सशक्त समिता/अग्रगामी अस्मिता


समिता कार्की ‘अस्मिता’

नरबहादुर कार्की र जयान्तादेवी कार्कीका चौधौं सन्तान जन्म्यो । पुछारका सन्तान छोरी थिइन् । कान्छी छोरीको नाम समिता कार्की राखियो । माओवादीमा लागेपछि अस्मिता उपनाम पाइन् ।

संविधानसभा सदस्य समिता कार्की ‘अस्मिता’ संवत् २०४८ देखि राजनीतिक यात्रामा निस्किन् । दिक्तेल बहुमुखी क्याम्पसमा अध्ययनताका अखिल नेपाल विद्यार्थी संगठन छैटौं (०५४)मा संगठित भइन् । सोही वर्ष माओवादी पार्टी एरिया कमिटी सदस्य (एसीएम)को भूमिका पाइन् । एसीएम भएको दुई वर्ष (०५६)पछि ‘होलटाइमर’ बनिन् । कामले काम सिकायो । भूमिको थपिँदै गयो । पार्टीको एरिया संयोजक हुँदै जिल्ला कमिटी सदस्यको जिम्मेवारी सम्हालिन् ।

इमानदारपूर्वक जिम्मेवारी सम्हाल्दै जाँदा पार्टी क्षेत्रीय व्युरो सदस्यका साथै अखिल नेपाल महिला संघ क्रान्तिकारी खोटाङ अध्यक्षको भूमिका थपियो । यो ०५९ को कुरा हो । यही वर्ष माओवादी खोटाङले ठुल्ठूला क्षति बेहोर्नुपर्यो । त्यसमध्ये एक हो– टुवाखोला हत्याकाण्ड । दिक्तेलको मुढे ब्यारेकबाट गस्तीमा गएका तत्कालीन शाही सेनाले दिलकाजी कार्की ‘अर्जुन’ र इन्दिरा कार्कीलाई सिम्पानी बजारमा पक्राउ गर्यो । पक्राउ परेका कार्कीद्वयलाई टुवाखोलामा पुर्याएर हत्या गरियोे । यो संवत् ०५९ असार ३१ को कुरा हो । त्यतिबेला दिलकाजी खोटाङ जिल्ला सेक्रेटरी र इन्दिरा अखिल नेपाल महिला संघ क्रान्तिकारी खोटाङ नेतृ थिइन् । दिलकाजी कार्कीका छोरा प्रतीक कार्की र छोरीहरू सावित्रा कार्की र पवित्रा कार्की छन् ।

दिलकाजी कार्की, इन्दिरा कार्की

सेनाले हत्या गरेका दिलकाजी कार्की र इन्दिरा कार्की संविधानसभा सदस्य समिता कार्की ‘अस्मिता’का दाजुभाउजू हुन् । दाजुभाउजूको हत्याको शोकलाई शक्तिमा बदलेर सशस्त्र जनयुद्धको कठिनभन्दा कठिन घडीमा समेत विचलित भइनन् । महिलाले पनि राजनीतिमा सशक्त नेतृत्व गर्न सक्नुपर्छ भन्ने उनको मान्यता थियो ।

पुण्यबहादुर मगर ‘हिरण्य’ पार्टीबाट पलायन भएपछि जिल्ला सेक्रेटरीको जिम्मेवारी अस्मिताको काँधमा आइपर्यो । यो ०६१ को कुरा हो । उनले सेक्रेटरीको भूमिका पाउँदा माओवादी खोटाङले सहिद परिवारको उच्च कदर गरेको सजिलै बुझिन्थ्यो । त्यो निर्णय असाध्यै अर्थपूर्णसमेत थियो ।

पहिलो संविधानसभा निर्वाचनमा खोटाङ क्षेत्र नम्बर २ बाट निर्वाचित अस्मिताले खोटाङ जिल्ला सेक्रेटरी, जिल्ला इन्चार्ज, केन्द्रीय सदस्य हुँदै नेकपा (माओवादी केन्द्र) पोलिटव्युरो सदस्यको भूमिकामा छिन् । उनी खोटाङ पार्टी इन्चार्ज पनि हुन् ।

‘जनयुद्धका अधिकांश घटना चाहेर पनि बिर्सन सकिँदैन,’ उनको भनाइ छ, ‘तात्कालिक शाही सेनाको घेराबन्दी तोडेर बालबाल बाँचेको पल, भोकभोकै बितेका क्षण, रात, दिन नभनी समाज रूपान्तरण अभियानमा लागिपरेको त्यो समय सम्झँदामात्रै पनि आङ जिरिङ्ङ हुन्छ ।’ मुक्ति या मृत्यु, मरे सहिद, बाँचे संसार भनेर जनयुद्धमा हिँडेकी क्रान्तिकारीले जीवनको पर्वाह गर्ने कुरै भएन । ‘तर पनि खोटाङको स्यालगौडें घटना जति बिर्सन खोजे पनि सक्दिनँ,’ उनले दुःख व्यक्त गरिन्, ‘सो घटनामा १२ जना सहयोद्धा गुमाउनुपर्यो । ०६० असोज १० गते जनमुक्ति सेना र गस्तीमा निस्केका तात्कालिक शाही सेनासँगको दोहोरो भिडन्तमा १२ जनाले सहादत प्राप्त गरे ।’ स्यालगौडें दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पर्छ ।

राजनीतिमा लाग्नुका एउटै कारण थियो– समाजमा रहेको विविध विकृति, विद्यमान विसंगति जरैदेखि उखलेर फाल्नु । समाजमा वर्गीय उत्पीडन चर्कै थियो । त्यसलाई कम गर्दै लैजानु सबैभन्दा पुण्य काम मानिन्थ्यो । समाजसेवा ठानिन्थ्यो ।

कमरेड समिता कार्की ‘अस्मिता’को सरल सहयात्री पौडेलसँग ०६३ मा बिहे भएको थियो । पौडेल सिन्धुपाल्चोकवासी हुन् । उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर १ (२)बाट ‘बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । ०३८ असोज २१ गते सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मेका उनी नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश अध्यक्षसमेत हुन् । उनी नेपाली साहित्यमा परिचित हस्ताक्षर मानिन्छन् ।

सरल सहयात्री

समिता कार्कीमात्रै होइन, सरल सहयात्रीसमेत जनयुद्धको सहिद परिवार हुन् । सरल सहयात्रीका दाजु शम्भु पौडेलले बारामा अन्तिम सास फेरे । दुस्मनको गोली लागेर उनको निधन भएको थियोे । र बहिनी रीता पौडेललाई पनि सेनाले निःशस्त्र रूपमा गिरफ्तार गरी गोली हानी हत्या गरेको थियो ।सरलका क्रान्तिका कथाहरू (०६४), छापामारका गीत (०६७) र शिखरको ढुंगा (०७५) प्रकाशित छन् । ०५६ देखि ‘होलटाइमर’ बनेका उनले जनमुक्ति सेना सदस्य, सेक्सन कमान्डर, प्लाटुन भीसी कमान्डर, कम्पनी भीसी कमान्डर र कम्पनी कमिसारको भूमिका निर्वाह गरेका थिए । पंक्तिकारले सिद्धेश्वरी माध्यमिक विद्यालय खिदिमाको जबस मोर्चाको सम्मेलनबाट सरल सहयात्रीलाई चिनेका थिए । यो ०६० को कुरा हो । कमरेड सरल सहयात्रीको राजनीतिक प्रशिक्षणले त्यतिखेर खोटाङ जुरुक्क उठेको मैले अनुभूति गरेको थिएँ ।

सैन्य संरचनाको हिसाबले बटालियन कमान्डर, ब्रिगेड भीसी, ब्रिगेड कमान्डरभन्दा डिभिजन माथिल्लो भूमिका हो । डिभिजन भीसीसम्मको भूमिका निर्वाह गरेका उनले जनयुद्धताका अग्रमोर्चामै सहभागी भए । रुम्जाटार, खानीभञ्ज्याङ (ओखलढुंगा), सल्लेरी (सोलुखुम्बु), भिमान (सिन्धुली), घोडेटार, पानधारे, भोजपुर सदरमुकाम (भोजपुर), ऐंसेलुखर्क, नुनथला, दिक्तेल (खोटाङ), पात्ले (दोलखा–रामेछापबीच), गाईखुरे, जलजले (उदयपुर), बन्दीपुर (सिरहा), भकुन्डेबेंसी (काभ्रे), कृष्णभीर (धादिङ), मलंगवा (सर्लाही)लगायत ३२ साना, ठूला युद्धमोर्चा लड्दा शरीरको धेरै ठाउँमा गोली र बमका छर्रा लागेको थियो । ‘उतिबेला निकाल्न सम्भव थिएन,’ उनले सुनाए, ‘माओवादी विद्रोहीलाई कुनै पनि अस्पतालमा उपचार गराउन प्रतिबन्ध लगाइएको थियो । तसर्थ, बमका गोली र छर्रा शरीरमै बोकेर हिँडिरहेको छु ।’

प्रतिक्रिया दिनुहोस्