‘यसपटक दसैं छैन,’ एमाले पोलिटब्युरो सदस्य विशाल भट्टराईले दुःख व्यक्त गरे, ‘माइली काकीको वैकुण्ठ बास भएकाले यसपटक दसैं मनाउँदैनौं ।’
‘दसैं नभएपछि टीका, जमरा लगाउने, आशिर्वाद र दक्षिणा दिने काम हुँदैन,’ एमाले पोलिटब्युरो सदस्य भट्टराईले सुनाए, ‘त्यसबाहेकका सबै काम हुन्छन् । गरिन्छन् ।’
‘यसअघिका दसैंमा ८८ वर्षीया आमाको हातबाट टीका लगाउन थुप्रै आउँथे,’ संविधानसभा सदस्यसमेत रहेका उनको भनाइ छ, ‘यसपटक टीका नलगाए पनि नातागोता आउँछन् । दसैंमा नातागोता सबै–सबै भेला भएर रमाउनुको आनन्द शब्दमा व्यक्त गर्न कठिन हुन्छ ।’
परदेशमात्रै होइन, घरदेशमै रहे पनि विभिन्न कारणले वर्ष दिनसम्म नभेटिइएका आफन्त, इष्टमित्र भेट्ने शीर्षक दसैं पनि हो । दसैंको बहानामा आफन्त, इष्टमित्र र शुभचिन्तकसँग भेटघाट हुने नै भयो ।
दसैं भन्नासाथ खानपान र मनोरञ्जनको चाडसमेत हो । ‘सामान्यतया दसैंमा मासुभात खाइन्छ । त्यो अन्य समयमा पनि खाइन्छ,’ पूर्वसांसद भट्टराईले भने, ‘दसैं नभए पनि खसी काटियो । परिवार र नातागोतासँगै बसेर मासुभात खाँदा कम्ती आनन्द लाग्दैन ।’
भेटघाटका लागि नेता तथा कार्यकर्ता आइरहेकै छन् । आउने क्रम जारी छ । फूलपातीका दिन भेटघाटमै बित्यो । ‘खोटाङ बजारमा ११९ वर्षदेखि चलेको फूलपाती बढाइँ सहभागी भएँ,’ उनले थपे, ‘जनप्रतिनिधि र प्रहरी मिलेर बढाइँ गरिन्छ । भगवती मन्दिरदेखि पोखरेल पाटीसम्म पुगेर बढाइँ गर्ने चलन छ ।’
‘सिम्पानी बजारदेखि कात्तिके जाने मोटरबाटो खन्यौं,’ उनले खुसी व्यक्त गरे, ‘असोज १२ गतेको अविरल वर्षाले सिम्पानी बजारदेखि कात्तिके जाने मोटरबाटो बिगारेको थियो । असोज २१ गते त्यो बाटो मर्मत–सम्भार गरेपछि यातायात साधन गुड्ने भएका छन् ।’
त्यतिमात्रै होइन, उनले घरको थुप्रै काम गर्न भ्याए ।
दसैं नभए पनि आफन्त, शुभचिन्तक, इष्टमित्र र सामाजिक कार्यकर्तालाई उनले टेलिफोन र सामाजिक सञ्जालबाटै शुभकामना दिएका छन् । दसैं भन्नासाथ आशिर्वाद लिने र दिने समय हो । दसैं नभए पनि उनले शुभकामना आदानप्रदान गरे ।