माओवादीलाई नटेर्ने ‘इन्डियन आर्मी’


 

‘चिया खाएको छ कि छैन ? कहाँ बसेर आको ? आज कहाँसम्म पुग्ने ?,’ साबिक दुर्छिम गाउँ विकास समिति–१ साल्तेम्मा खोटाङनिवासी पञ्चसेर राईले मायालुभावमा भने, ‘ऊ त्यो घर मेरो हो । चिया खाएर जानू है । म घाँस लिएर आउँछु ।’

साल्तेम्मामा रहेको पूर्वज शुभेच्छा पुञ्ज भवनमन्तिर भएर एकजना कमरेडसँग रातमाटे झर्दै गरेको अवस्थामा हामीप्रति दर्शाइएको सहयोगी भावनाले कृतज्ञ भयौं । चिया खाने प्रस्ताव गरिएपछि हामीले हुन्छ भन्दै सहमति जनायौं । मैले पञ्चसेर राईलाई बुवा भनेरै सम्बोधन गर्थें । बुवाले नाम्लो र कचिया बोकेको परैबाट देखिन्थ्यो ।

चिया खाने प्रस्ताव गर्नुअघि बुवाले ‘ऐ तिमरू को हौ ? भनेर सोधे । ‘हामी माओवादी हौं बुवा,’ कडा स्वरमा सोधिएको प्रश्नको प्रतिउत्तर दिँदै मैले भने, ‘तपाईंसँग अस्ति पनि भेटेको बिर्सनुभयो कि ?’

त्यसो भनेपछि बुवालाई हामीबीचको पहिलो भेट सम्झन समय लागेन । त्यसपछि बुवाले मायालुभावमा व्यवहार गरेको अनुभूति गरें । चिया खाएर जानू है भनिए पनि हामीलाई खानासमेत खुवाइयो । यो संवत् २०६० को पुछार–पुछारतिरको कुरा हो ।

त्यतिबेला साल्तेम्माले माओवादीलाई धेरै कुरा दिएको थियो । उसले गाँस दियो । बास दियो । गाँस, बास दिनेमध्ये पञ्चसेर राई र सुलोचना राईको परिवार पनि एक थियो । पञ्चसेर राईको घरमा बासमात्रै होइन, धेरैपटक बैठक बसेका थियौं । एरिया (दुर्छिम, हलेसी, मंगलटार, बडहरे, च्यास्मिटार, बाहुनीडाँडा र डिकुवा समेटेर एरिया बनेको थियो) केन्द्रित छलफल गरेका थियौं । त्यो घरमा बसेर विविध गतिविधि गर्दा सुरक्षित अनुभूति गर्थ्यौं । ‘हामी शुभ चिताउने अभिभावककहाँ आश्रय लिइरहेका छौं,’ माओवादी कार्यकर्ता तथा नेतालाई त्यो घर पुग्दा सधैं लाग्थ्यो, ‘हामी त्यत्तिकै सुरक्षित छौं ।’

बुवासँग भएको पहिलो भेटघाटको तिथिमिति ठ्याक्कै भन्न सक्दिनँ । देशमा गरिखाने वर्गको मुक्ति आन्दोलनमा सामेल भई जनयुद्धमा लामबन्दी भएपछि बुवासँग भेट भएको थियो । बुवाको स्वभाव अलि खरो । म १७/१८ वर्षको भएकाले होला बुवाको स्वभाव त्यति मन परेन । म केटाकेटी भएकाले नै होला पहिलो भेटमा बुवाले हेपेजस्तो अनुभूति गरें । मैले प्रतिकार गरिनँ । प्रत्येक मानिसको स्वभाव एउटै हुँदैन । त्यतिसम्म मलाई थाहा थियो ।

भाँडबेंसी र गोडेलीबीचको दुई जोर वरपीपल । अनि चौतारो । ०६२ मंसिर महिना । जनसत्ता सञ्चालनार्थ माओवादीले भाडबेंसी र गोडेलीघाटमा सुरक्षा सूचक स्थापना गरेको थियो । मैले ०६२ मंसिरदेखि माघसम्म दुवै सुरक्षा सूचक सम्हालेको थिएँ । जहाँ हामीले कर संकलन गर्थ्यौं ।

बुवाले १४ वटा गाईगोरु बेच्न उदयपुरको बेल्टार हिँडाएको हुनुपर्छ । सुरक्षा सूचकमा रहेका साथीहरूले बुवालाई प्रतिगाईगोरुको ५० रुपैयाँका दरले कर मागेछन् । कर नदिने अडान कायम राखेपछि बुवाले गाईगोरु गोडेलीतर्फ अघि बढाएको सूचना पाएँ । साथीहरूले भाँडबेंसी र गोडेलीबीचको वरपीपलमा गाईगोरु रोकेका रहेछन् । बुवाको जिद्दी कायमै रह्यो । बुवाले साथीहरूलाई टेरेनन् । बुवा र साथीहरूबीचको छलफल निष्कर्षमा पुग्नै सकेन । म गोडेलीमा थिएँ । हलेसीका एक व्यापारीले कर तिर्न मानेनन्, तपाईं आउनुपर्यो भनेर सञ्चार सेटबाट खबर प्राप्त भयो ।

म पुगें । बुवासँग तेस्रोपटकको भेटमा थुप्रै गफगाफ भयो । प्रश्न गर्न नडराउने हक्की स्वभावका बुवाको व्यापारिक कथा–व्यथा सुन्न पाइयो । बुवाले तिरेको करले हामीलाई इतिहास लेख्ने योगदान पुग्छ भनेर सम्झाएँ । ‘हामी त बलिदान दिन तयार छौं । हामी कतिखेर मारिन्छौं हामीलाई नै थाहा छैन,’ मैले फेरि बुवालाई सम्झाएँ, ‘आज यहाँ रहेका हामी भोलिको दिन देख्न पाउँछौं कि पाउँदैनौं थाहा छैन । तर, यहाँले दिने १४ गाईगोरुको ७००/– रुपैयाँ करले हामीलाई जनयुद्ध सफल पार्न योगदान पुग्छ ।’

मेरो अनुरोध सुनेपछि बुवाको हात गोजीमा पस्यो । लगत्तै तोकिएको कर पायौं । बुवाले माओवादीलाई माया गरेर फेरि पनि सहयोग गरेकोमा मनमनै गौरव गरें । बुवाका गाईगोरु अघि बढे । अघि बढेका गाईगोरुले बेल्टारतिरको बाटो छोट्याउँदै थिए । सोलुखुम्बु, ओखलढुंगा र खोटाङबाट मंसिर लागेपछि हिउँदभरि यही बाटो भएर हिँड्ने गाईगोरुको ‘क्याराभान’ देखिन्थ्यो । ती गाईगोरु उदयपुरको बेल्टार पुर्याएर बेचिन्थ्यो ।

माओवादी सशस्त्र जनयुद्धको अन्तिम–अन्तिमतिर मेरो कार्यक्षेत्र भोजपुर तोकियो । आफूले पाएको भूमिका निर्वाह गर्न भोजपुर पुगेपछि बुवासँग भेट भएन । भोजपुर पुगेपछि मात्रै बुवा अवकाशप्राप्त भारतीय सैनिक रहेछन् भनेर थाहा पाएँ । जनयुद्ध सफल पार्न हाम्रा साथीहरूले बुवासँग पनि आर्थिक सहयोग मागेको हुनुपर्छ । बुवाले पनि सगौरव आर्थिक सहयोग गरेको हुनुपर्छ । यो कुरा आमा सुलोचना राई या त्यतिबेलाका आर्थिक संकलक माओवादी साथीहरूलाई पक्कै थाहा हुनुपर्छ ।

पितृ भइसकेका बुवा (पञ्चसेर राई) बारे योभन्दा धेरै लेख्न सकिनँ । माओवादीलाई असाध्यै माया गर्ने व्यक्तिबारे लेख्न सजिलो हुँदोरहेनछ । लेखिएका अक्षर सम्पादन गर्न सकिएला । बिग्रेका काम सपार्न वा सच्याउन मिल्छ । तर, जीवनको समाप्तिलाई सकार्न सकिँदैन । अनि मिल्दैमिल्दैन । बुवाको देहान्तले माओवादीलाई माया गर्ने अभिभावक गुमाएकोमा त्यत्तिकै दुःखी छु । बुवाको पारुखिममा बास होस् । एक दिन हामी सबैको भेट त्यतै हुनेछ । ढिलो चाँडोमात्रै त हो ।

प्रतिक्रिया दिनुहोस्