मुलाको जरामा परिणत माओवादी



त्यतिबेला माओवादी नेता तथा कार्यकर्ताले चुरोट, खैनी, जुत्ता–चप्पललगायत अति आवश्यकीय सामान किन्दा अनुशासन पालना गर्नुपर्थ्यो । पार्टी थालेको अभियान सफल पार्नु सबैभन्दा ठूलो उपलब्धि ठान्थ्यौं । सय रुपैयाँभन्दा माथिका सामान आफूसँग भए पार्टीलाई बुझाउँथ्यौं । महँगो सामान किन्न नहुने पार्टीले निर्णय गरेको थियोे । जसले नेता तथा कार्यकर्तालाई एउटै सूत्रमा बाँधेको थियो ।

दसवर्षे जनयुद्धभरि माओवादी नेता तथा कार्यकर्ताले गोल्ड स्टार र क्यानबुथ जुत्ता लगायौं । हामीले दुई कम्पनीका जुत्ता लगाएर प्रवाह गर्न खोजेको सन्देश गोल्ड स्टार र क्यानबुथ जुत्ता कम्पनी मालिकले कसरी बुझे होलान् ? कम्पनी मालिकले जनयुद्धलाई कसरी हेरेका होलान् ? त्यसताका दुवै कम्पनीका जुत्ता प्रयोग गरेर माओवादीले व्यापार राम्रै गरिदिएका थिए । आफ्नो कम्पनीका जुत्ता प्रयोग गरेर माओवादीले गरेको व्यापारमा मालिकले गर्व गनुपर्थ्यो । गरे गरेनन् ? थाहा छैन । तर, हामीलाई राम्रै थाहा छ ।

माओवादी नेताले सुन, चाँदीलगायत बहुमूल्य मालसामान पार्टीलाई बुझाएका थिए । कतिपय नेताले भएको जायजेथासहित राजीखुसी पार्टीकरण गरे । त्यही कारणले पटक–पटक प्रधानमन्त्री भएर पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घर बनाएन् या किनेनन् । प्रचण्डले चाहँदा घर किन्ने वा बनाउन नसक्ने त होइन । पार्टीले त्यतिबेला अख्तियार गरेको अभियानको प्रभाव हो कि भन्ने पंक्तिकारको ठम्याइ छ । मेरो ठम्याइ सही नहुन पनि सक्छ ।

सोनाम सज्जन किराती

सुनकोसीमा थुप्रै पानी बगिसकेको छ । त्यतिबेला र यतिबेलाको माओवादी नेता तथा कार्यकर्ताको जीवनशैली कहाँबाट कहाँ पुगिसकेको छ । हेर्दा टोपी खस्ने घर, बंगला ठड्याएका छन् । छुँदै दाग लाग्ने यातायात साधन जोड्न सफल छन् । उनीहरूका बालबच्चा महँगो स्कुलमा पढ्छन् । सप्ताहान्त मनाउन कहाँ–कहाँ पुगिरहन्छन् । उनीहरूको जीवनशैली देख्दा माओवादी नेता वा कार्यकर्ता हुन् भनेर जिब्रो टोक्न बाध्य पार्छन् । सात पुस्तालाई पुग्ने चल–अचल सम्पत्ति जोड्नेहरू बढ्दै छन् । आवश्यकभन्दा बढी धन–सम्पत्ति जोडेर रमाउनु राष्ट्र र राष्ट्रियताप्रति घात गर्नु हो भनेर पढाइएको थियो । तर, हामीले कति छिटो बिस्यौं हगि ? नेताले अकुत सम्पत्ति थुपार्नु भनेको देश र जनताका निम्ति ठूलो हानि हो भनेर हामीलाई किन पढाइयो ? यसको लेखाजोखा होला नै ।

जनयुद्धताका ल्याइएको थुप्रै योजनामध्ये माओवादीले थालेको सांस्कृतिक शुद्धीकरण उदाहरणीय मानिन्छ । यसअन्तर्गत ‘हेडक्वार्टरमा बम बर्साऊ’ योजना मुख्य थियो । जुन कदम चिनियाँ क्रान्तिताका माओ त्से तुङले चालेका थिए । त्यहाँ पनि पार्टीलाई शुद्धीकरण गर्न सन् १९६६ देखि १९७६ अर्थात् दस वर्ष सांस्कृतिक क्रान्ति गरिएको थियो । जसले चिनियाँ कम्युनिस्ट पार्टी चिनियाँ जनताको दिलदिमागमा बस्न सफल भयो । उनीहरूलाई इतर विचारले प्रभावित गरेन ।

सांस्कृतिक क्रान्ति भनेको पार्टीलाई फोहोरको डंगुर हुनबाट जोगाउने अचुक अस्त्र रहेछ । हो कि होइन भनेर तुलनात्मक अध्ययन गर्न चाहनेले चिनियाँ सांस्कृतिक क्रान्ति पढे पुग्छ । हेडक्वार्टरमा आगो लगाऊ भनेर प्रचण्डले हिम्मत गरे । दुस्मनको ढाडमा टेकेर टाउकोमा प्रहार गर्ने अभियान अवश्य बन्दैनथ्यो । उनले आफ्नो कमजोरी लुकाउन हुँदैन भनेर सबै नेता तथा कार्यकर्तालाई सत्य बोल्न सिकाए । आफैंप्रति निर्मम बन्ने कुरा पार्टीले कार्यान्वयनमा ल्याए । त्यसताका सबैले शिरोपर गरेकै थिए ।

राजनीतिक काममा भएको कमीकमजोरीप्रति आत्मलोचना गर्ने परिपाटी प्राथमिकतामा राखिएको थियो । नेपाली राजनीतिमा हुँदै नभएको देख्दा सानो तर अर्थपूर्ण साथै व्यावहारिक पाटोको गुनगान गाएर सकिँदैन । सम्बन्धित व्यक्ति राजनीतिमा लागिरहेका हुन्छन् ।

कतिपलाई सावाँब्याज फिर्ता गर्नु छ । हिजोआज राजनीति उद्योगमा परिणत भएको छ । राजनीतिमा लाग्नु भनेको कमाउ धन्दामा लाग्नु भन्ने आमबुझाइ भइसकेको छ । राजनीति गर्ने मान्छेको वैचारिक पक्ष प्रस्ट हुनुपर्छ । जनयुद्ध सुरु हुँदा स्वच्छ पार्टी, स्वच्छ विचार, स्वच्छ नेतृत्वको नारा सुन्दै आनन्द लाग्थ्यो । त्यसकै जगमा दिनप्रतिदिन युद्धले उपलब्धि हासिल गर्दा माओवादी पार्टी लोकप्रिय बनेको थियो । नहुँदा नहुँदै पनि विशाल संगठन बन्यो । ऊसँग नभएको हतियार जनमुक्ति सेनाले प्राप्त ग¥यो । हातमा गन्न सकिने भए पनि आफ्नो विचार राख्न सत्तामा पुगे ।

पटक–पटक संसदीय अभ्यास गरिसकेको माओवादीले हिजो चलाएको छोटो सांस्कृतिक क्रान्ति, शुद्धीकरण अभियान व्युँताउन सक्ला कि नाई ? हिजोका नेतामात्रै होइन, कार्यकर्तासम्म बदलिएका छन् । प्रश्न सगरमाथासरी अग्लिएको छ । तर, प्रश्नको उत्तर कतैबाट पाइएलाजस्तो लाग्दैलाग्दैन । हिजो र आजका माओवादीबीच आकाश–जमिनको फरक कसरी देखियो ? उसले वास्तविक धरातल बिर्सेकै हो त ? उसले आफ्नो जरा पहिल्याउन छाडेकै हो त ? माओवादी ऊखुको टुप्पा बन्नुपर्नेमा मुलाको जरामा परिणत बन्दै छ ।

प्रतिक्रिया दिनुहोस्