स्टेजमा गीत गाउन उक्लिरहँदा मेलिना चाम्लिङ राई सानी देखिन्छिन् । जब राईले गीत गाउन सुरु गर्छिन्, तब दर्शक ताली बजाउँदै नाच्न थाल्छन् । कहिले ननाच्नेकालाई पनि नाचौं–नाचौं बनाइदिन्छ उनको स्वरले । उनी भन्छन्, ‘स्टेजमा उक्लिएपछि निराश भएर फर्कनुपरेको छैन । अहिलेसम्म दर्शकको माया पाइरहेकी छु ।’ हुन पनि गायिका मेलिना राई हिजोआज नेपाली गीतसंगीतको व्यस्त गायिका हुन् । सोलिबे्रटी गायिका हुन् । लोभलाग्दो प्रतिभा हुन् । सानै उमेरमा चर्चाको शिखर चुमेकी लोकप्रिय गायिका मेलिना राईलाई हिजोआज भ्याइनभ्याई हुन्छ । स्टेजमा गीत गाउन उक्लिनु, गीत रेकर्डिङमा पुग्नु उनका दिनचर्या हो । गायिका राईको प्रायः दैनिकजसो दुई/तीनवटा गीत रेकर्ड भइरहन्छ । उनले दिनमा छवटासम्म गीत रेकर्ड गरेकी छन् ।
बलराम कोइरालाले रचना गरेको ‘हिमालको काखमा’ शीर्षकको ‘ग्रुपिङ सङ’बाट मेलिना राईको औपचारिक गायन सुरुवात भएको हो । यो गीतको संगीतकार उनकै बाबु जीवेश राई हुन् । यो पहिलो गीत रेकर्ड गराउँदा उनी ११ वर्षकी थिइन् । त्यसयता गायिका मेलिना राईले अहिलेसम्म २ हजारजति गीत गाइसकेकी छन् । उनले पछिल्लो चरणमा जुन गीत गाउँछिन्, त्यही गीत ‘हिट’ भइदिन्छ । खस नेपाली भाषासहित आफ्नै मातृभाषा चाम्लिङ, कुलुङ, गुरुङ, राजवंशीलगायत थुप्रै मातृभाषामा मेलिना राईले गीत गाएकी छन् ।
हरेक सफल व्यक्तिका सुरुका दिनहरू संघर्षमय हुन्छ । गायिका मेलिना राईको पनि सुरुको सांगीतिक यात्रा सहज थिएन । त्यतिबेला गायिका राईले स्कुलमा ‘डान्स’ सिकाउँथिन् । ‘डान्स’ शिक्षिका थिइन् । आफ्नो पकेट खर्च आफैं जुटाउँथिन् । छोरी ‘डान्स’ शिक्षिका भएको देखेर बाबु जीवेश राईले यसरी सम्झाउँथे, ‘छोरी तिमी डान्स पनि सिकाऊ । यसलाई चाहिँ यसो जागिरका रूपमा मात्र लिनु । तिम्रो ‘फोकस’चाहिँ गायन नै हो है ।’
मेलिना राई कलेजको पढाइ सकेर ‘डान्स’ पढाउन स्कुल पुग्थिन् । त्यतिबेला उनलाई कलेज पुगेर आउन २० रुपैयाँ बसभाडा लाग्थ्यो । त्यो २० रुपैयाँ जोगाउन साइकल किनिन् । कसैले कोरस गाउन बोलाउँथे । अग्रजले ‘ग्रुप सङ’ गाउन बोलाउँथे । उनी नाइँ भन्थिनन् । आफ्नो ‘करियर’का लागि पनि उनी गीत गाउन पुग्थिन् । उनले सधैं बेस्ट (गाउने) दिने प्रयत्न गर्थिन् । उनलाई त्यतिबेला लाग्थ्यो, ‘मेरो स्वर सबैको नोटिसमा परून् ।’ कोरस गायनमा होस् अथवा ‘ग्रुप सङ’मा होस्, उनी सधैं अभ्यास गरेर गीत गाउन जान्थिनन् । मेलिना राईले गायनलाई तपस्या सम्झिन्छिन् । लगातार मिहिनेत, परिश्रम र धैर्यले गर्दा २०७२ पछि मेलिना राई चर्चामा आउन थालिन् । गायिका राईले गाएको ‘कम्मरमाथि पटुकी, पटुकीमाथि घैला’ शीर्षकको गीत ‘हिट’ भयो । यो गीत धेरैले रुचाए । सार्वजनिक यातायात, पार्टी तथा पसलमा मेलिना राईको स्वर बज्न थाल्यो । त्यतिबेलासम्म गीत ‘हिट’ भए पनि गायिका राईको अनुहार सबैसामु ‘नोटिस’ भइसकेको थिएन अर्थात् गायिकालाई कमैले मात्र चिन्थे । आफैंले यात्रा गरेको सार्वजनिक यातायतमा आफ्नै गीत बजिरहँदा गायिका राईको मन फुरुंग हुन्थ्यो । हिजोआज मेलिना राईलाई गायिका भनेर धेरैले चिन्छन् । गायिका राई भन्छिन्, ‘त्यतिबेला खुलमखुला हिँड्न, डुल्न सजिलो थियो । हिजोआज धेरैले चिन्छन् । त्यतिबेलाजस्तै सहज छैन ।’ हुन पनि हो । सेलिब्रेटीलाई सार्वजनिक ठाउँमा सबैले ‘नोटिस’ गर्छन् । असहज हुने नै भयो ।
गायन क्षेत्रमा आइरहेका नयाँ प्रतिभालाई उनी भन्छन्, ‘एकदमै मिहिनेत गरेर आउनू । साधना गरेरमात्र आउनु । आएपछि म यो क्षेत्रमै समय बिताउन चाहन्छु भन्नुपर्छ । एक/दुई दिनका लागि भाइरल हुनमात्र नआउनुहोला ।’ जब मेलिना राई ‘फिल्म इन्डस्ट्रिज’मा आइन्, त्यहीबेलादेखि अहिलेसम्म दर्शकका प्रिय बनिरहेकी छन् । उनले गायकीमा आफ्नो अग्लो उचाइ बनाइसकेकी छन् । कोरस गायनबाट करिअर सुरु गरेकी मेलिना राईलाई आफ्नो संघर्ष, मिहिनेत र निरन्तरताले सेलिब्रेटी कलाकार बनाएको हो । ‘तिमीले बाटो फेर्यौ अरे’, ‘आसुँ पुछ्ने रुमाल’, ‘तिमीसँगै अमर नाता जोडूँ–जोडूँ लाग्छ’, ‘कुटुमा कुटु सुपारी दाना’, ‘पिरिम नलाउनी’, ‘कम्मरमाथि पटुकी, पटुकीमाथि घैला’, ‘शिरैमा शिरबन्दी’ जस्ता मेलिना राईका दर्जनौं गीत अहिले बजारमा ‘हिट’ छन् । सिनेमाको पाश्र्व गायन होस् वा सोलो गीत होस्, कतै न कतै मेलिना राईको आवाज गुञ्जिरहेकै हुन्छ । व्यावसायिक गायकीबाटै राम्रै कमाइ गरेकी छन् । आफ्नै कमाइले गाडी, घर जोडेकी छन् । सर्वाधिक कमाइ गर्ने नेपाली कलाकारको पंक्तिमा मेलिना राई पर्छिन् ।
सांगीतिक परिवार
गायिका मेलिना राईका बाबु जीवेश राई संगीत प्रशिक्षक हुन् । मेलिना राईले आफ्नो संगीत गुरु आफ्नै बाबुलाई मान्छन् । गायिका राईले गीतको सुर, ताल तथा संगीत साधना गर्न आफ्नै बाबुबाट सिकिन् । त्यसैले पनि उनको बाल्यकाल सांगीतिक वातावरणमा हुर्कियो । उनकी बहिनी जुनू राई पनि गायिका हुन् । छोरीहरूलाई सांगीतिक वातावरण बनाउनु आमा नीमा राईको पनि महत्वपूर्ण भूमिका रहेको छ ।
रेडियो नेपालले आयोजना गरेको आधुनिक गीत गायन प्रतियोगिता (२०६५) मा मेलिना राई प्रथम भइन् । यहाँ विजेता हुनु भनेको स्वर परीक्षा उत्तीर्ण गरेसरह हो । ‘नाइँ नभन्नू ल–३’ मा समेटिएको ‘कम्मरमाथि पटुकी पटुकीमाथि घैला’ बोलको गीतपछि मेलिना राईको ‘तिम्ले बाटो फे¥यौ अरे’ बोलको गीत चर्चित भयो । यही गीत उनको करिअरको कोसेढुंगा बन्यो । यसरी गायनमा सफल हुनु गायिका राईको आफ्नै विशेषता छ । उनी भन्छिन्, ‘म गीत गाउन तयार हुनुभन्दा पहिले शब्दमा धेरै ध्यान दिन्छु । अश्लील शब्द भएको गीत गाउँदिनँ । कसैको भावना, धर्म र संस्कृतिमा ठेस लाग्ने गीत गाउँदिनँ । त्यस्ता धेरै गीत मैले ‘रिजेक्ट’ गरेकी छु ।’ यसरी गीत छनोटमा गायिका राईले फरक पहिचान बनाएकी छन् । गीत गाउने सिलसिलामा मेलिना राई नेपालको सबैजसो पूर्वी जिल्ला पुगिसकेकी छन् । पश्चिमका पनि धेरै जिल्लामा पुगिसकेकी छन् । थुप्रै मुलुकमा पुगेर गीत गाइसकेकी छन् । हकङक, कोरिया र जापानजस्ता विदेशी मुलुकमा धेरैपटक पुगिसकेकी छन् ।
गायिका मेलिना राईको जन्म दार्जिलिङमा भए पनि उनको स्थायी ठेगाना मिक्लाजुङ गाउँपालिका–१, रमिते मोरङ हो । उनको पुख्र्यौली थलोचाहिँ खोटाङको हलेसी तुवाचुङ नगरपालिका हो । अरूण ज्योति विद्यामन्दिर जोरपाटीबाट एसएलसी गरेकी मेलिना राई हाल आफ्नै घर काठमाडौंमा बस्दै आएकी छन् ।