स्तनपान नगराइएका बच्चा झगडालु



चितवन । आमा र शिशु दुवैका लागि स्तनपान महत्वपूर्ण हुने गर्छ । आमाको दूध शिशुका लागि अमृतसमान हुन्छ । चिकित्सकको भनाइमा स्तनपान गर्ने बच्चा र गराउने आमा दुवैको स्वास्थ्य राम्रो हुन्छ ।

बच्चा जन्मिएको एक घन्टाभित्रै आमाको दूध चुसाउनुपर्ने चिकित्सक बताउँछन् । वरिष्ठ बालरोग विशेषज्ञ डा. युवानिधि बसौला आमाको पहेंलो बिगौती दूध नवजात शिशुका लागि पहिलो खोप हो भन्छन् । डा. बसौलाले भने, ‘यसमा रोगसँग लड्न सक्ने तत्व हुन्छन् ।’ बच्चा जन्मिएपछि छ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ । शिशुलाई चाहिने पानीसमेत आमाको दूधमा हुने भएकाले छ महिनासम्म आमाको दूधबाहेक पानी पनि खुवाउनु नपर्ने उनको भनाइ छ । उनका अनुसार ८७ प्रतिशत पानी दूधमा हुन्छ ।

छ महिना पूरा भएपछि आमाको दूधको साथसाथै थप पोसिलो आहार खुवाउन उनले सुझाव दिनुभयो । बसौलाले भने, ‘कम्तीमा दुई वर्षसम्म आमाको दूधलाई निरन्तरता दिँदै थप आहार खुवाउनुपर्छ । बच्चाको दिमागी क्षमता तीक्ष्ण हुन्छ ।’ स्तनपान नगराइएका बच्चा झगडालु स्वभाव, अरूसँग घुलमिल नगर्ने र आपराधिक कार्यमा लाग्ने सम्भावना बढी हुने अनुसन्धानबाट पत्ता लागेको बसौलाले सुनाए ।

बोतल र त्यसको मुन्टा सजिलै फोहोर हुनाले प्रयोग नगर्न चिकित्सकको सुझाव छ । नवजात शिशुलाई २४ घन्टामा १० देखि १२ पटकसम्म स्तनपान गराउन उनले सुझाए । भने, ‘चौबीस घन्टामा छदेखि आठपटक बच्चाले पिसाब फेर्नुपर्छ । कम भएमा दूध नपुगेको हुन्छ । एकातिरको दूध निख्रिएपछि मात्र अर्को स्तनको दूध खुवाउन, आमा र बच्चा जो बिरामी भए पनि निरन्तर स्तनपान गराइरहनुपर्ने उनको बुझाइ छ ।

नेपाल बाल चिकित्सक समाजका केन्द्रीय उपाध्यक्षसमेत रहेका बसौलाले बिगौती दूधले बच्चाको शरीरबाट ‘बिलिरुविन’ नामक तत्व निष्कासन गर्ने बताए । जसले गर्दा जन्डिस हुन दिँदैन । बिगौती दूधमा प्रोटिन, भिटामिन ‘ए’ र अन्य सूक्ष्म पोषक तत्व बढी पाइन्छ । जसले गर्दा बच्चाको वृद्धि विकासमा मद्दत गर्छ । उनले ठम्याइ छ, ‘बिगौती दूधले बच्चालाई एलर्जी र अपच हुन दिँदैन ।’

आमाको दूधमा झाडा र श्वासप्रश्वाससम्बन्धी संक्रमणविरुद्ध लड्ने प्रतिरोधात्मक तत्व हुने चिकित्सक बताउँछन् । यसैगरी आन्द्राको रक्षा र हानिकारक तत्व रगतमा पुग्न नदिन आमाको दूध उपयोगी हुन्छ । दाँत र गिजाको विकास गर्न सहयोग पुग्छ भने बच्चाको मानसिक, शारीरिक तथा सामाजिक विकास गर्न सहयोग पुग्ने बसौलाले बताए ।

आमाको दूधले बच्चालाई मात्र होइन, दूध चुसाउने आमालाई पनि फाइदा पुग्छ । भरतपुर अस्पतालका स्त्री, प्रसूति तथा प्रजनन रोग विशेषज्ञ वरिष्ठ कन्सल्टेन्ट डा. रामप्रसाद सापकोटा बच्चाले स्तनपान गर्दा निस्कने हार्मोनले आमाको पाठेघर खुम्च्याउन मद्दत गर्ने बताउँछन् । बच्चा जन्मनेबित्तिकै स्तनपान गराउँदा सालनाल सजिलो र छिटो बाहिर निस्कने हुँदा पाठेघरबाट बढी रगत बग्ने खतरा कम हुने उनले सुनाए ।

बच्चा जन्मनेबित्तिकै आमाको दूध चुसाएमा स्तनबाट धेरै दूध आउन सहयोग गर्ने चिकित्सक बताउँछन् । तुरुन्तै र पटक–पटक दूध चुसाउनाले स्तन गानिनबाट रोकथाम हुने सापकोटाको बुझाइ छ । उनले भने, ‘दूध चुसाउने आमा र बालबालिकाबीचको आत्मीयता बढ्छ र बच्चाले सुरक्षित महसुस गर्छ ।’ आमालाई मानसिक तनाव कम हुने हुँदा स्वस्थ महसुस गर्ने उनले बताए । सुत्केरी भएपछि स्तनपान गराउनाले आमाको मोटोपन घट्नुका साथै पाठेघर खुम्चिएर पुरानै अवस्थामा फर्कने उनले जानकारी गराए ।

सापकोटाका अनुसार बच्चा जन्मिएको पहिलो छ महिनासम्म पूर्ण स्तनपान गराएमा गर्भ निरोधकका रूपमा समेत काम गर्छ । उनले थपे, ‘महिलालाई हुने स्तन, डिम्बाशय र पाठेघरसम्बन्धी क्यान्सरको जोखिमसमेत कम गराउँछ ।’ आमाको दूध सधैं सफा, पोसिलो र ठीक तापक्रमको हुन्छ । खर्चिलो पनि हुँदैन । आमाको दूध जुनसुकै बेला पनि खुवाउन सकिन्छ । कृत्रिम खाना बनाउन लाग्ने समय, इन्धन खर्च र कामको भार कम हुने उनले बताए ।

स्तनपानले प्रत्येक वर्ष विश्वमा करिब आठ लाख २३ हजार बच्चा बचाउने गरेको चिकित्सक बताउँछन् । संसारमा हरेक पाँच बच्चामध्ये दुईजना शिशुले मात्र छ महिनासम्म आमाको दूधमात्र खान पाउने तथ्यांकले देखाएको छ । हाल नेपालमा एक वर्षमा करिब सात लाख बच्चा जन्मने गरेको पाइएको छ । तीमध्ये ५७ प्रतिशत बच्चा मात्र स्वास्थ्य संस्थामा जन्मने गरेको बसौलाले जानकारी दिए ।

आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण ऐन–२०४९ मा आमाको दूधको प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण गर्न नहुने उल्लेख छ । ऐनले यस्ता वस्तु बिक्री वितरण गर्ने, प्रचार–प्रसार गर्ने र सिफारिस गर्ने स्वास्थ्यकर्मीलाई समेत कारबाही गर्न सकिने उल्लेख गरेको छ । जसमा सिफारिस गर्ने स्वास्थ्य कार्यकर्तालाई एक हजार जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय र वितरकलाई १५ हजार जरिवाना वा चार महिना कैद वा दुवै हुने व्यवस्था गरेको छ । छ महिनासम्म आमाको दूधमात्र खुवाउन र त्यसपछि आमाको दूधसँगै जाउलो, लिटो, दालको रसजस्ता वस्तु खुवाउन बसौला सुझाउँछन् ।

प्रतिक्रिया दिनुहोस्