बाक्सिला (खोटाङ), २ चैत
‘जहाँ इच्छा, त्यहाँ उपाय’ भन्ने उखान नेपाली समाजमा प्रचलित छ । त्यही प्रचलित उखान बाक्सिला तेक्वान्दो डोजाङ खोटाङको हकमा ठ्याक्कै मेल खान्छ । स्रोत–साधनविना नै बाक्सिला तेक्वान्दो डोजाङ स्थापना गरिएको थियो । डोजाङको अवस्था अहिले पनि उस्तै छ । संवत् २०६४ मा स्थापित सगरमाथा तेक्वान्दो डोजाङ शाखाको नाम परिवर्तन गरेर बाक्सिला तेक्वान्दो डोजाङ बनाइएको हो ।
खोटाङ सदरमुकाम दिक्तेलबाट १० कोस उत्तरमा रहेको केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा स्थापित बाक्सिला तेक्वान्दो डोजाङले स्रोत–साधन अभावमा पनि तेक्वान्दो खेलाडी उत्पादन गरिरहेको १ नम्बर प्रदेश एन्फा सदस्य समीर राईले जानकारी गराए । डोजाङको आफ्नै कभर्ड हल नहुँदा उसले पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाको जग्गामै तालिम दिँदै आएको थियो । विनास्रोत–साधन प्रमुख प्रशिक्षक अनिल राईले १३ वर्षदेखि तेक्वान्दो सिक्न चाहनेका लागि प्रशिक्षण दिँदै आएका छन् । १३ वर्षमा प्रशिक्षक राईले ५ सयभन्दा बढी खेलाडी उत्पादन गरिसकेका छन् ।
बाक्सिला तेक्वान्दो डोजाङले उत्पादन गरेका कतिपय खेलाडीले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । राष्ट्रियस्तरको च्याम्पियनसिप हात पारेका भीम परियार यहींका उत्पादन हुन् । यसैगरी, यहींका अन्य खेलाडीले क्षेत्रीयस्तरको ‘गोल्ड मेडल’ हात पारिसकेका छन् । ‘गोल्ड मेडल’ हात पार्ने खेलाडी ममता राई, संगीता राई, शिवहरि राई, अर्जुन राई, गणेश भण्डारीलगायत छन् । तीमध्ये ममता राई नेपाली प्रहरी सेवामा कार्यरत छिन् ।
त्यतिमात्रै होइन, नौजनाले ब्ल्याक बेल्ट गरेका छन् । हिजोआज पनि करिब ७० भन्दा बढीले दैनिक तालिम लिँदै आएका छन् । तालिम लिँदै आएका उनीहरू बाक्सिलाका मात्रै होइनन् । तालिमकै लागि सप्तेश्वर, बाँसपानीलगायत १५ वडाका प्रशिक्षार्थी यहाँ आउने गरेका छन् ।
फुटबलमा ख्याति कमाएको बाक्सिला पछिल्लो समय फुटबलसँगै तेक्वान्दो खेलाडी उत्पादन गर्ने वडा भनेर चिनिँदै आएको छ । खोटाङ सदरमुकाम दिक्तेलपछि तेक्वान्दो खेलाडी उत्पादन गर्ने बाक्सिला नै हो ।
विनास्रोत–साधन ५ सयजनाभन्दा बढीलाई तेक्वान्दो तालिम दिनु भनेको सामान्य कुरा होइन । बाक्सिला खेलकुद विकास समितिको नाममा सात रोपनी जग्गा रहेको छ । समितिको नाममा जग्गा रहे पनि कभर्ड बनाउन नसक्दा प्रशिक्षार्थी खेलाडीलाई अप्ठ्यारो परेको छ । भएको जग्गामा कभर्ड निर्माण गर्न सकेमा यहाँका प्रशिक्षार्थी खेलाडीले खोटाङ जिल्लामा मात्रै नभएर, राष्ट्रियस्तरमै कीर्तिमान कायम गर्न सक्नेमा दुईमत रहँदैन ।
नेसनल स्पोर्टस् काउन्सिल सहायक प्रशिक्षक अर्जुन राई (ब्ल्याक बेल्ट फाइभ डन) ले विविध समस्या सामना गर्दै आफूले थालेको अभियानलाई निरन्तरता दिँदै आएका छन् । ‘बाक्सिला खेलकुद विकास समितिको नाममा रहेको सात रोपनी जग्गामा कभर्ड हल निर्माण गर्न सकेको खण्डमा अन्तर्राष्ट्रिय रेफ्रीसमेत रहेका राईले थालेको अभियानलाई सार्थक बनाउन सकिनेछ,’ एन्फा सदस्य राईले सुनाए, ‘यस महान् अभियानलाई सार्थक बनाउन मनकारीको ध्यान गएमा यहाँबाट उत्पादित खेलाडीले राष्ट्रियस्तरमा कीर्तिमान कायम गरी तपाईंले लगाएको गुनको पैंचो तिर्नेछन् ।’