो थियो । पानी परेको थियो । भाइलाई पिठ्यूँमा बोकेर खेल्नेक्रममा लडें । म लड्दा पलाउँदै गरेको भाइको दाँत भाँच्चियो । लामो समय भाइको दाँत पलाएन । परिवारलाई सुनाइनँ । घटना घटेको आठ वर्षपछि वास्तविकता सुनाएँ ।

घरदेखि विद्यालय पुग्न टाढा थियो । त्यसमाथि केटाकेटीपन । घरबाट हिँडेपछि बाटामै लुकामारी खेल्दा, वर–पीपल टिपेर खाँदा विद्यालय पुग्न ढिला हुन्थ्यो । त्यस्तो बेला विद्यालय नगई बाटामै खेल्थ्यौं । अब बिदा हुने समय भयो भनेर अनुमान गरेर बाटैबाट घर फर्कन्थें ।

म ‘रिजल्ट ओरियन्टेड’ मानिस हुँ । त्यो सबैबाट सधैं पाइँदैन । जतिसक्दो धेरै ‘रिजल्ट’ खोज्छु । त्यो समूहबाटै सम्भव छ । ‘टार्गेट’ पूरा नहुँदा स्टाफसँग वास्तविकता बुझ्छु । त्यसले उनीहरूलाई ‘पिन्च’ पर्यो कि भन्ने लाग्छ । त्यस्तोबेला आत्मालोचना गर्छु ।

सामूहिक लगानीमा दिक्तेलको घर

खोटाङ सदरमुकाम दिक्तेलमा रहेको मेरो घर १० वर्षअघि बनाएकी हुँ । घडेरी सासूससुराको कमाइ हो । घर बनाउँदा श्रीमान्, मेरो र माइला दाइको कमाइ परेको छ । श्रीमान् प्राविधिक । घर बनाउँदा लाग्ने काठपात सित्तैमा सहयोगस्वरूप पाएकी हुँ । मेरो बुवाका साथी सीताराम राईबाट काठपातका लागि सहयोग पाएँ । काँग्रेसकै दाइ राजन राईले काठका लागि एक रुख दिनुभयो । काठका लागि एक पैसा खर्च भएन । त्यतिबेला सडक विस्तार नभएकाले ढुंगा, गिटी, बालुवाचाहिँ बोकाउनुपर्यो । घर ढुंगा र सिमेन्टले बनेको छ । घर बनाउँदा वास्तुशास्त्र हेराइनँ ।

हेराउँदिनँ ग्रहदशा 

मेरो राशी वृष हो । ग्रहदशा हेराउँदिनँ । ग्रहशान्ति पनि गराएको सम्झना छैन । मेरो माइती (च्यास्मिटार)मा भने सालिन्दा ब्राह्मण पढाइन्छ ।

‘लाइट कलर’ गर्ने रहर

एकताका कपालमा ‘लाइट कलर’ लगाउँथें । हिजोआज पनि लगाउन मन लाग्छ । तर, लगाएको छैन । एकताका क्लिन्जिङ गर्थें । लोटस नामक सन्सक्रिम नियमित प्रयोग गर्छु । उपहारस्वरूप पाएको पफ्र्युम प्रयोग गर्दै आएकी छु । हुँदा लगाउँछु । नहुँदा चित्त बुझाउँछु ।

ठाउँका ठाउँ च्यातिदिएको त्यो प्रेमपत्र

मैले प्रेम बिहे गरेकी हुँ । श्रीमान् र म सँगै काम गथ्र्यौं । उहाँ प्राविधिकतर्फ प्रमुख हुनुहुन्थ्यो । मचाहिँ सामाजिक क्षेत्रको कोअर्डिनेटर थिएँ । मेरो श्रीमान्लाई उहाँका साथीहरूले मेरो नाम लिँदै फलाना मिसलाई बिहेका लागि प्रस्ताव राख्नू न हौ भनेर सुझाउँदारहेछन् । त्यतिबेला मेरो कपाल असाध्यै लामो थियो । म कपाललाई त्यत्तिकै स्याहार्थें । श्रीमान्ले साथीहरूलाई उत्तर दिनुहुन्थ्यो रे, ‘बिहे गर्नु त परै जाओस्, उसको कपाल स्याहार्न पनि सक्दिनँ होला ।’ साथीभाइले सुझाएपछि श्रीमान्ले पनि ‘मार्किङ’ गर्न थाल्नुभएको थियो रे । एक दिन कार्यालय समय सकिएपछि सँगै बाहिरियौं । त्यतिबेला श्रीमान्ले पत्र दिनुभएको थियो । त्यो प्रेमपत्रै हो भनेर मैले थाहा पाइहालें । पत्र पढ्दै नपढी मैले ठाउँका ठाउँ च्यातिदिएँ । उहाँ ‘सफ्ट’, म ‘हार्डलाइन’को मानिस । पत्र च्याते पनि केही प्रतिक्रिया दिनुभएन । उहाँजस्तै अरूले पनि मलाई मन पराउँथे । मलाई मन पराउनेलाई सोचविचार गरेर बिहे गर्नेछु भन्दिन्थें । मानिसको कर्म न हो, अन्ततः उहाँ (रामकुमार राई)सँगै बिहे भयो ।

१५ वर्षपछि हलेसी तुवाचुङ नगरपालिका मुलुककै शक्तिशाली

सर्वप्रथम पालिकावासीका आधारभूत आवश्यकता पूरा गर्ने ध्याउन्नमा छु । तत्कालको मुख्य मुद्दा यही हो । अबको १५ वर्षपछि हलेसी तुवाचुङ नगरपालिकाले कसैकाअघि हात थाप्नुपर्दैन । त्यो अवस्थामा पुर्याउन आजैदेखि काम थाल्नुपर्नेछ ।

सरकारले हलेसी तुवाचुङ नगरपालिकालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । हामीसँग पानीका मुहान नहोलान् । तर, सुनकोसी र दूधकोसी छन् । एउटै पालिकालाई दुई नदीले फेरो मारेको सायदै भेटिएलान् । हलेसीजस्तो सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक पर्यटकीय स्थल हाम्रै पालिकामा छ । अबको १५ वर्षपछि आफू हलेसी तुवाचुङ नगरपालिकावासी हुँ भनेर गौरव गर्न सकिनेछ । अहिलेको अवस्थामा नगरवासीका आवश्यकता अथाह छन् । अथाह आवश्यकता पूर्ति गर्न कुनै कसर बाँकी राख्ने छैन ।

मेयर बिमला राईको माइतीघर ।

अहिले नै बोल्दा अस्वाभाविक मानिएला । तर, मैले पाएको, पाउने जुनसुकै भूमिकाको गरिमा राख्न सक्छु ।

मृत्युबारे सोचेकै छैन

मृत्यु शाश्वत सत्य हो । मृत्युका प्रकार हुन्छन् । म ठूलो भएपछि मैले परिवारका तीन सदस्य गुमाएकी छु । उहाँहरूको निधन आफ्नै प्रकारका थिए । निश्चित उमेर पार गरेपछिको निधनलाई स्वाभाविक मानिन्छ । अस्वाभाविक निधनले जोकोहीलाई मर्माहत बनाउँछ । त्यस प्रकृतिका मृत्युलाई शाश्वत मान्न सकिँदैन । तर पनि मलाई मृत्युदेखि डर लाग्दैन । धेरैपटक दुर्घटनामा परे पनि मृत्युदेखि डर लाग्दैलाग्दैन । मृत्युबारे सोचेकै छैन । मृत्यु स्वाभाविक होस् भन्ने लोभचाहिँ छ ।

प्रतिक्रिया दिनुहोस्