भनिन्छ, ‘शिक्षक उड्यो भने विद्यार्थी दौडिन्छन् । शिक्षक दौड्यो भने विद्यार्थी हिँड्छन् । शिक्षक हिँड्यो भने विद्यार्थी बस्छन् । शिक्षक बस्यो भने विद्यार्थी सुत्छन् । शिक्षक सुत्यो भने विद्यार्थी मर्छन् ।’
उल्लिखित भनाइले प्रस्ट पार्छ कि असल शिक्षक हुनु सबैभन्दा जटिल काम हो । किनकि समाजले शिक्षकसँग विश्वास, आदर्श र अपेक्षा धेरै राखेको हुन्छ । शिक्षकले समयानुकूल आफूलाई ‘अपडेट’ गर्दै लैजान नसके शिक्षणबाट हात धोए हुन्छ । यो प्रविधिको जमाना हो । प्रविधियुक्त जमानामा प्रविधिको सुझबुझ नराख्ने र शिक्षण सिकाइमा प्रविधि प्रयोग नगर्ने शिक्षकलाई अबउप्रान्तः विद्यार्थीले अस्वीकार गर्ने समय टाढा छैन ।
हामी कोभिड–१९ को महामारीमा पिल्सिएका छौं । विद्यालय खोल्न र भौतिक उपस्थितिमा पठनपाठन गर्न सकिरहेका छैनौं । फलस्वरूप ‘भर्चुअल’ कक्षा, युट्युब, गुगल, टिम्स, जुम, रेडियो तथा टीभीमार्फत सिकाइलगायतका प्रविधिबाट इ–सिकाइ (विद्युतीय सिकाइ)जस्ता विकल्प व्यापक प्रयोग भएको पाइएको छ । यसको सफलता र असफलताका कथा आ–आफ्नै ठाउँमा रहे पनि यिनै माध्यमद्वारा सिकाइ सहजीकरण चल्दै आएको छ । तर, इन्टरनेट पहुँचबाहिरका गाउँठाउँमा सिकाइ सहजीकरण अझैसम्म हुन सकेको छैन ।
यातायात खुला गरिए पनि कोभिड–१९ द्वारा संक्रमित र मृत्युदरमा तीव्रत्तर वृद्धि भएको तथ्यांक सार्वजनिक भइरहेको छ । यस्तो भयावह अवस्थामा विद्यालय खोल्नु जोखिमपूर्ण छ । तैपनि शिक्षकको पेसागत ज्ञान, सीप अभिवृद्धिनिम्ति ननिदाएका शिक्षकको ‘भर्चुअल’ शृंखलामा सक्रिय सहभागिता छ । जसले शिक्षकलाई पेसागत विकासमा सबल बनाउँदै लगेको छ ।
शिक्षक र विद्यार्थीले दसैं तथा तिहारको लामो बिदामा समय सदुपयोग गर्न मेरो व्यक्तिगत विचारमा कम्तीमा पाँ चलचित्र हेर्न र पाँच पुस्तक अध्ययन गर्न सिफारिस गरेको छु । शिक्षक र विद्यार्थीमात्रै नभएर सम्भव हुने सबैले उल्लिखित चलचित्र हेर्दा र पुस्तक अध्ययन गर्दा सबैलाई फाइदै हुन्छ ।
पढ्नैपर्ने पाँच पुस्तक
(१) दिवास्वप्ना
विश्वविख्यात शिक्षाशास्त्री तथा बालमनोविद् गिजुभाईद्वारा लिखित ‘दिवास्वप्ना’मा घोक्ने घोकाउने परम्परागत शिक्षण विधि, बालबालिकाप्रति अभिभावक, शिक्षक र स्कुलबाट हुने दुव्र्यवहार, विद्यमान परीक्षा पद्धतिलगायतको अन्त्य गर्दै बालकेन्द्रित नयाँ शिक्षण विधि, व्यवहार, पद्धतिको स्पष्ट व्याख्या र प्रयोग गरिएको छ । यो शिक्षक तथा अभिभावक वर्गले पढ्नैपर्ने पुस्तक हो ।
(२) जीवन काँडा कि फूल
‘खुट्टाले लेख्ने लेखक’का रूपमा परिचित फरक क्षमता भएका झमक घिमिरेद्वारा लिखित उपन्यास ‘जीवन काँडा कि फूल’ले मानिसलाई निराश भएर होइन, दृढ इच्छाशक्ति, सकारात्मक सोच, आशा र संर्घषले सफलताको शिखरमा पु¥याउँछ भन्ने प्रेरणादायी पुस्तक सबैका निम्ति उपयोगी हुने ठानेको छु ।
(३) स्पार्टाकस
बाल्यकालको स्कुले जीवनमा तमाम विद्यालयीय पाठ्यपुस्तक (कोर्सबुक)बाहेक पहिलोपटक मैले पढेको पुस्तक हो– ‘स्पार्टाकस’ । यो पुस्तकका लेखक तथा अनुवादक को थिए सम्झन सकिनँ । तर, सो पुस्तकमा भएको विषयवस्तु अझैसम्म सम्झना छ । ऊबेला म मावली जाँदा मामा रत्नकुमार राई (दर्शन किरात)ले मलाई सो पुस्तक पढ्न दिनुभएको थियो । त्यो नै मेरो पहिलो पुस्तक हो । जुन पुस्तक अध्ययन गरेपछि म साँच्चै प्रभावित भएँ । पुस्तकमा शोषण, दमन र उत्पीडनमा परेका हजारौं दासको मुक्ति र स्वतन्त्रताका लागि दासहरूका नेता स्पार्टाकस दासत्वविरुद्ध लड्ने हिम्मतवाला योद्धा थिए । जुन फुर्सदमा पढ्नैपर्ने पुस्तक हो ।
(४) सोच
कर्ण शाक्यद्वारा लिखित ‘सोच’ अध्ययनले कोभिड–१९ ले आहात मनलाई मलहमपट्टी गर्नेछ । ‘सोच’ले औषधिको काम गर्नेछ । किनकि यो पुस्तकले सकारात्मक सोच र दृढ आत्मविश्वाससाथ आशावादी भएर जीवन जिउन सिकाउँछ ।
(५) स्टिभ जब्स
यो पुस्तक एप्पल कम्पनीका मालिक स्टिभ जब्सको जीवनीमा आधारित छ । स्टिभले हरेक चुनौती सामना गर्दै कहिल्यै निराश नभई कठिनभन्दा कठिन क्षणमा समेत उच्च मनोबलसाथ निरन्तर लागिपर्दा प्रविधिको दुनियाँमा नयाँ क्रान्ति सम्भव तुल्यायो । त्यसैले यो पुस्तक पनि सबैका लागि प्रेरणादायी बन्न सक्छ ।
हेर्नैपर्ने पाँच चलचित्र
(१) तारे जमिन पर
चलचित्र ‘तारे जमिन पर’बाट शिक्षकले फरक क्षमता भएका बालबालिकालाई शिक्षण विधि, तरिका र सीप सिक्न मद्दत गर्छ ।
(२) थ्री इडियट्स
एक शिक्षकले बालबालिकाको भिन्नभिन्न क्षमता (मल्टिपल इन्टिलिजेन्ट्स) पहिचान गरी सोको उचित सम्मान तथा व्यवस्थापन गर्न सक्नुपर्छ । यदि त्यसो हुन नसके अकल्पनीय (आत्महत्यासम्मको) घटना घट्न सक्छ ।
हामी (शिक्षक)ले अंक/ग्रेड/पर्सेन्ट ल्याउने ‘वेल ट्रेन्ड’ जनशक्ति होइन, व्यावहारिक ज्ञान, सीप र सक्षमतासहितको ‘वेल एजुकेटेड’ जनशक्ति उत्पादन गर्ने हो । यसका लागि चलचित्र ‘थ्री इडियट्स’ हेर्न विशेषतः शिक्षक मित्रहरूलाई उपयोगीसिद्ध हुनेछ ।
(३) होमवर्क
चलचित्र ‘होमवर्क’ले सिक्नलाई उमेरले छेक्दैन भन्ने सन्देश प्रवाह गरेको हुँदा त्यत्तिकै उपयोगी छ ।
(४) पीके
प्रकृति, स्थानविशेषको समाज, संस्कृति, धर्म, परम्परा नै सिकाइका लागि खुला विश्वविद्यालय हुन् भन्ने भाव बोकेको चलचित्र ‘पीके’ पनि शिक्षण सिकाइका लागि उपयोगी हुनेछ ।
(५) म्याडम गीता रानी
च्लचित्र ‘म्याडम गीता रानी’मा गीता रानी एक कुशल प्रधानाध्यापक भएकै कारण शैक्षिक गुणस्तर सम्भव हुन्छ । चलचित्रमा नेतृत्वले आफ्नो स्टाफको अन्तर्निहित विशेष क्षमतासमेत पहिचान गरी सोहीअनुसारको जिम्मेवारी प्रदान गरी उपलब्ध जनशक्ति सही ढंगले परिचालन गर्न सकेको हुँदा मौजुदा शैक्षिक अवस्थामा व्यापक सुधार ल्याउन सफल हुन्छिन् । यसर्थ, शैक्षिक सरोकारवाला जोकोहीले यो चलचित्र हेर्नैपर्छ ।
(चाम्लिङ दुर्छिम मावि दुर्छिम खोटाङका अंग्रेजी शिक्षक हुन् ।)